वाणिज्य बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूले चालू आवको पहिलो त्रैमास (साउन–असोज) मा १६ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । पोहोरको तुलनामा यस वर्षको नाफा २० दशमलव १७ प्रतिशतले बढी हो । बैंकहरूको व्यवसाय बढेर नभई नियामक नेपाल राष्ट्र बैंकले दिएको सहुलियतका कारण मुनाफा बढेको हो ।नेपाल राष्ट्र बैंकले विगत वर्षको कसिलो मौद्रिक कार्यदिशालाई लचिलो बनाएको छ । यसमार्फत शेयरधितो कर्जाको सीमा वृद्धि, चालू पूँजी कर्जा मार्गदर्शन कार्यान्वयनको समय थप, कर्जा पुन: संरचना, कालोसूचीको प्रावधानमा लचिलो व्यवस्था र कर्जा जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने अनुपात घटाएको थियो । यी सबले गर्दा बैंकहरूको खुद नाफामा सकारात्मक प्रभाव देखिएको हो । बैंकहरूको मुनाफा बढे पनि तिनको खराब कर्जा भने बढेको छ । गत आर्थिक वर्षको भदौमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा २ दशमलव ९८ प्रतिशत थियो । चालू आवको सही अवधिमा यो बढेर ३ दशमलव ७६ प्रतिशत पुगेको छ । बैंकहरूको लगानीमा संकुचन आइरहेका बेला खराब कर्जा बढ्नुको अर्थ बैंकिङ क्षेत्र अस्वस्थ छ भन्ने हो । अन्तरराष्ट्रिय मुद्राकोषले त अहिले भनिएको खराब कर्जाको अंशलाई पत्याएको छैन । त्यसैले धेरै ऋण भएका वाणिज्य बैंकको कर्जाको अन्तरराष्ट्रिय संस्थाहरूबाट मूल्यांकन गर्नुपर्ने सुझाव दिएको छ ।
भाका नाघेको कर्जा नियमित भएको ६ महीनापछि मात्र असल वर्गमा स्तरोन्नति गर्न पाउने व्यवस्थामा संशोधन गरी यस्तो कर्जालाई सूक्ष्म निगरानी वर्गमा राख्न पाउने सुविधा दिएको छ । बैंकहरूले सूक्ष्म निगरानी वर्गमा भएका कर्जाको हकमा ५ प्रतिशत मात्र जोखिम व्यवस्था गर्नुपर्छ । जोखिमभार कम गर्दा तत्कालका लागि बैंकको नाफा बढे पनि यसको स्थायित्वका लागि भने चुनौती हो । बैंकिङ क्षेत्रको कमजोरीलाई कार्पेटमुनि लुकाएर देखाइएको मुनाफाले बैंकिङ क्षेत्रमा सुधार आउँदैन । त्यसैले बैंकहरूको व्यवसाय बिस्तार हुनुपर्छ र त्यसअनुसार उनीहरूले मुनाफा कमाउन सक्नुपर्छ र पाउनु पनि पर्छ । विश्व अर्थतन्त्रमा देखिएको समस्या र मुलुकको आन्तरिक कारणले अर्थतन्त्र विस्तार हुन सकेको छैन । राष्ट्र बैंकले नै विगतका वर्षमा संकुचनकारी मौद्रिक नीति लिएको थियो । उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्न अन्य क्षेत्रमा कडाइ गरे पनि प्रभाव उल्टो परेको थियो । बैंकिङ क्षेत्रले चर्को ब्याज लिएकाले कर्जा लिन नसकेको गुनासो व्यवसायीले गरेका थिए । तर, अहिले कर्जाको ब्याजदर एकल अंकमा झरिसक्दा पनि कर्जा प्रवाहमा गति आउन सकेको छैन र राष्ट्र बैंकले तरलता प्रशोचन गरिरहेको छ ।
बैंकको मुनाफा घटेसँगै बैंकका प्रवद्र्धकहरू धमाधम संस्थापक शेयर विक्री गरिरहेका छन् । यो चिन्ताको विषय हो । सरकारी खर्चका अतिरिक्त बैंकले गर्ने लगानीले नै अर्थतन्त्रलाई विस्तार हुन सहयोग पुग्छ । तर, बैंकबाट कर्जा प्रवाह बढ्न नसक्दा अर्थतन्त्र सुस्ताएको छ । सरकारले लगानीको वातावरण नबनाएसम्म कर्जा लगानी पनि हुँदैन । खासमा लगानीका लागि कर्जाको ब्याजदरमात्र कारण होइन भन्ने यसले देखाउँछ । बैंकहरूको मुनाफा कम भयो भनेर चिन्ता गर्नुका कारण साहूहरूको कमाइ घट्यो भनेर होइन । बैंकको मुनाफा घट्नु भनेको अर्थतन्त्र कमजोर हुनु हो । बैंकका सूचक बढेका छन् भने अर्थतन्त्र पनि बढ्छ । नेपालमा उत्पादनमूलक उद्योगमा समस्या छ । त्यसो हुँदा सेवामूलक क्षेत्रमा सम्भावना छ । बैंक पनि यस्तै सम्भावनाको क्षेत्र हो । त्यसैले बैंक कमजोर भए भने त्यसले अर्थतन्त्रमा विभिन्न किसिमले प्रभावित पार्छ । नियामकीय प्रावधानका कारणले मात्रै बैंकको मुनाफा बढेको भन्ने शेयर लगानीकर्तामा परेकाले बैंकहरूले वित्तीय विवरण सार्वजनिक गरेपछि बैंकहरूको शेयर मूल्य घटेको छ । त्यसैले सरकारले लगानीको वातावरण बनाएर कर्जाको विस्तार हुने वातावरण बनाउनुपर्छ जसले गर्दा लगानीकर्ताको ऋण तिर्ने क्षमता बढी खराब कर्जाको मात्रा घट्छ ।