काठमाडौं । उच्च अदालत पाटनले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफ्नो क्षेत्रमा रहेका उद्योगका लागि २०७५ सालमा बढाएको भाडा कार्यान्वयन गर्न हालै बाटो खोलिदिएपछि कम्पनी ऊबेलादेखिकै बढेको भाडा उठाउन कस्सिएको छ ।
२०७५ साउन १ गते मुलुकका विभिन्न १० ओटा औद्योगिक क्षेत्रमा साविकको दरमा उल्लेख्य वृद्धि गरेर नयाँ बहाल लागू गर्ने निर्णय कम्पनीले गरेको थियो । औद्योगिक क्षेत्रमा उत्पादनमूलक र गैरउत्पादनमूलक उद्योगका लागि तोकिएको वार्षिक बहालदर बढी भएको भन्दै ती क्षेत्रमा उद्योग व्यवसाय गर्दै आएका व्यवसायी आन्दोलन र विरोधमा उत्रिए ।
कम्पनीले तोकेको बहालदर खारेजी माग गर्दै औद्योगिक क्षेत्रभित्रका उद्योगी व्यवसायीले गतवर्ष २०८० असार ३१ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले २०८० फागुन ६ गते उक्त मुद्दा खारेज गरेर २०७५ साउन १ गते कायम बहाल कार्यान्वयन गर्ने आदेश दिएसँगै कम्पनी अहिले सोही दर कार्यान्वयनको गृहकार्यमा जुटेको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी कृष्णबहादुर पुन २०७५ साउन १ गतेदेखि लागू भएको दरअनुसार उद्योगीले जग्गाको बहाल तिर्नुपर्ने बताउँछन् । ‘२०७५ मै निर्णय भएको तर बीचमा उद्योगीको विरोध र अवरोधले कार्यान्वयन हुन मात्रै नसकेको हो,’ पुनले भने, ‘२०७५ मा बढेको भाडादर उनीहरूले तिरेका छैनन् । २०७५ मा निर्धारण भएको दरअनुसार उद्योगीले तिर्नुपर्ने बक्यौता भाडा ६९ करोड रुपैयाँ हुन आउँछ । उहाँहरूले तिर्नुपर्छ ।
मुलुकका विभिन्न १० औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूले अहिले पनि २०७२ साउन २४ गते कायम भएको दरमा जग्गाको बहाल तिर्दै आएका छन् ।
अहिले नै बक्यौता तिर्न ताकेता गर्नेभन्दा पनि बक्यौता तिर्ने मोडालिटीमा काम भइरहेको पुनले बताए । ‘किस्ताबन्दीमा तिर्ने विकल्प एउटा हुन सक्छ,’ उनले भने । औद्योगिक क्षेत्रभित्र रहेका तर बन्द उद्योगको हकमा भने पहिला सञ्चालनमा ल्याउन पहल गरिने र नभए सम्पत्ति कब्जामा लिएर दायित्व मूल्यांकन गरी तिराइने उनले बताए । औद्योगिक क्षेत्र नै छाडेर गइसकेकाको हकमा के गर्ने भन्ने विषयमा छलफल तथा कानूनी राय लिँदै गरेको उनले बताए ।
काठमाडौंको बालाजु, पाटन, भक्तपुर, हेटौंडा, धरान, नेपालगञ्ज, पोखरा, बुटवल, वीरेन्द्रनगर र राजविराजमा औद्योगिक क्षेत्र छन् । त्यहाँ रहेका उद्योगीको प्रतिनिधित्व गर्ने १० ओटै औद्योगिक संघ छन् । ती संघको पनि छाता संघ नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ छ । महासंघका अध्यक्ष रामहीरा पाठकले चर्को बहालदर खारेजीको माग गर्दै उच्च अदालत पाटनमा गए पनि मुद्दा हारिएको बताए । कम्पनीले ६ वर्ष अघिदेखि बढेको भाडा असुल्न नमिल्ने बताए । ‘हामीले आफ्नो आयव्यय विवरणमा बढेको भाडाअनुसार खर्च समावेश गरेका छैनौं र अब समावेश गर्न पनि सकिँदैन,’ उनले भने ।
अर्कोतर्फ विगत ६ वर्षमा औद्योगिक क्षेत्रभित्रका ५०/६० उद्योग छाडेर गइसकेको भन्दै उनले गइसकेका उद्योगको हकमा के हुने भन्ने प्रश्न गरे । ‘अहिले आर्थिक शिथिलताको अवस्थामा उद्योग चलाउन सकिँदैन । सरकारलाई नै तालाचाबी बुझाउने अवस्थामा हामी छौं,’ अध्यक्ष पाठकले भने ।
२०७२ मा तोकिएको बहालदर नै अहिले सरकारलाई बुझाउँदै आएको र त्यसअनुसार कर पनि तिर्दै आएको उनको भनाइ छ । ‘२०७५ मा बहालदर बढाइको हो । तर, यसलाई २०८१ देखि लागू गर्ने हो भने सोच्न सकिन्छ भनेका छौं,’ पाठकले भने, ‘नियमावलीमा ५/५ वर्षमा भाडादरमा पुनरवलोकन गर्ने भनिएको छ । तर, कम्पनीले प्रत्येक वर्ष ५/५ प्रतिशतले वृद्धि गर्ने भनेको छ । यो मिल्दै मिल्दैन ।’ यस विषयमा माथिल्लो निकायमा जाने वा उद्योग मन्त्रालयमा चाबी बुझाउने र उद्योग बन्द गर्ने विषयमा छिट्टै निर्णय लिने उनको भनाइ छ ।
