सार्वजनिक खरीद
सार्वजनिक खरीद ऐन २०६३ को प्रस्तावनामा सार्वजनिक खरीदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन सार्वजनिक खरीद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमानदारी, जवाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी मितव्ययी तथा विवेकपूर्ण ढगंबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल प्राप्त गर्नुपर्ने उल्लेख छ । सार्वजनिक निकायले निर्माण कार्य गर्दा गराउँदा, मालसामान, परामर्श सेवा तथा अन्य सेवा खरीद गर्दा त्यस्तो खरीदको व्यवस्थापन क्षमता अभिवृद्धि गरी विनाभेदभाव समान अवसर सुनिश्चित गरी सुशासनको प्रत्याभूत गर्न आवश्यक भएकाले सार्वजनिक खरीद ऐन जारी गरिएको हो ।
सार्वजनिक खरीद व्यवस्थापनको आधारमा लगानीको सार्थक मूल्य प्राप्ति हुने मान्यता राखेको पाइन्छ । सार्वजनिक खरीद ऐन र नियमको मुख्य विशेषताहरूमा सार्वजनिक खरीदसम्बन्धी कार्यविधि, प्रक्रियालाई खुला, पारदर्शी, वस्तुनिष्ठ, विश्वसनीय, प्रतिस्पर्धी, मितव्ययी, जवाफदेहिताका माध्यमबाट अधिकतम प्रतिफल प्राप्त गर्ने बेहोरा प्रस्तावनामा उल्लेख गरिएको छ । सार्वजनिक निकायको परिभाषा स्पष्ट गरेको छ । खरीद कार्यको जिम्मेवारी र खरीद विधि स्पष्ट गरेको छ । खरीद गुरुयोजना तथा वार्षिक योजना तयार गर्नुपर्ने व्यवस्था, बोलपत्रको प्रक्रिया र चरणका बारेमा स्पष्ट व्यवस्था गरिएको छ । बोलपत्र मूल्याङ्कन, स्वीकृति र खरीद सम्झौतासम्बन्धी व्यवस्था, खरीद कारबाही तथा निर्णयको पुनरवलोकन सम्बन्धी व्यवस्था, सार्वजनिक खरीद कार्यमा संलग्न पदाधिकारी, बोलपत्रदाताको आचरण सम्बन्धी व्यवस्था, खरीद कार्यको अनुगमन सम्बन्धी व्यवस्था, विद्युतीय सञ्चार माध्यमबाट खरीद कारबाही हुने व्यवस्था, प्राविधिक मार्गदर्शन, कार्यविधि तथा निर्देशिका बनाउन सक्ने व्यवस्था आदि रहेका छन् । यी व्यवस्था सार्वजनिक खरीद कार्यलाई व्यवस्थित, मितव्ययी, दक्ष र प्रभावकारी बनाउन पर्याप्त रहेका छन् ।
सार्वजनिक खरीदका मुख्य समस्या
सार्वजनिक खरीदमा राज्यको करिब ६० प्रतिशतभन्दा बढी रकम खर्च हुने र सार्वजनिक खरीद कार्य व्यवस्थित हुन नसकी बेरुजुको धेरै ठुलो अंश खरीद कार्यमा नै देखिने गरेको छ । यस्तो समस्या देखिनुका प्रमुख कारणहरूमा ऐन नियममा भएको व्यवस्था पालना नहुन तथा जिम्मेवारी र जवाफदेहिता पालना नहुनु नै हो ।
खरीद कार्यको तयारी चरणमा देखिन समस्याहरूमा खरीद एकाइ गठन नहुने, जिम्मेवारी र जवाफदेहिता स्पष्ट्र नगर्ने, खरीद गुरुयोजना तयारी नगर्ने, बोलपत्र कागजात तयार गर्दा नमूना बोलपत्र कागजातलाई ध्यान नदिने, साइट क्लियरेन्स नगरी ठेक्का आह्वान गर्ने, लागत अनुमान यथार्थपरक नहुने आदि रहेका छन् । ठेक्का आह्वान तथा मूल्यांकनमा देखिने प्रमुख समस्यामा लागत अनुमान र बीओक्यूमा परिमाण फरक पर्ने, मूल्यांकनका आधार फरक पर्ने, आवश्यक कागजात पेश नहुने, प्रिबिड बैठक नहुने, साइट अनुगमन निरीक्षण नगरी बोलपत्र पेश गर्ने, बोलपत्र मूल्यांकन गरी सम्झौताका लागि पत्राचार गर्दा सम्झौता गर्न नआउने, सम्झौता गरेपछि मोबिलाइजेशन पेश्की लिई काम शुरू नगर्ने आदि समस्या रहेको पाइन्छ ।
ठेक्का सम्झौता भइसकेपछि कार्यतालिका बमोजिम कार्य नगर्ने, सम्पन्न कामको गुणस्तर परीक्षण नगर्ने, म्याद थप, भेरिएशन तथा मूल्य समायोजन माग गर्ने, निर्माणकार्यको डिजाइन परिवर्तन गर्नुपर्ने, मूल्य समायोजनको सूत्र फरक पार्ने, बीमा नगर्ने प्रोभिजनल समको रकम भुक्तानी गर्दा खर्चको पुस्ट्याइँ र बिल भर्पाई पेश नगर्ने, चेनज फरक पारी निर्माण कार्य गर्नेलगायत समस्या देखिने गरेको छ । त्यस्तै निर्माण कार्य सम्पन्नपश्चात् देखिने प्रमुख समस्याहरूमा एज विल्ट नक्सा पेश नहुने, निर्माण कार्यको गुणस्तरीय परीक्षण प्रतिवेदन पेश