संसद्मा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी ओली गत असार ३१ गते प्रधानमन्त्रीको कुर्सीमा चौथोपटक बस्दा थलिएको अर्थतन्त्रलाई लयमा फर्काउने, सुशासनको प्रत्याभूति र राजनीतिक अस्थिरताको समाधानका लागि संविधान संशोधन ७ बुँदे समझदारीका मुख्य आधार थिए । प्रधानमन्त्रीले यतिखेर १०० दिनको उपलब्धि सार्वजनिक गरिराख्दा हामीले समझदारीअनुसारका यस्ता काम गर्यौं भन्ने स्थिति नभएपछि बचाउका शब्दजाल खर्चमात्र गर्नु परेन, अघिल्लो सरकारका कमजोरी कोट्याउनुपर्ने भयो । अघिल्ला ३ कार्यकालमा आक्रामक रूपमा पेश भएका ओली यतिखेर रक्षात्मक कुनामा उभिएको भान हुनुका पछाडि सरकारले एजेन्डाबाट चुक्नुको परिणाम होइन भन्ने भरपर्दो आधार छैन ।
अर्थतन्त्र सुधार्ने प्रतिबद्धता गरेको सरकारले विदेशी मुद्राको सञ्चितिबाहेक सुधारका अन्य सूचक पेश गर्न सकेको छैन । विनियम सञ्चिति उद्यम व्यापारमा छाएको मन्दीको परिणाम बढी हो भन्ने तथ्यलाई लुकाउन चाहान्छ । अहिले कुल विदेशी विनिमयको सञ्चिति बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगको तथ्यांक नेपाल राष्ट्र बैंकको छ । यो सञ्चितिले १३ दशमलव ७ महीनाको वस्तु तथा सेवाको आपूर्ति धान्न सक्ने क्षमता राख्छ । सरकारले यसलाई अर्थतन्त्रमा व्यापक सुधारका रूपमा प्रचार गरिरहेको छ । हुन पनि वैदेशिक व्यापार, आन्तरिक उत्पादन, खपत, पूँजीबजार, कर्जा विस्तारजस्ता आधारभूत मानकहरू सकारात्मक छैनन् । यो अवस्थामा मुद्रा सञ्चयको आँकडामात्रै देखाएर अर्थतन्त्रलाई लयमा फर्काउन उत्पातै काम गर्यौं भन्नु हास्यास्पद छ ।
सरकार अर्थतन्त्रका आयाम बलियो भएका दाबी कसिरहेको छ, अर्थतन्त्र बलियो देखिनुमा सरकारको एउटै तर्क छ, विदेशी विनिमयको बढ्दो सञ्चिति । तर, त्यो सञ्चिति कसरी बढ्यो ? यसको वस्तुनिष्ठ परख नहुँदा अर्थतन्त्र आफै अन्योलमा जेलिएको छ । स्वस्थ अर्थतन्त्रका लागि ७ महीनाको वस्तु तथा सेवा खरीद गर्ने सामथ्र्य पर्याप्त हुन्छ । सञ्चिति आवश्यकताभन्दा बढी हुनु अर्थतन्त्रका लागि सहज संकेत होइन । एक समय थियो, विप्रेषणजति उपभोगमा सकिएकोमा चिन्ता सुनिन्थ्यो ।
वैदेशिक व्यापार, आन्तरिक उत्पादन, खपत, पूँजीबजार, कर्जा विस्तारजस्ता आधारभूत मानकहरू सकारात्मक छैनन् । यो अवस्थामा मुद्रा सञ्चयको आँकडामात्रै देखाएर अर्थतन्त्रलाई लयमा फर्काउन उत्पातै काम गर्यौं भन्नु हास्यास्पद छ ।
आज खपत भएन र सबै रकम बैंकमा थुप्रियो भनिएको छ । बैंकहरू ब्याजदर घटाउन लागेका छन् । उत्पादनका नयाँ योजनामा कर्जाको माग छैन । बैंकको लगानी घरजग्गा र शेयरमा कर्जामा केन्द्रित हुन थालेको छ । यसरी अर्थतन्त्रको सन्तुलन सम्भव हुँदैन । यो अवस्था उत्पादन, आयात र उपभोग शिथिल हुँदै जानुको प्रमाण भन्नेमा नीति निर्माणको तहमा बस्नेहरू बेखबर छैनन्, तर चरम बेवास्ता छ ।
