सरकारले खरीद गर्न लागेको ८० मेगाबाट क्षमताको थर्मलप्लाण्ट सञ्चालन गर्दा वार्षिक ५ अर्ब घाटा हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघद्वारा बिहीवार आयोजित थर्मल प्लाण्टसम्बन्धी अन्तरक्रिया कार्यक्रममा जलस्रोतविद्हरूले त्यस्तो बताएका हुन् । ‘थर्मलप्लाण्ट सञ्चालन खर्च अत्यधिक महँगो भएका कारण भारत र बंगलादेशमा त्यो बन्द हुने भएको छ भने हामीले सञ्चालन गर्न सक्ने कुरै भएन,’ प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवम् नेपाल उद्योग वाणिज्य महासंघ ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले भने । सञ्चालनमा रहेका आयोजनालाई मर्मत गर्न सकिए थप विद्युत् उत्पादन गर्न सकिने उनको भनाइ थियो ।
सरकारले केही समयअघि लोडशेडिङ कम गर्न ३ महीनाभित्र ३६ मेगावाट र ९ महीनाभित्र ४४ मेगावाट क्षमताका थर्मलप्लाण्ट सञ्चालन गर्ने निर्णय गरेको थियो । थर्मलप्लाण्टबाट उत्पादित विद्युत्को लागत प्रतियुनिट ३३ रुपैयाँ ७० पैसा पर्छ । ‘थर्मल प्लाण्टको सञ्चालन खर्च मुलुकले धान्नै सक्दैन’ नेपाल युरोपियन चेम्बर अफ कमर्शका अध्यक्ष दिव्यमणि राजभण्डारीले भने, ‘थर्मलप्लाण्ट सञ्चालन गर्नु भनेको कमिशनको खेलमा क्यान्सर निम्त्याउनु हो ।’
वर्ष ८, अंक ७२, शुक्रवार १४ मङ्सिर, २०६९