बुधवार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ३ महीनामा नेपालले ३ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । सोही अवधिमा जम्मा ३८ अर्ब ३७ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ । गत आवको यही अवधिको तुलनामा आयात निर्यात दुवै घटेको छ । सरकारले सय दिन पूरा गरेको दिनमा प्रधानमन्त्रीले अर्थतन्त्र लयमा आएको, व्यवसायीमा आत्मविश्वास पैदा भएको बताइरहँदा आयातनिर्यातको आँकडाले भने अर्थतन्त्रमा सुधार नआएको नै देखाउँछ । वर्षको समीक्षा अवधिको तुलनामा आयाततर्फ ४ दशमलव १७ प्रतिशतले र निर्याततर्फ ६ दशमलव ११ प्रतिशतले कमी आएको छ । भदौ मसान्तसम्म १ प्रतिशतले बढेको आयात असोज महीनामा घटेको छ । असोजसम्म तीन खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । गतवर्ष यसै अवधिमा ४ खर्ब ७ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । उपभोक्ता र व्यवसायीमा आशाको सञ्चार भएको भए अर्थतन्त्र चलायमान हुन्थ्यो र बजारमा माग बढ्थ्यो जसले गर्दा उत्पादन र आयात बढ्थ्यो । तर, यी दुवै पक्षलाई हेर्दा अर्थतन्त्र सकारात्मक गतिमा छैन भन्ने देखाउँछ ।
हुन त आयात घट्नुमा दशैं पनि एउटा कारण हो । गतवर्ष दशैं ढिला भएकाले असोजमा आयात बढेको थियो तर यस वर्ष चाँडो भएकाले भदौमा आयात बढ्यो । असोजमा सामान आयात भएन । अर्को, यस वर्ष आयात निर्यात घट्नुमा बाढीपहिरो पनि कारण देखिन्छ । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँग अहिले स्थलमार्गबाट व्यापार लगभग ठप्प छ । तातोपानी नाकामा पुल बगाउँदा चीनबाट कन्टेनर आउन सकिरहेको छैन । अर्को, चीनतर्फ सडकमा क्षति पुगेकाले रसुवा भन्सार नाकाबाट पनि सामान आइरहेको छैन । दशैंमा गाडी हस्तान्तरण गर्नेगरी बुकिङ भएका सयौं गाडी अहिले चीनतर्फ नै रोकिएका छन् । यसले पनि असोजमा आयात घटेको देखिन्छ । अर्को, आयात घटेको देखिनुको कारण पेट्रोलियम पदार्थको आयातमा कमी आउनु पनि हो । एक त गतवर्षको दाँजोमा यसको मूल्य घटेको छ भने अर्कोतर्फ विद्युतीय सवारीको प्रयोग बढेको छ । त्यसो त औद्योगिक क्षेत्रले प्रयोग गर्ने डिजेलको आयात पनि घटेको छ । यसले औद्योगिक क्षेत्र सुस्ताएको देखाउँछ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्षको आर्थिक गतिविधिको तथ्यांकले पनि उत्पादनमूलक क्षेत्रको वृद्धिदर कमजोर रहेको देखाएको थियो । त्यस्तै कर्जा प्रवाह पनि यस क्षेत्रमा उत्साहजनक देखिँदैन ।
निर्यात पनि उल्लेख्य मात्रामा घट्नु अर्को चिन्ताको विषय हो । खासगरी सवैभन्दा ठूलो निर्यात बजार– भारततिरको निर्यात घटेर नै समग्र निर्यात घटेको हो । केही महीनादेखि भारतले आफ्नो गुणस्तर प्रमाणपत्र लिनुपर्ने भन्दै नेपालका विभिन्न औद्योगिक उत्पादनको निर्यातमा अवरोध गरिरहेको छ । तर, सरकारले यसलाई सहज वनाउन भारतलाई मनाउन सकेको छैन । बाढीपहिरोको असर र भारतीय अवरोध भने सहायक कारण हुन् भने मुख्य कारण त अर्थतन्त्रमा अझै मागको सृजना हुन नसक्नु नै हो । यद्यपि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक गतिविधिको प्रतिवेदनले आन्तरिक अर्थतन्त्र केही मात्रामा चलायमान हुन थालेको देखाएको छ । धेरैले मुलुकमा समग्र मागमा कमी आउनुको कारण युवावर्ग विदेश जानुलाई मानेका छन् । यो केही मात्रामा साँचो हो किनभने बढी उपभोग गर्ने युवावर्ग नै विदेश हुँदा माग घट्न स्वाभाविक हो । तर, योभन्दा पनि व्यययोग्य आयमा सुधार आउन नसकेकाले पनि उपभोग बढ्न नसकेको हो भन्ने देखिन्छ । अर्को, उपभोक्तामा निराशा छाएको छ । सरकारका गतिविधि पनि उत्साह र आशा जगाउने खालको छैन । त्यसो हुँदा अर्थतन्त्रले जेजति गति लिनुपर्ने थियो त्यो लिन सकिरहेको छैन ।