अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने केही वस्तुमा २५ प्रतिशत भन्सार लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरे भने चीनबाट आयात हुने वस्तुमा १० प्रतिशत । यो आदेश मंगलवारबाट लागू हुनेछ । क्यानडा र चीनमाथि लगाएको भन्सारले अमेरिकीहरूलाई ‘केही पीडा’ दिन सक्ने समेत ट्रम्पले बताए । यसबाट अमेरिकामा महँगी बढ्न सक्ने र आर्थिक वृद्धिमा असर पर्न सक्ने केही अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् । यसको प्रत्युत्तरमा क्यानडाले पनि यसै गरी भन्सार लगाएको छ भने मेक्सिको पनि यही रणनीतिमा छ । उता ट्रम्पले यी देशले कर बढाए आफूले थप कर बढाउने चेतावनी दिएका छन् । क्यानडा अमेरिकाको नजिकको मित्र हो । तर, यो मित्रताको सम्बन्धमा शुरू भएको शत्रुताले कस्तो रूप लिने हो भन्न सकिँदैन । क्यानडालाई ५१ औं राज्य बनाउने धारणासमेत व्यक्त गरेका ट्रम्पको आगामी कदम केकस्तो हुने हो अनुमान गर्न नसकिने खालको छ । यी देशहरूले एकअर्काको वस्तुमा कर बढाउँदा त्यसको प्रत्यक्ष असर नेपाल जस्तो मुलुकलाई पर्दैन किनभने यी देशले गर्ने आयात र निर्यातका वस्तुहरू नेपाली उत्पादनसँग प्रतिस्पर्धी हैनन् । अर्थात् ती वस्तु नेपालले निर्यात गर्दैन ।
त्यस्तै, १० प्रतिशत भन्सार लगाउने अमेरिकाको नीतिविरुद्ध चीनले विश्व व्यापार संगठनमा उजुरी दिने बताएको छ । कुनै बेला विश्व व्यापार संगठनमा प्रवेश गर्न नचाहने चीनले अहिले विश्व व्यापार संगठनमा उजुरी गर्ने बताउनु नै विश्व अर्थतन्त्रमा आउने परिवर्तनको संकेत हो । उदार अर्थतन्त्र, भूमण्डलीकरण र प्रतिस्पर्धालाई मुख्य आधार मान्ने अमेरिकी अर्थतन्त्र नै अहिले आफूलाई फेरि महान् बनाउने नाममा संरक्षणवादी नीतितर्फ लाग्न थालेको छ । ट्रम्पले यी देशलाई मात्र होइन, यूरोपेली मुलुकहरूलाई पनि कर लगाउने चेतावनी दिएका छन् । यसले यूरोपमा पनि एक किसिमको त्रास पैदा गरेको छ र उनीहरू अर्थतन्त्रलाई जोगाउन के गर्ने भन्नेमा बहस गर्न थालिसकेका छन् ।
अमेरिकामा आउने कुनै पनि परिवर्तनले विश्व अर्थतन्त्रमा असर पार्छ किनभने ऊ विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो र उसको सामरिक सामथ्र्य पनि निकै उच्च रहेको छ । राष्ट्रपति ट्रम्पको योजनाले विश्वव्यापी आर्थिक वृद्धिलाई सुस्त बनाउन सक्छ र अमेरिकी उपभोक्ताहरूका लागि मूल्य बढ्न सक्छ । तर, आफ््नो कामका बचाउ गर्दै ट्रम्पले ‘हामी अब मूर्ख देश हुने छैनौं’ भनी सामाजिक सञ्जालमा लेखेका छन् । अर्थशास्त्रीहरूले ट्रम्पको नीतिले अमेरिकी आर्थिक वृद्धिलाई यस वर्ष १ दशमलव ५ प्रतिशतले घटाउन सक्छ र क्यानडा र
मेक्सिकोलाई मन्दीमा धकेल्न सक्छ भन्ने आकलन गरेका छन् । यसले अमेरिकामा स्ट्यागफ्लेसन ल्याउन सक्छ । ट्रम्पले जबसम्म फेन्टानिल संकट र अवैध आप्रवासन अन्त्य हुँदैन, तबसम्म कर नहटाइने बताएका छन् ।
व्यापार युद्धले विश्वव्यापी आर्थिक वृद्धि, व्यापार सम्झौताहरू र उपभोक्ता मूल्यमा गहिरो प्रभाव पार्न सक्छ । मेक्सिको र क्यानडाले अमेरिकालाई फलफूल, तरकारी, अन्न, मासु र कुखुराजस्ता खाद्यान्न आपूर्ति गर्छन् । त्यस्तै अमेरिकाले क्यानडाबाट ९७ अर्ब डलरको तेल र ग्यास किन्छ । त्यसैगरी कार र अटो पार्टपुर्जा पनि यी करबाट प्रभावित हुने देखिन्छ । बियर र मदिरा, निर्माण सामग्री र फर्निचर, खेलौना र इलेक्ट्रोनिक सामानको मूल्य अमेरिकामा बढ्ने देखिन्छ । यसरी व्यापार युद्धका कारण सबै देशले आआफ्नो देशको उत्पादनलाई जोगाउन थप कर लगाउने वा अन्य अवरोध ल्याउने देखिन्छ । यसको अर्थ के हो भने अब विश्वको अर्थतन्त्र संरक्षणवादतर्फ लाग्नेछ । विगतमा पनि यस्तो संरक्षणवादी नीति थियो । यस नीतिले गर्दा उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने हुन्छ । सरकारले भन्सार लगाउनुको अर्थ त्यो पैसा उपभोक्ताले तिर्ने हो, निर्यातकर्ताले तिर्ने होइन । संरक्षणवादी नीति हाबी हुन थालेपछि विश्व व्यापार संगठनजस्ता संस्थाका औचित्य समाप्त हुनेछ । आफूलाई अप्ठेरो परे अमेरिकाले यसको सदस्यता त्याग्न पनि बेर छैन । त्यसैले अबको विश्वमा विगतमा जस्ता समूहगत रूपमा हुने सम्झौताभन्दा पनि देशदेशबीच हुने द्विपक्षीय सम्झौता बलियो हुन सक्छ ।
नेपालको प्रमुख व्यापारिक साझेदार भारत हो र भारतसँगको व्यापार द्विपक्षीय आधारमा चलिरहेको छ । नेपालले अमेरिकासँग पनि यस्तै द्विपक्षीय सम्झौताका आधारमा व्यापारलाई अगाडि बढाउनुपर्ने हुन सक्छ । अमेरिकी स्वार्थभन्दा विपरीत गए अमेरिकाले केही पनि नसुन्ने परिदृश्य देखिँदै छ । यद्यपि ट्रम्पले आफ्नो नीति लागू गर्न आन्तरिक अवरोधको सामना गर्नुपर्ने पनि हुन सक्छ । त्यसैले नेपालले सम्भावित अवस्थाको आकलन गरेर राजनीतिक र व्यापारिक कूटनीतिमा त्यसअनुसार तयारी थाल्नुपर्छ ।