वीरगञ्ज। चाडपर्वको मुखमा नियामक निकायले अनुगमनका नाममा व्यापारीलाई आतंकित बनाउने काम गरेको बारा र पर्साका व्यवसायीहरूले गुनासो गरेका छन् । बुधवार बाराको प्रसौनीमा भएको प्रसौनी उद्योग वाणिज्य संघको दोस्रो साधारणसभा उद्घाटन समारोहमा सहभागी उद्यमी अगुवाहरूले यस्तो बताएका हुन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले अवैध व्यापारलाई निरुत्साहित गर्नुपर्ने सबैको दायित्व भए पनि बजार अनुगमनका नाममा वैध कारोबार गर्ने व्यापारीलाई दु:ख दिने काम बढी भएको भन्दै असन्तुष्टि जनाए । नेपालीहरूको चाडपर्व दशैं शुरू हुन लाग्दा बजारमा अनुगमनका निकायले व्यवसायीलाई आतंकित बनाएको आरोप अध्यक्ष अग्रवालले लगाए ।
‘हामी पनि व्यापारको आवरणमा अवैध कारोबार र अवाञ्छित गतिविधि नहोस् भन्ने पक्षमा छौं । अनधिकृत काम गर्ने र उपभोक्तालाई हानि पुर्याउनेलाई कारबाहीको दायरामा ल्याउनैपर्छ । तर, यसो भनिरहँदा वैध व्यापार गर्नेहरूको सामान्य कमजोरी कोट्याएर हजारौं रुपैयाँ जरीवाना तिराउनु ठीक होइन,’ अग्रवालले भने ।
बजार अनुगमनको नाममा अनेक थरीका निकाय र अधिकारवादीले अराजकता मच्चाएको भन्दै उनले यसो नगर्न कार्यक्रममा सहभागी स्थानीय प्रशासन र प्रहरीका अधिकारीहरूको ध्यानाकर्षण गराए ।
बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले आफूहरूले उपभोक्ताको हितलाई समेत ध्यानमा राखेर काम गरिरहेको दाबी गरे । प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘पसलमा म्याद सकिएको सामान बेच्ने अनि कारबाही भयो भनेर गुनासो गर्न मिल्दैन । व्यवसायीले उपभोक्तालाई गुणस्तरहीन मालसामान बेचेर हानि पुर्याउने काम गर्नुभएन ।’
अनुगमनको पूर्वतयारी बैठकमा कसैलाई पनि अनावश्यक हैरानी नपुग्ने गरी अनुगमन गर्न निर्देशन दिएको स्पष्ट पार्दै उनले थपे, ‘प्रशासन उद्योगी व्यापारीसँग सहकार्य गर्न सधैं तयार छ । व्यापारीका अगुवाहरूले पनि व्यवसायीलाई उपभोक्ता हित मिच्ने काम नगर्न सचेत गर्नुपर्छ ।’ जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले अनुगमनका कारण व्यापारीहरू आआफ्नो व्यवसाय बन्द गरेर भाग्ने अवस्था आएको बताए । ‘बजार अनुगमनका खटिएका कर्मचारीले शुरूमा ५ हजार जरीवाना गर्छु भन्छन् । व्यापारीले प्रतिवाद गर्दा ३ लाख रुपैयाँ तिराउँछु भनेर धम्की दिन्छन्,’ उनले भने । उद्यम व्यापारमा चौतर्फी मन्दी छाएको अहिलेको अवस्थामा अनुगमनका नाममा व्यापारीलाई प्रताडित गर्ने काम बढी भएको भन्दै उनले यो प्रवृत्तिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने दाबी गरे ।
बाराका जीतपुर, सिमरा, कलैया, सिम्रौनगढ, कोहल्बीलगायतका बजारमा अनुगमन टोलीले व्यापारीलाई दु:ख दिने काम गरेको शर्माले बताए । प्रसौनी उद्योग वाणिज्य संघका अध्यक्ष तुलसीप्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष युवराज सुवेदीले उद्यमशीलता प्रवर्द्धनका माध्यमबाट देशको अर्थतन्त्रलाई उन्नतिको मार्गमा लैजान सबै निकाय र सरोकारका पक्षबीच सार्थक सहकार्यको खाँचो औंल्याए । सही तरीकाले सम्भावनाको उपयोग गरेमा अर्थतन्त्र सबल हुन समय नलाग्ने पनि उपाध्यक्ष सुवेदीले स्पष्ट पारे । कार्यक्रममा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जयसवालले संघको कार्यालय भवन बनाउन जग्गा प्रदान गर्ने प्रतिबद्धता गरे । संघका अध्यक्ष गुप्ताले स्थानीय उद्योग प्रवर्द्धनमा सहयोग पुर्याएको भन्दै उद्यमी सत्यनारायणप्रसाद कलवारलाई सम्मानित गरे । एसईई परीक्षामा उत्कृष्ट स्थान ल्याउने छात्रछात्रालाई पनि पुरस्कृत गरिएको थियो ।