काठमाडौं । युनिक नेपाल लघुवित्त लिमिटेडले जेठ ११ गते बिहीवारदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्दै छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।
साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भई बनेको यो कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा छुट्याउनुपर्ने व्यवस्थाअनुसार एफपीओ जारी गर्न लागेको हो । कम्पनीमा मर्ज भएको घोडीघोडा लघुवित्तले पहिले नै आईपीओ जारी गरिसकेको थियो । युनिक नेपालले आईपीओ जारी गर्न बाँकी रहेको शेयरपूँजीलाई धितोपत्र जारी गर्दा आईपीओ नामबाट जारी गर्न नमिल्ने भएकाले सोही आईपीओ जारी गर्न बाँकी रहेको रकमलाई एफपीओ विधिबाट विक्री गर्न लागेको हो ।
कम्पनीको एफपीओ विक्री अवधि जेठ १६ गतेसम्म तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा जेठ २५ गतेसम्म समय थप गरिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
एफपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल ए इस्युअरदेखि केयर एनपी डी इस्युअरसम्मको रेटिङ प्रदान गर्ने गर्दछ । जसमा केयर एनपी ट्रिपल ए इस्युअर रेटिङले बलियो आधारको संकेत गर्दछ भने केयर एनपी डी इस्युअर रेटिङले कमजोर आधारको संकेत गर्दछ ।
कम्पनीको परिचय ः
यो कम्पनी २०७५ साल साउन १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रूपमा दर्ता भएको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार कम्पनीले २०७५ साल कात्तिक २५ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति पाएको थियो । दश जिल्ला कार्य क्षेत्रको ‘घ’ वर्गको वित्तीय संस्थाको हैसियतले २०७५ साल पुस १ गतेदेखि कम्पनीले लघुवित्त कारोबार सञ्चालन गर्दै आएको छ । साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०७८ साल पुस ३० गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । कम्पनीको रजिष्टर्ड कार्यालय कोहलपुर नगरपालिका–११ बाँके लुम्बिनी प्रदेशमा रहेको छ । कम्पनीले हाल ४१ ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । २०८० साल पुस मसान्तसम्म कम्पनीले थप तीन शाखा विस्तार गर्ने योजना बनाएको छ । वित्तीय सेवामा जोखिम कम गर्दै देशको अर्थतन्त्रलाई सबल तथा सुदृढ बनाउन सहयोग गर्ने र देशको समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्देश्य कम्पनीको छ ।
पूँजी संरचना ः
अधिकृत पूँजी २० करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी १४ करोड ८५ लाख ७५ हजार रूपैयाँ रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्तापूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । एफपीओपछि कम्पनीको संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व कायम हुनेछ । धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापकतर्फकोे १० लाख ४० हजार २५ कित्ता र सर्वसाधारणतर्फको ६६ हजार ३०० कित्ता गरी कुल ११ लाख ६ हजार ३२५ कित्ता शेयर सूचीकृत छ । एफपीओबाट संकलित पूँजी कम्पनीले नियमित लघुवित्त कारोबार एवं आर्थिक कारोबारहरू विस्तार एवं वृद्धि गर्न उपयोग गरिने बताइएको छ ।
वित्तीय अवस्था ः
गत आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी ६ करोड ७३ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । वास्तविक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ३२१ रूपैयाँ २३ पैसा रहेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार भने कम्पनी ५ करोड ९८ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म कम्पनीले १४ करोड १६ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष ०८०/८१ सम्म कम्पनीले करीब २४ करोड सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।
सञ्चालक समिति ः
कम्पनीमा ६ सदस्यीय सञ्चालक समिति रहेको छ । कम्पनीको अध्यक्षमा शिवबहादुर चौधरी रहेका छन् । व्यावसायिक क्षेत्रमा ११ वर्षको अनुभव बटुलिसकेका अध्यक्ष चौधरीसँग कम्पनीको २० हजार कित्ता शेयर स्वामित्व कायम छ । कम्पनीका सञ्चालकहरूमा सन्तराम धर कटुवा थारू, पुरनप्रसाद चौधरी, जगतराम थारू चौधरी, बालिका चौधरी र जागेश्वरप्रसाद चौधरी रहेका छन् । जागेश्वरप्रसाद चौधरी स्वतन्त्र सञ्चालकको रूपमा रहेका छन् । हाल सञ्चालकमा सर्वसाधारणतर्फबाट बालिका चौधरीको प्रतिनिधित्व रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.