सरकारले उद्योगधन्दा चलाउनु हुँदैन भन्ने सैद्धान्तिक आधारमा शुरू गरिएको सार्वजनिक संस्थाहरूको निजीकरण प्रक्रिया अवरुद्ध भएको झन्डै २ दशकपछि सरकारले थप सार्वजनिक संस्थान निजीकरण प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि निष्क्रिय रहेको निजीकरण समितिको सोमवार बसेको बैठकले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका आठ संस्थानको निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिश गर्ने निर्णय गरेको हो । वामपन्थी नेतृत्वको सरकारले यसलाई निरन्तरता दिन खोज्नु सकारात्मक हो तर यो प्रक्रिया पूरा हुनेमा भने आशंका छ ।
सरकारले उद्योगधन्दा चलाउने वातावरण बनाउने हो र उद्योग व्यवसायको सञ्चालन निजीक्षेत्रले गर्ने हो । यही अवधारणाअनुसार विगतमा केही सार्वजनिक संस्थान निजीकरण भएका थिए । निजीकरणका बारेमा वामपन्थी दल सकारात्मक नभएकाले तत्कालीन सरकारलाई उद्योग बेचेर खाने आरोप लाग्ने गरेको छ । सरकारले उद्योग चलाउँदा ती व्यावसायिक नबनेको र जनताले तिरेको करबाट बलजफ्ती सञ्चालनमा ल्याउँदा उल्टो नोक्सान भएको तथ्य धेरैले नबुझ्दा यस्तो अवस्था आएको हो । बुझेका राजनीतिक दलले पनि दलीय फाइदाका लागि निजीकरणको विरोध गरेका थिए । त्यसो त निजीकरणको अगुवा मानिने नेपाली कांग्रेसका तत्कालीन नेताले पनि निजीकरणमा केही कमजोरी भएको स्वीकार गरेका छन् । त्यसलाई सुधार गरेर यसलाई निरन्तरता दिनुपर्नेमा नेपाली कांग्रेसकै मन्त्रीले रुग्ण उद्योग सञ्चालनका लागि पहल गरेका थिए । पटकपटक विभिन्न सरकारले यस्ता उद्योग सञ्चालन गर्ने भनी बजेटमा उल्लेख गरे पनि ती उद्योग सञ्चालनमा आउन सकेनन् । यस्तोमा अहिले तिनलाई निजीकरण गर्न पहल गर्नु सकारात्मक काम हो । यसले निजीक्षेत्रलाई उत्साहित बनाउन सक्छ । तर, अहिले जुन उद्योगलाई निजीकरण गर्ने भनिएको छ, तीमध्ये केही लामो समयदेखि बन्द अवस्थामा छन् । जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग, विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग बन्द छन् । जनकपुर चुरोट कारखानाको जग्गामा मधेश प्रदेशका मन्त्रालय राखिएका छन् । अन्य उद्योगमा मेशिनहरू खिया लागेर काम नलाग्ने भएका छन् । त्यस्तै ती उद्योगका लागि चाहिने कच्चा पदार्थसमेत उपलब्ध हुन सक्ने अवस्था देखिँदैन ।
यी उद्योगको सम्पत्ति सुरक्षाकै लागि सरकारले प्रशासनिक खर्च गर्नु परिरहेको छ । यी उद्योगलाई निजीकरण गर्नु भनेको यो खर्चबाट मुक्त हुनु हो । ती उपकरण प्रतिस्पर्धात्मक ढंगले कारखाना चलाउन काम लाग्लान् ? कि सरकारले ती कारखानाले ओगटेको जग्गा पनि निजीक्षेत्रलाई बेच्ने गरी निजीकरण गर्न लागेको हो स्पष्ट हुनुपर्छ । निजीकरणको नाममा जमीन नै बेच्ने भए निजीकरण नगरे पनि हुन्छ । उपकरण काम लाग्छन् भने निजीक्षेत्रको व्यवस्थापनबाट ती उद्योग राम्ररी सञ्चालन हुन सक्लान् । निजीक्षेत्रले आधुनिक उपकरण ल्याई उद्योग सञ्चालन गर्न चाहन्छन् भने सरकारले यी उद्योगका जग्गा सस्तोमा भाडामा दिएर निजीक्षेत्र आकर्षित गर्दा उपयुक्त हुन्छ । निजीकरण गरिने संस्थाको मूल्यांकन पारदर्शी हुनुपर्छ । त्यस्तै यसलाई किन्न आउने पार्टीसँग हुने वार्ता र विक्री मूल्य पनि पारदर्शी हुनुपर्छ । यसमा अनेक किसिमका विरोध र झमेला आउने सम्भावना देखिएकाले यसमा समय लाग्ने र प्रक्रिया नै रोकिने अवस्था पनि नआउला भन्न सकिँदैन । सरकार निजीकरणप्रति साँचिकै लागेको हो भने उसले नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थानजस्ता उद्योगलाई निजीकरण गर्नुपर्छ । वायु सेवा निगममा निजीक्षेत्रको संलग्नतामात्रै गराउन सक्यो भने पनि यसले राम्रो सेवा दिन सक्छ र मुनाफा पनि कमाउन सक्छ । निजीकरणको अहिले शुरू गरिएको प्रक्रियामा सत्तारूढ दलहरूको बलियो प्रतिबद्धता आवश्यक हुन्छ । तर, राजनीतिक फाइदा नहुने देखेर यो प्रतिबद्धताबाट डगमगाएमा पनि निजीकरण प्रक्रिया अघि बढ्ने देखिँदैन । तसर्थ, आफूले उद्योग नचलाउने सिद्धान्तमा सरकार स्पष्ट र दृढ हुन आवश्यक छ ।