आर्थिक विकास भनेको कुनै पनि मुलुकको अर्थव्यवस्थामा आएको सकारात्मक परिवर्तनको सूचक हो । यो भौतिक संरचनाहरूको विकासका साथसाथै सामाजिक विकास, लोक कल्याण र व्यक्तिमा प्रत्यक्ष देखिने सकारात्मक परिवर्तन र विकासको अवस्था हो । त्यसैले यो आर्थिक र गैरआर्थिक क्षेत्रहरूको सकारात्मक परिवर्तन र विकास भएको अवस्था हो भन्न सकिन्छ ।
गुणस्तरीय जीवन, गरीबी निवारण, समृद्ध मुलुक, गुणस्तरीय शिक्षा र स्वास्थ्य, मानव अधिकारको प्रत्याभूति, व्यक्तिमा प्रत्यक्ष देखिने सकारात्मक परिवर्तनका सूचक हुने गर्छन् । यसैबाट मुलुकको सम्मान अभिवृद्धि हुने गर्छ र विश्व जगत्मा मुलुकले प्रतिष्ठा प्राप्त गर्छ । विश्वास बढ्छ अनि नयाँनयाँ लगानी र आर्थिक क्षेत्रका आयाम र पथ खुल्ने गर्छन् । तसर्थ नयाँ उदीयमान अर्थ व्यवस्थामा प्रवेश गर्ने प्रस्थान बिन्दु मुलुकको आन्तरिक समृद्धि र खुशी नै मुख्य खुट्किलो हो ।
आर्थिक विकासमा आन्तरिक स्रोतको परिचालन
उदीयमान अर्थ व्यवस्थाको चर्चा गर्दा हामीले परम्परागत व्यवसायबाट फरक र आधुनिक प्रविधिलाई पूर्णरूपमा आत्मसात् गरिसकेका अवस्था छैन । हामी निर्यातको तुलनामा धेरै आयात गर्नु, उद्योग र व्यवसायभन्दा उपभोग गर्ने अनि पूँजी निर्माण गर्नुको सट्टा विप्रेषणबाट प्राप्त बचतमा विदेशी सामग्री उपयोग गरेर रमाइरहेका छांै, जुन स्थायी समाधान पटक्कै होइन । आफ्नै मुलुकमा उपलब्ध स्रोतसाधनको उपयोग नीति र स्वदेशी वस्तुको प्रयोग बढाउने हो भने हाम्रो राष्ट्रिय आयमा वृद्धि र स्वाभिमानमा अभिवृद्धि निश्चित छ । तसर्थ आज उदीयमान नयाँनयाँ प्रविधियुक्त सामग्रीमा मन बढाउनुको सट्टा आफ्नै देशमा उपलब्ध स्रोतसाधन, शीप र दक्ष युवा कामदारको व्यवस्थापन मुलुकमै गर्न सकिएमा हाम्रो अर्थ व्यवस्था परनिर्भर नभई आत्मनिर्भरतातर्फ आउने निश्चितै हुन्छ । यस सन्दर्भमा मुलुकमा विद्यमान केही मुख्य स्रोतहरूका विषयमा चर्चा सान्दर्भिक छ ।
नेपाल विश्वमै अपार जलसम्पदा भएको मुलुक हो । मौसमी जलस्रोत नभएर सधंैभरि प्राप्त हुने जलस्रोत मुलुकमा उपलब्ध साधन र स्रोतमध्ये प्रमुख हो । हामीले जलस्रोतको समुचित उपयोग गर्न सके आर्थिक विकास गर्न सहज हुन्छ । स्रोतको लागतमा खर्च नै नगरी उपलब्ध साधनको संरचनामा मात्र लगानी गरेर प्राप्त हुने कुल राष्ट्रिय आयले आर्थिक परिसूचकमा भएको सकरात्मक परिवर्तन तथा गुणात्मक वृद्धिलाई आर्थिक विकास मान्न सकिन्छ । यो सहज र सम्भव पनि नभएको होइन ।
