आर्थिक नगरी वीरगञ्जको चिनारी फेरिने क्रममा छ । यो शहर विगत केही समययता ‘विवाहगञ्ज’को उपनामले चिनिन थालेको छ । वीरगञ्जमा बारा र पर्सा जिल्लाका मात्र नभई भारतको विहार राज्यबाट समेत विवाहका लागि यहाँका पार्टी प्यालेस बुक हुने भएकाले पार्टी प्यालेस खुल्ने क्रम ह्वात्तै बढेको छ ।
भारतीय शहर रक्सौल र आसपासका क्षेत्रबाट वीरगञ्ज आई विवाह गर्ने चलन बढेकाले पछिल्ला ४/५ वर्षमा यो शहरमा पार्टी प्यालेस खोल्नेक्रम बढेको वीरगञ्ज होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त बताउँछन् ।
अहिले वीरगञ्जका प्रत्येकजसो टोलमा पार्टी प्यालेस खुलेका छन् । पहिला मानिसले आआफ्नै घरबाट विवाहको कार्यक्रम गर्थे । अहिले पार्टी प्यालेसमा सहज मान्ने गरेका छन् । यसले पनि यस्ता ठाउँको बढी खोजी हुन थालेको बुझाइ व्यवसायीको छ ।
पहिले वीरगञ्जमा पार्टी प्यालेसको रूपमा ‘पद्म पार्टी प्यालेस’मात्रै थियो । त्यसपछि वीरगञ्जको नगरसभागृहलाई लिजमा लिएर वीरगञ्जका केही व्यवसायीले पार्टी प्यालेस सञ्चालनमा ल्याए । अहिले नगरका टोलटोलमा सुविधासम्पन्न पार्टी प्यालेस खुलेका छन् । आवासीय प्रयोजनका होटेलले विवाहको लगनका बेला चाप धान्न नसकिरहेको अवस्थामा वीरगञ्जमा पार्टी, क्याटरिङ सेवासहितका पार्टी प्यालेस खुलेको टाउनहल पार्टी प्यालेसका सञ्चालक विश्वामित्रप्रसाद कलवार बताउँछन् ।
तारे होटेलमा खर्च महँगो पर्ने र ठाउँ पनि साँघुरो हुने भएपछि विवाहको कार्यक्रमका लागि पार्टी प्यालेसतिर आकर्षण बढेको पाइन्छ । वीरगञ्जका पार्टी प्यालेसले ग्राहकलाई दिइने सुविधाका आधारमा १ दिनको २ लाख रुपैयाँदेखि ८/९ लाख रुपैयाँसम्म लिने गरेका छन् ।
बितेको ५ वर्षयतामात्रै वीरगञ्जमा ३० ओटाको हाराहारीमा पार्टी प्यालेस सञ्चालनमा आइसकेको र अझै केही खुल्नेक्रममा रहेको अध्यक्ष पन्त बताउँछन् । पन्तले पुरानो पद्म पार्टी प्यालेस रहेको स्थानमा अहिले क्लासिक बैंकट पार्टी प्यालेस सञ्चालनमा ल्याएका छन् । वीरगञ्जमा १ सय ९ ओटा होटेल र पार्टी प्यालेस दर्ता रहेको आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख ढाकाराम तिवारीले जानकारी दिए ।
शहरमा पार्टी प्यालेस खुल्नेक्रम बढेसँगै ग्राहकलाई दिइने सुविधामा पनि प्रतिस्पर्धा बढेको डाइमण्ड रिसोर्ट होटेल एण्ड पार्टी प्यालेसका सञ्चालक वीरेन्द्र पटेल बताउँछन् । यसबाट ग्राहकलाई लाभ पुगे पनि बढी प्रतिस्पर्धाका कारण सस्तैमा सेवा दिने अवस्था आएको पनि पटेलले बताए ।
अनि फेरिए प्राथमिकता
शुरुआती समयमा वीरगञ्जका होटेल व्यवसाय बारा–पर्सा औद्योगिक कोरिडोरमा खुलेका उद्योगको भरमा चलेका थिए । ती उद्योगमा आउने उच्च दक्ष प्राविधिक नै यहाँका होटेलका पाहुना हुन्थे ।
औद्योगिक तथा आर्थिक शहर वीरगञ्जका ठूला/साना आवासीय होटेल यिनै उद्योगका पाहुनाको भरमा चलेका थिए । वीरगञ्ज र आसपासका क्षेत्रमा उद्योगको स्थापना र मर्मतका लागि आउने उच्च तहका प्राविधिक, अडिटरलगायतका व्यक्ति होटेलका मुख्य पाहुना थिए ।
त्यो समयमा यो क्षेत्रको होटेल व्यवसायमा आक्रामक रूपमा लगानी बढेको हो । त्यतिबेलाको होटेल व्यवसाय पर्यटकले नभएर औद्योगिक प्रतिष्ठानका पाहुनाको भरमा टिकेको स्मरण गर्छन अध्यक्ष पन्त । उनले भने, ‘त्यतिबेला जेजति भएको थियो, त्यो बारा र पर्सामा खुलेका औद्योगिक प्रतिष्ठानका पाहुनाका कारण थियो ।’