कोरोना महामारीलगत्तै सञ्चिति घटेको भन्दै व्यापार नियन्त्रणको नीति लिएको सरकारले आयातमाथिका सबैखाले नियन्त्रण हटाएको थियो । तर, अहिलेसम्म व्यापारमा सुधार देखिएको छैन, किन ? देशमा रोजागारी नपाएपछि युवाहरू विदेशिने क्रम बढेको सरकारी आँकडाले देखाएको छ । तिनै युवाले पठाएको विप्रेषणको आकार सञ्चिति हो । अर्को, सक्रिय उपभोक्ताको रूपमा रहेका युवा विदेश पसेपछि स्वदेशी बजार थलिएको छ । माग खुम्चिएर उत्पादन र आयात दुवै घटेको छ । बजारमा उपभोक्ता नै छैनन् ।
आन्तरिक उत्पादनसमेत बाह्य कच्चा पदार्थमा टिकेको छ । अधिकांश आपूर्ति आयातमा अधारित भएकाले उपभोग नै घटेपछि त्यसको प्रतिबिम्ब व्यापारको आँकडामा प्रकट भइरहेको छ । विदेशबाट आयात नै नभएपछि वैदेशिक विनिमयको सञ्चित आकार उकालो नलाग्ने कुरै भएन । कोरोना महामारीको असरलाई विश्वका सबैजसो अर्थतन्त्रले पछाडि छोडिसक्दा हामी भने त्यसयता टाउको उठाउनै नसकिने अवस्थामा किन पुग्यौं ? आज उत्पादन र व्यापारमात्र होइन, आम उपभोक्ताको मनोबल पनि खस्किएको छ । यो सरकारप्रति अविश्वासको परिणाम हो ।
पूँजीबजारको लयलाई अर्थतन्त्रको ऐना भनिन्छ । ओली सरकार बनेपछि आशावादीजस्ता देखिएका लगानीकर्ताको मनोबल धेरै दिन टिक्न सकेन । सरकारको नेतृत्व त फेरियो, तर प्रवृत्ति उस्तै भएपछि अर्थतन्त्र कसरी गतिशील हुन सक्ला ? नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई गति दिन खुकुलो मौद्रिक नीति ल्यायो, त्यसले पनि काम गरेन । यसको अर्थ अर्थतन्त्रका समस्या सतहमा होइन, जरासम्मै फैलिएको छ । सरकार समस्याको सही निदानभन्दा पनि नियमन र नियन्त्रणमा केन्द्रित सरकारले लगानीकर्ताको मनोबल उकास्ने काम अझै गर्न आवश्यक ठानेको छैन । सरकारले आर्थिक सबलीकरणलाई प्राथमिकतामा राख्ने भने पनि शासनका १०० दिन पूरा गरिरहँदा अर्थमन्त्रीले सार्वजनिक गरेको ३ महीने प्रगति विवरणमा अर्थतन्त्र सुधारका निमित्त ठोस काम देख्न पाइएको छैन । कानूनका मस्यौदा र राजस्व सुधारका नाममा निजीक्षेत्रलाई कस्ने एकाध उपक्रमबाहेक प्रगतिका २६ बुँदामा आशलाग्दा अरू केही कुरा छैनन् ।
अस्थिरतालाई निकास र दिगो अर्थराजनीतिक आधार निर्माणको उद्घोषका साथ बनेको सरकार १०० दिन पूरा नहुँदै ढल्ने चर्चाले कस्तो स्थायित्वलाई संकेत गरेको छ ? स्वयम् प्रधानमन्त्रीले सरकार नढल्ने स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ ।
सुशासनको दुरवस्था लुकेको विषय होइन, राज्यका प्रत्येक तह र तप्कामा भ्रष्टाचार जारा गाडेर बसेको आभास हुन्छ । सुशासन प्रवर्द्धनमा सत्ता गठबन्धनबाट आशलाग्दो काम प्रकट भएको छैन । सीमावर्ती क्षेत्रबाट मौलाएको दुई नम्बरी कारोबारको मारमा वैध व्यापार र उद्यम प्रताडित छ । सरकार राजस्व घटेकोमा चिन्ता गर्छ, अनुसन्धान प्रभावकारी भएन भन्दै द्रुत गस्ती टोली बनाउँछ । तर, पुराना रेकर्ड तोड्ने गरी तस्करी किन भइरहेको छ ? यसको कारण के हो भन्नेमा सरकार बेखबर छैन । अधिकांश खाद्य र दैनिक उपभोगमा वस्तुमा उच्च भन्सार महशुल तोकिएको छ । स्वाभाविक छ, उच्च महशुल तोकिएका वस्तु वैध माध्यमबाट भित्रिँदैनन् ।