विगत ६ वर्षको पैसा जोडेर बक्यौता तिर्न नसकिने पाठकले बताए । ५/५ वर्षमा पुनरवलोकन गर्ने भनिएअनुसार भाडादर वृद्धि गर्न राष्ट्र बैंकको मूल्य वृद्धिदरलगायत ५/६ ओटा मापदण्ड बनाएको छ । त्यसअनुसार भाडा वृद्धि गर्दा ३४ प्रतिशत भाडा वृद्धि हुने उनको तर्क छ ।
‘३४ प्रतिशत वृद्धिदर तिर्न हामी मञ्जुर छौं,’ उनले भने, ‘तर, धरानमा ९८ प्रतिशतले र पोखरामा ८०० प्रतिशतसम्मले भाडा वृद्धि गरिएको छ । जग्गाको मूल्य वृद्धि भएकाले भाडा बढाइएको भन्ने तर्क सही छैन ।’
औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन (चौथो संशोधन–२०७४) नियमावली, २०७१ मा भनिएको छ– औद्योगिक क्षेत्रको जग्गा तथा भवनको भाडादर प्रत्येक ५/५ वर्षमा पुनरवलोकन गरिनेछ, तर गैरउत्पादनमूलक उद्योगले लिएको जग्गा तथा भवनको भाडादर उक्त समयभन्दा अगावै पुनरवलोकन गर्न सकिनेछ ।
कम्पनीले २०७५ साउन १ गतेदेखि लागू हुने गरी नयाँ बहालदर तोकेको थियो । उक्त निर्णय कार्यान्वयन गराउन त्यो बेला कम्पनीले सकेको थिएन । औद्योगिक क्षेत्रमा रहेका उद्योगका संगठनहरूले विरोध गरेपछि उक्त बहाल लागू गरिएको थिएन । भाडा वृद्धि ठीक र वैज्ञानिक नभएको तथा औद्योगिक क्षेत्रभित्रका उद्योगीको हितविपरीत भएको भन्दै व्यवसायीले विरोध गरेका थिए ।
विरोधपछि तत्कालीन उद्योगमन्त्रीले बढेको भाडा तत्काल कार्यान्वयन नगर्न कम्पनीलाई पत्राचार गरेको पुनले बताए । पत्र आएपछि २०७५ माघ १ गते बसेको सञ्चालक समिति बैठकले बढेको भाडा कार्यान्वयन नगर्ने निर्णय गरेको पुनको भनाइ छ । विभिन्न समयमा गठित अध्ययन कार्यदलले भाडा बढाउने निर्णय गर्ने अधिकार कम्पनी सञ्चालक समितिलाई दिन सुझाव दिएपछि मन्त्रालयले त्यसै गरेको थियो । ‘भाडा वृद्धि गर्ने निर्णय भएको ४ वर्षपछि २०७९ असार २२ गतेको सञ्चालक समिति बैठक सोही निर्णय कार्यान्वयन गर्ने निष्कर्षमा पुगेको थियो,’ पुनले भने, ‘त्यसअनुसार औद्योगिक क्षेत्रका उद्योगलाई २०७९ साउन १ गतेदेखि नै बिल पठाइएको थियो । त्यसमा पनि महासंघले विरोध गरेको थियो ।’
२०७५ अघि निकै न्यून दरमा भाडा तोकिएको र समयसापेक्ष भाडा बढाउनुपर्ने सुझावलाई कार्यान्वयनमा लगिएको उनको भनाइ छ । अदालतले २०७५ मा तोकिएको भाडा लागू गर्नु उचित भनी व्याख्या गरेको भन्दै पुनले थपे, ‘अहिले कानूनी राय लिँदै छौं । अबको १० दिनभित्र २०७५ कै भाडादर औद्योगिक क्षेत्रमा कार्यान्वयन हुन्छ ।’
कम्पनीले औद्योगिक क्षेत्रभित्रका उद्योगलाई उत्पादनमूलक र गैरउत्पादनमूलकमा विभाजन गरेर भाडा लागू गर्दै आएको छ । दुवैथरीको बहाल बढेको छ । औद्योगिक क्षेत्रभित्र रहेका कारखाना भवन, गोदाम र आवासको भाडा भने बढाइएको छैन । उत्पादनमूलक उद्योगका लागि बालाजु औद्योगिक क्षेत्रको प्रतिरोपनी वार्षिक ८१ हजार रुपैयाँ भाडा तोकिएको छ । २०७२ मा उक्त औद्योगिक क्षेत्रका उद्योगका लागि प्रतिरोपनी वार्षिक १२ हजार ५२० रुपैयाँ भाडा तोकिएको थियो ।
कम्पनीले गैरउत्पादनमूलक उद्योगका लागि भने ३ समूहमा विभाजन गरेर भाडा दर तोकेको छ । १० ओटै औद्योगिक क्षेत्रमा तीनओटा समूहमा राखेर भाडादर निर्धारण गरेको छ । यसको भाडादरमा पनि उल्लेख्य वृद्धि छ । बालाजु औद्योगिक क्षेत्रभित्रका गैरउत्पादनमूलक उद्योगका लागि २०७२ मा प्रतिरोपनी समूह १ का लागि ३० हजार रुपैयाँ, समूह २ का लागि ४० हजार रुपैयाँ र ३ का लागि १ लाख रुपैयाँ भाडा तोकिएको थियो । २०७५ को निर्णयअनुसार क्रमश: पहिलो समूहलाई १ लाख २० हजार रुपैयाँ, दोस्रोलाई १ लाख ८० हजार रुपैयाँ र तेस्रोलाई ३ लाख रुपैयाँ प्रतिरोपनी भाडा तोकिएको छ ।