काठमाडौं । भाटभटेनी सुपरमार्केट र लिटिल एन्जल्स समूहको स्वामित्वमा रहेको पाँचतारे होटल अन्नपूर्णको व्यवस्थापन भारतको अन्तर्राष्ट्रिय होटल चेन आईटीसीको वेलकम फ्रेन्चाइजले गर्ने भएको छ ।
होटल सञ्चालनका लागि स्थापना भएको अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होटल्सबीच बिहीवार व्यवस्थापन सम्झौता भएको हो । लक्जरी हस्पिटालिटीका लागि प्रख्यात आईटीसी होटेल्सले काठमाडौंको दरबारमार्गमा रहेको पाँचतारे होटललाई पुनर्निर्माणपछि सञ्चालनमा ल्याउने छ ।
करीब ६ दशकअघि स्थापना भएको उक्त होटल कोभिडपछि बन्द थियो ।
अन्नपूर्ण स्क्वायर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले न्यू बिजनेश एजसँगको अन्तर्वार्तामा भने, 'भवनको पुनर्निर्माण सम्पन्न भएपछि २०७५ वैशाख १ गते होटल खोल्ने लक्ष्य राखिएको छ ।'
आईटीसीले आफ्नो प्रतिष्ठित वेलकम होटल ब्राण्डअन्तर्गत होटल सञ्चालन गर्ने भएकाले यस सहकार्यले नेपालको आतिथ्य उद्योगमा आमूल परिवर्तन ल्याउने कम्पनीले जनाएको छ । यो साझेदारीले होटल अन्नपूर्णलाई प्रमुख लक्जरी गन्तव्यको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । भक्तपुरमा फार्च्यून रिसोर्ट एण्ड वेलनेस स्पासमेत सञ्चालन गर्ने आईटीसीद्वारा सञ्चालित यो नेपालकै दोस्रो होटल हुनेछ ।
अन्नपूर्ण स्क्वायरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार होटलमा ३१८ कोठा, ३० सर्भिस्ड अपार्टमेन्ट, चार कन्फरेन्स स्थल, एक सपिङ आर्केड र एक मनोरञ्जन क्षेत्र रहनेछन् । कम्पनीले सन् २०२८ को मार्चसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । यसपछि आईटीसी होटल्सले दैनिक सञ्चालन, ब्रान्डिङ, अतिथि अनुभवमा सुधार र विश्वस्तरीय आतिथ्य प्रदान गर्ने जिम्मेवारी लिनेछ ।
विदेशी अतिविशिष्ट व्यक्ति लामो समय बस्न सक्ने गरी अपार्टमेन्ट निर्माण गरिएको गुरुङले बताए । उनले भने, ‘अपार्टमेन्टमा बस्दा होटलमा बस्नुको तुलनामा खर्च कम हुन्छ । आयोजनाको प्रारम्भिक लागत रु आठ अर्ब रहेको छ ।
अन्नपूर्ण स्क्वायरमा भाटभटेनी समूहको सबैभन्दा बढी शेयर छ भने लिटिल एन्जल्स ग्रुप र डेल अन्नपूर्ण प्रालिको शेयर रहेको छ ।