काठमाडौं । भाटभटेनी र लिटल एन्जल्स समूहको बहुमत शेयर भएको कम्पनीबाट सञ्चालन हुने पाँचतारे होटेल अन्नपूर्णको व्यवस्थापन सञ्चालनको लागि भारतको अन्तरराष्ट्रिय चेन होेटेल आईटीसीको वेलकम ब्रान्ड नेपाल भित्रिएको छ ।
उक्त होटेल सञ्चालनका लागि स्थापित अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होटेल्सबीच बिहीवार व्यवस्थापन सम्झौता भएको छ । साविकको होटेल रहेकै ठाउँ काठमाडौैंको दरबारमार्गमा पाँचतारे होटेलको संरचना पुनर्निर्माण भएपछि भारतीय लग्जरी आतिथ्यतामा नाम कमाएको आईटीसी होटेलले सेवा सञ्चालन गर्नेछ ।
‘होटेलको भवन पुनर्निर्माणपछि २०८५ वैशाख १ गतेबाट यो पुन: सञ्चालनमा ल्याउने लक्ष्य छ,’ अन्नपूर्ण स्क्वायर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले आर्थिक अभियानसँग भने, ‘आईटीसीले होटलको शुरुआतसँगै व्यवस्थापन सञ्चालनमा लिनेछ ।’
कम्पनीका अनुसार यो सहकार्यले नेपालको अतिथि सत्कार क्षेत्रमा रूपान्तरणकारी परिवर्तन ल्याउनेछ । किनभने आईटीसीले आफ्नो सम्मानित वेलकम होटेल ब्रान्डमार्फत होटेलको सेवा सञ्चालन गर्नेछ । अन्नपूर्ण होटेललाई महत्त्वपूर्ण लग्जरी गन्तव्यका रूपमा प्रस्तुत गर्ने गरी यो सहकार्य भएको हो । आईटीसीको व्यवस्थापनमा नेपालमा सञ्चालन हुने यो दोस्रो होटेल हुनेछ ।
हाल भक्तपुरको फर्च्युन रिसोर्ट तथा वेलनेस स्पाको व्यवस्थापन पनि आईटीसी होटल्स समूहले नै सञ्चालन गरिरहेको छ ।
अन्नपूर्ण स्क्वायरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार यस कम्पनीले ३१८ कोठाको पाँचतारे होटेल, ३० सर्भिस अपार्टमेन्ट र चारओटा सम्मेलनस्थल, एउटा सपिङ आर्केड र एउटा मनोरञ्जन क्षेत्र पनि विकास गर्नेछ ।
उक्त काम २०८४ सालको चैत मसान्तसम्म सक्ने लक्ष्य रहेको कम्पनीले बताएको छ । त्यसपछि आईटीसी होटेल्सले होटेलको दैनन्दिन सेवा सञ्चालन, ब्रान्डिङ, पाहुनाको अनुभव राम्रो बनाउनेलगायत विश्वप्रसिद्ध आतिथि सत्कार उपलब्ध गराउनेछ ।
सर्भिस अपार्टमेन्ट भने लामो समय नेपाल बस्नुपर्ने विदेशी भीआईपीलाई लक्ष्य गरेर योजनामा राखिएको गुरुङले बताए । ‘होटेलमा बस्नुभन्दा सर्भिस अपार्टमेन्टमा बस्दा उनीहरूको खर्च कम हुनेछ,’ उनले भने । उनका अनुसार यो सबै संरचना निर्माणमा ८ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।
अन्नपूर्ण स्क्वायरमा सबैभन्दा बढी शेयर भाटभटेनी समूहको छ । बाँकी शेयर लिटिल एन्जल्स समूह र डेल अन्नपूर्ण प्रालिको छ ।