यसबीचमा वीरगञ्ज क्षेत्रमा चारतारे स्तरसम्मका होटेल खुले । वीरगञ्जबाट २५ किलोमीटर दूरीको सिमरामा सुविधासम्पन्न होटेल इच्छा र क्लासिक होटेल सञ्चालनमा आएका छन् । वीरगञ्जका होटेलमा मात्रै २० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको होटेल व्यवसायमासमेत हात हालेको उद्यमी अनिल रूंगटा बताउँछन् ।
कोरोना महामारीयताको मन्दीले उद्योग व्यवसाय खस्किँदै गएपछि औद्योगिक पाहुनाको संख्या पनि घट्दै गयो । कोरोना महामारीबाट उद्योग व्यापार थलिएपछि त्यसको प्रभावबाट वीरगञ्जको होटेल व्यवसाय प्रभावित भयो । ‘त्यसपछि होटेल व्यवसाय पुनरुत्थानको वैकल्पिक उपायमा केन्द्रित हुन पुग्यो । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठानका गतिविधिका कारण धानिएका यहाँका होटेल भारतीय पर्यटन तान्ने योजनामा अघि बढे,’ पन्तले भने ।
भारतसँग सिमाना जोडएर रहेको वीरगञ्जका लागि सहज पर्यटक भनेका भारतीय पर्यटक नै हुन् । वीरगञ्जमा होटेलको संख्या बढ्नु र औद्योगिक गतिविधि अपेक्षित विस्तार नभएपछि पर्यटक र अन्य उपायमा लाग्नु परेको व्यवसायीको भनाइ छ ।
त्यसबेला होटेल तथा पर्यटन व्यवसायी संघले वीरगञ्ज महानगर र पर्यटनसँग सम्बद्ध निकायसितको सहकार्यमा होटेल व्यवसायको पुनरुत्थान अभियान नै सञ्चालन गरेको थियो । अभियानअन्तर्गत नेपाल र भारतका विभिन्न स्थानमा १६ ओटा इभेन्ट आयोजना गर्नेदेखि वीरगञ्जका पर्यटकीय आकर्षणको प्रचारप्रसार गर्नेसम्मका योजना राखिएका थिए । भारतबाट स्थलमार्ग भएर भित्रिने पर्यटकलाई वीरगञ्ज क्षेत्रमा केही दिन राख्न सक्ने गरी पर्यटकीय प्याकेज बनाइने अभियन्ताहरूले बताएका थिए ।
वीरगञ्ज क्षेत्रमा पर्यटकीय गतिविधि प्राय: न्यून देखिन्छ । त्यस्ता सम्भाव्यताको प्रचारप्रसार हुन नसक्दा त्यसको फाइदा लिन नसकिएको होटेल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्रसिंह थापाको भनाइ छ । वीरगञ्ज क्षेत्रमा होटेल खुल्नेक्रम बढेपछि होटेलको व्यापारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटीय गतिविधिमा उल्लेख्य काम नभएको थापाको बुझाइ छ ।
वीरगञ्ज र आसपासका क्षेत्रमा पर्यटकलाई लोभ्याउने र घुम्नलायक ठाउँको अभाव छ । भएका एकाध स्थान पनि प्रभावकारी व्यवस्थापनको अभावमा आकर्षणभन्दा पनि विकर्षणका औजारजस्ता बनेका छन् । यो समस्याले होटेलमा बाहिरबाट आएका पाहुनाको बसाई अवधि बढाउन नसकिएको व्यवसायी बताउँछन् ।
‘वीरगञ्ज आसपासका क्षेत्रमा रहेका पर्यटकीय स्थलको प्रवर्द्धन हुन नसक्दा पर्यटक पनि दिगो पाहुना हुन सक्ने अवस्था भएन,’ थापाले भने । पर्यटकको भरमा पनि होटेल चल्न नसक्ने अवस्था भएपछि यहाँका स्तरीय तारे होटेलले पनि विवाहका कार्यक्रमलाई प्राथमिकतामा राख्दै विभिन्न प्याकेज ल्याएका छन् ।
विवाहको लगनमा वीरगञ्जका भिसुवा, लर्ड दियालो, क्लार्क रिसोर्टजस्ता तारे होटेल वैवाहिक कार्यक्रमले भरिभराउ हुन्छन् । होटेलमा यस्ता कार्यक्रमको चाप बढ्न थालेपछि पार्टी प्यालेस खुल्नेक्रम बढेको डाइमण्ड रिसोर्ट होटेल एण्ड पार्टी प्यालेसका सञ्चालक वीरेन्द्र पटेलले बताए । ‘सीमावर्ती भारतीय क्षेत्रबाट विवाहका लागि आउनेलाई लक्षित गरेका छन् । वीरगञ्जमा स्तरीय होटेल र पार्टी प्यालेसले वैवाहिक कार्यक्रमका लागि उपयुक्त पूर्वाधार बनाएका छन्,’ उनले भने ।
वीरगञ्जलाई वैवाहिक कार्यक्रमको गन्तव्य बनाउने गरी भारतको विहार राज्यका बेतिया, दरभंगा, मोतिहारी, नरकटिया, पटना र बंगालको कोलकातासम्म पुगेर प्रचारप्रसार अभियान सञ्चालन गरिनुपर्ने बुझाइ होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष पन्तको छ ।