जलस्रोतको अधिकतम उपयोगबाट कृषिको विकास गर्न, पर्यटन प्रवर्द्धन गर्न, ऊर्जासंकट निवारण गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । कृषिसँगै मत्स्यपालनजस्ता व्यापारिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ । स्वच्छ पिउने पानीको माग पूरा गर्न सकिन्छ । वातावरण र प्राकृतिक सन्तुलन, जैविक विविधता कायम राख्न र सस्तो सुलभ जल यातायात सञ्चालन गर्नेजस्ता आर्थिक विकासमा जलस्रोतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । आर्थिक विकासका परिसूचकहरूमा प्रतिव्यक्ति आय, कुल गार्हस्थ्य उत्पादन, कुल राष्ट्रिय आय, राष्ट्रिय बचत आदि पर्छन् जसलाई हामीकहाँ भएको आफ्नै जलसम्पदाले परिपूर्ति गर्ने भूमिका खेल्न सक्छ ।
आन्तरिक र बाह्य पर्यटनको विकास
आर्थिक विकासका परिसूचकहरूमा आन्तरिक आय आर्जन गर्ने र कुल राष्ट्रिय आय, राष्ट्रिय बचतमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने प्राकृतिक स्रोत, पौराणिक धार्मिक स्थलहरू छन् । विश्वकै सर्वोच्च शिखर, शान्तिका दूत भगवान् गौतमबुद्ध तथा जानकीको जन्मस्थल छ । विश्व सम्पदामा सूचीकृत कयौं दुर्लभ सम्पदा स्थल छन् । परम्परागत शैलीबाट माथि उठेर अब हामीले यो हाम्रो सेवाक्षेत्रतर्फ नीतिगत र संरचनागत सुधार गर्नैपर्छ । नेपालमा करीब ३० लाख विभिन्न खालका पर्यटकलाई पुग्ने होटेलका रूमहरूको व्यवस्था रहेको छ । तर, हामीलाई वार्षिक १० लाख पर्यटक ल्याउन पनि हम्मेहम्मे छ । यतातिर प्रक्रियागत व्यवस्थापन, प्रचारप्रसार, एयरपोर्ट, अध्यागमन, अन्तरमन्त्रालय समन्वय, हवाई सुरक्षा, सुविधा र गन्तव्यमा विविधीकरणलगायत आयाममा सुधारको खाँचो छ । यदि यस क्षेत्रमा हामीले व्यावसायिक र इमानदार हुने हो भने यस क्षेत्रले वैदेशिक मुद्राको आर्जन र विकेन्द्रित रूपमा उद्यमी बनाउने स्वरोजगारी र रोजगारीका अवसरहरू सृजना गर्ने छ । यो हाम्रो आर्थिक समृद्धिको प्रमुख स्रोत हुनेछ । अब हामीले यसलाई आर्थिक वृद्धिको प्रमुख आधार बनाउनुपर्छ ।
स्वदेशी कच्चा पदार्थ र उद्योग
मुलुकमा अधिकांश उत्पादन उद्योगहरू विदेशी कच्चा पदार्थमा आधारित छन् । उत्पादित सामग्रीको निर्यात पनि नगण्य नै छ । यसमा हामीले ठूलो विदेशी मुद्रा खर्च गरिरहेका छौं । स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापना, उत्पादन अनि उत्पादित वस्तु निर्यात गर्ने व्यवस्था बढाउन सके यो पनि बलियो अर्थ व्यवस्थाको आधार हुन सक्छ । हामीकहाँ जताततै औषधियुक्त वनस्पतिहरू त्यसै सुकेर, गलेर खेर गइरहेका छन् । विश्वमा अहिले आयुर्वेदिक औषधि, प्राकृतिक वनस्पतिहरूको माग बढिरहेको छ । उद्योगीले व्यावसायिक दृष्टिबाट र राज्यले आय र रोजगारीको दृष्टिबाट पहल गरेमा नेपालको अलगै पहिचान बनाउन सकिने थियो । यसले मुलुकका लागि आर्थिक समृद्धि र गरीबी निवारणमा समेत सघाउ पुग्ने देखिन्छ ।
सेवा उद्योगको विकासबाट स्वदेशमै रोजगार