समस्याको समाधान जान्दाजान्दै सरकारले किन राजस्व नीतिमा सुधार चाहँदैन ? सीमावर्ती क्षेत्रका तल्ला निकायमा खटिने कर्मचारी र सुरक्षाकर्मीदेखि देश चलाउने उच्चासनमा विराजमानहरू यसको अनधिकृत लाभबाट सिञ्चित छन् । चुहावट नियन्त्रणका आवरणहरू त वैध कारोबारको जोखिम मोल्नेहरूलाई हतोत्साहित गर्ने र अवैध लाभको दुनो सोझ्याउने उपक्रममात्रै बनेका छन् । भ्रष्टाचार र कमिशनतन्त्रको बिगबिगीले आम लगानीकर्ता निरुत्साहित छन् । प्रतिपक्षीले त सुशासनमा सरकार असफल भएको भन्दै ज्ञापनपत्र नै थमाएका छन्, स्वयम् सत्तासाझेदार दलका शीर्षस्थहरू नै जनताको अपेक्षासित सरकारको गति मिल्न नसकेको स्वीकार गर्छन् ।
कतिसम्म भने असोज पहिलो साताको बाढीपहिरोको पूर्वानुमान हुँदाहुँदै प्रतिकार्य र उद्धारजस्तो प्राथमिक जिम्मेवारीमा समेत सरकार चुक्यो । स्वयम् प्रधानमन्त्रीले नै त्यत्रो क्षतिको आँकलन गर्न नसकिएको भन्दै कमजोरी स्वीकार गरे । प्रधानमन्त्रीले ‘सहकारी ठगहरूलाई जेल हाल्नु’लाई मूल उपलब्धिको रूपमा प्रचार गरे पनि त्यसभित्रको स्वार्थी गठजोडका पहेली सार्वजनिक हुन बाँकी छैनन् । ऐननियम भनेको निर्धाका लागिमात्रै हो, सत्ता र शक्तिमा बस्नेहरूका लागि त कानूनी अक्षर राजनीतिक दाउपेचका औजारबाहेक केही होइनन् भन्ने भाष्य आम रूपमा किन स्थापित भइराखेको छ ? विधिको शासनलाई कुन धरातलमा मिल्काइदिएको छ ? यसको अनुमान त्यति कठिन छैन ।
राजनीतिक स्थायित्व र प्रदेश संरचनाका असंगति हटाउन संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएको सत्ता गठबन्धन अहिले यो विषयमा मौन छ । सरकारले यो विषयमा छलफलसमेत अघि बढाएको जानकारी छैन । राजनीतिक स्थिरता आर्थिक अग्रगतिको आधार भएजस्तै समृद्धि राजनीतिक स्थायित्वको पूर्वाधार हो भन्नेमा आशंका आवश्यक छैन । अस्थिरतालाई निकास र दिगो अर्थराजनीतिक आधार निर्माणको उद्घोषका साथ बनेको सरकार १०० दिन पूरा नहुँदै ढल्ने चर्चाले कस्तो स्थायित्वलाई संकेत गरेको छ ? स्वयम् प्रधानमन्त्रीले सरकार नढल्ने स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ ।
स्मरण हुन्छ, संविधान जारी भएर २०७४ सालमा भएको आवधिक निर्वाचनमार्फत २ तिहाइ बहुमतसहित केपी ओली देशको प्रधानमन्त्री बन्दा धेरैलाई आर्थिक विकासमा फड्को मार्नेमा आशा जागेको थियो । त्यो आशा निराशामा परिणत हुन समय लागेन । सरकार अर्थतन्त्रका अवयवहरूप्रति यति अनुदार सावित भयो कि, अर्थतन्त्र शिथिल बन्दै गयो । दुई तिहाइ बहुमतको सरकार आफ्नो पूरा कार्यकाल पूरा नगरी अन्तरकलहमै ढल्यो । अहिले त स्वार्थको जोरजामले जुटेको बहुमत हो, स्वार्थ नमिले कुनै पनि बेला फुट्न सक्छ । जबजब राजनीतिक स्थायित्वलाई देखाएर आर्थिक समृद्धिको अपेक्षा हुर्काउन खोजिन्छ, त्यति नै बेला अर्थतन्त्रका सरोकारहरू असजिलो मोडमा रुमलिएका उदाहरण खोज्न धेरै दिमागी कसरतको खाँचो पर्दैन ।