नेपालका लागि पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण सेवा भए जस्तै अर्को नयाँ सम्भावना बोकेको र राष्ट्रिय आयमा योगदान गर्न सक्ने सेवा उद्योगका क्षेत्र पनि महत्त्वपूर्ण क्षेत्र बन्दै गएको छ । तर, नेपालमा यस विषयमा चर्चा कमै भइरहेको देखिन्छ । नयाँ उदीयमान अर्थ व्यवस्थाको चर्चा गर्दा सेवा अर्थतन्त्रको सम्भावनाको पहिचान गरिनु वाञ्छनीय छ । सूचनाप्रविधिको विकासले सेवाक्षेत्रको अर्थतन्त्र अहिले विश्वभर व्यापक बनिरहेको कुरालाई हामीले बेवास्ता गर्न मिल्दैन किनकि सेवा अर्थतन्त्र बलियो हुँदा व्यापक रोजगारी सृजना हुन्छ भने राष्ट्रिय उत्पादनमा समेत वृद्धि हुन्छ । कतिपय सेवाक्षेत्रले विदेशी मुद्रा आर्जनमा समेत सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ । विश्वमा भइरहेको नयाँ प्रविधि र पहुँचलाई हामीले पनि आत्मसात् गरेर यो सेवा उद्योग विस्तारमा व्यापकता ल्याउन सक्नुपर्छ ।
सेवाक्षेत्रको कुरा गर्दा सूचना प्रविधिको क्षेत्रमा ठूलो सम्भावना देखिएको छ । नेपालमै बसेर सूचनाप्रविधिको क्षेत्रमा बाह्य कम्पनीको काम गर्ने सेवाक्षेत्रको आकार व्यापक हुँदै गएको छ । तर, नेपालमै त्यस्तो सेवाप्रदायक कम्पनी खडा गर्न नीतिगत र कानूनी समस्या छ र प्रशासनिक झन्झट पनि छ । मुलुकभित्रै यस किसिमको संस्थागत संरचना बनाएर सेवा प्रवाह गर्न प्रोत्साहन हुन आवश्यक छ । सानो मुलुक सिङ्गापुरले विगतमा यस्तै सेवाक्षेत्रको व्यवसायबाट आज एक सम्पन्न मुलुक बन्न सफल भएको हामी सामुन्ने उदाहरण हुँदा हुँदै पनि हामीले यस क्षेत्रलाई राष्ट्रिय आयको आधार बनाउन सकेका छैनौं । त्यसैले हाम्रा दक्ष लाखौं युवा विदेशमा रोजगारी गर्न बाध्य छन् । तसर्थ अब यसमा विलम्ब गर्नुपर्ने कुनै कारण देखिँदैन ।
अर्थतन्त्रका तीनओटा क्षेत्र कृषि, उद्योग र सेवा यी तीन क्षेत्रले मूलभूत रूपमा अर्थतन्त्रका सबै आयाम समेटेका हुन्छन् । उद्योगको क्षेत्र व्यापक छ । वस्तु उत्पादनदेखि सेवाक्षेत्र र अब नयाँ क्षेत्र सूचना र प्रविधिसमेत जोडिएका छन् । मुलुकको अर्थतन्त्र चलायमान बनाउन समाजकै मनोबल उकास्न सक्नुपर्छ ।
देशको आर्थिक अवस्थालाई लिएर उपभोक्ताको बुझाइ सकारात्मक नहुँदा माग र आपूर्ति चक्र बिथोलिएको छ । राज्यले नागरिकको विश्वास बढाउनुपर्ने अवस्था छ । केही समय टालटुल गरेर काम चलाउने अर्थ व्यवस्थाको सोच त्यागेर हामीसँग रहेका यी आधारभूत वस्तुबाटै हामीले हाम्रो अर्थ व्यवस्था बलियो बनाउन सक्नुपर्छ । नयाँ प्रविधियुक्त उदीयमान, चलायमान अर्थ व्यवस्था स्थापना गर्न राज्य विश्वासिलो भएर प्रस्तुत हुनु अपरिहार्य छ । नयाँ उद्योग, व्यापार व्यवसायका लागि सरकारले सहयोगी र संरक्षकको भूमिका निर्वाह गर्छ भन्नेमा लगानीकर्ता, आमनागरिकलाई ढुक्क बनाउन सक्नुपर्छ ।
लेखक नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष हुन् ।