नहुने, समयमा कार्य स्वीकार प्रतिवेदन तयार नहुने, कन्टिन्जेन्सी रकम नापी किताबमा प्रविष्ट नहुने, कार्यसम्पन्न प्रतिवेदन तयार नगर्ने, मर्मत सम्भार र दिगोपना व्यवस्थापनको जिम्मेवारी नतोकिने, आयोजनाको प्रतिफल सुनिश्चित नहुनेलगायत समस्या देखिने गरेको छ । खरीद व्यवस्थापनमा देखिने प्रमुख समस्याहरूमा खरीद प्रक्रिया कानूनसम्मत नहुने, लागत अनुमान तयार नगरी र प्रतिस्पर्धा बेगर खरीद कार्य हुने, जिल्ला दररेटभन्दा बढी दरमा लागत अनुमान तयार हुने, नियमविपरीत ठूलो हिस्सामा सोझै खरीद हुने, नियमविपरीत उपभोक्ता समितिमार्फत खरीद कार्य हुने, सवारीसाधन खरीद गर्दा प्रक्रियाको पालन नहुने, कम गुणस्तरको काम भएकोमा समेत गुणस्तर परीक्षण नगरी भुक्तानी दिने, सफ्टवेयर खरीदमा लागत अनुमान तथा खर्च तथा उपयोगको औचित्य पुष्टि नहुने, सफ्टवेयरको उपयोग र दिगोपनाको विश्लेषण नहुने, परामर्श सेवा खरीद प्रक्रियाको पालन नहुने आदि समस्या देखिएको छ ।
लागत अनुमान स्वीकृत गरेको, नापी गरेको, कार्य स्वीकार गरेको, कार्य सम्पन्न प्रतिवेदन तयार गरेको, निर्माण कार्य तथा वस्तु आपूर्तिको जाँचपास गरेको मिति अनिवार्य रूपमा उल्लेख गर्ने व्यवस्था मिलाउनुपर्छ ।
त्यस्तै उपभोक्ता समिति सम्बन्धमा देखिएका खरीदसँग सम्बद्ध समस्याहरूमा कानूनअनुसार दर्ता नभएको उपभोक्ता समितिमार्फत काम गराउने, अस्थायी रूपमा गठन हुने र काम भएपछि विघटन हुने भएकाले आयोजना सञ्चालन, मर्मत सम्भार, लेखापरीक्षण र अन्य विषयमा जिम्मेवार नहुने, पूर्वस्वीकृति बेगर हेभी इक्युप्मेन्टहरू प्रयोग हुने, जनसहभागिता र त्यसको काम स्पष्ट नहुने तथा जनसहभागिताको अंशसमेतको भुक्तानी हुने, तोकिएको सीमाभन्दा बढीको काम टुक्क्रा गरी उपभोक्ता समितिमार्फत गराउने, ओभरहेड र मूल्य अभिवृद्धि करजस्ता भुक्तानीहरू पनि उपभोक्ता समितिलाई दिने, उपभोक्ता समितिले गर्नुपर्ने काममा निर्माण व्यवसायीमार्फत गराएको लगायत समस्या रहेको पाइन्छ । सार्वजनिक खरीदमा देखिएका मुख्य समस्याहरूमा आवश्यकता पहिचान, डिजाइन ड्रइङ स्पेशिफिकेशन, खरीद तयारी, खरीद विधि छनोट र बोलपत्र मूल्यांकन, खरीद प्राप्ति उपयोग, खरीदको दिगोपना आदि रहेको पाइन्छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन तथा सार्वजनिक खरीद अनुगमन कार्यालयको प्रतिवेदनमा समेत सार्वजनिक खरीदका उक्त विषय क्षेत्रमा समस्या रहेको उल्लेख गरेको पाइन्छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार बेरुजुको मात्रा सार्वजनिक खरीदमा नै बढी देखिन्छ । उदारहणका लागि भौतिक पूर्वाधार, ऊर्जा जलस्रोत सिँचाइ, खानेपानी, शहरी विकासलगायत सार्वजनिक निर्माणमा खरीद व्यवस्थापन कार्य जटिल देखिएको छ । डिजाइन ड्रइङ स्पेशिफिकेशन तथा लागत अनुमान तयारीमा हुने कमजोरीका कारण खरीद कार्य व्यवस्थापन प्रभावित हुने गरेको छ । अर्बौंै रुपैयाँका हजारौं योजना अधुरो अवस्थामा छन्, काम शुरू नगर्दै भेरिएशन गर्नुपर्ने अवस्था छ, ठेक्का प्रशासन कमजोर भएका कारण बढी मूल्य समायोजन भुक्तानी गर्नु परेको अवस्था छ भने असुल गर्नुपर्ने पूर्वनिर्धारित क्षतिपूर्तिसमेत असुलउपर हुन सकेको छैन । खानेपानीतर्फ पाइप तथा फिटिग्स खरीद र उपयोग, हेडबक्स, पाइपलाइन निर्माण, सिँचाइतर्फ हेडबक्स तथा नहर निर्माण, आवास तथा शहरी विकासतर्फ भवन निर्माण तथा अन्य पूर्वाधार विकाससम्बन्धी खरीद व्यवस्थापनमा समस्या देखिएको छ ।
निर्माण कार्यको मूल्य परिमाण सूचीमा नै इन्जिनीयरिङ सुविधाअन्तर्गत सवारीसाधन, फर्निचर, कम्प्युटरलगायत मालसामान समावेश गरी आपूर्ति गर्ने व्यवस्था गरेबाट सार्वजनिक खरीदको सिद्धान्तविपरीत कार्य भएको पाइन्छ । यस सम्बन्धमा सार्वजनिक लेखा समितिले निर्माण कार्यमा इन्जिनीयरिङ सुविधा समावेश गरी ठेक्का बन्दोबस्त गर्न नहुने गरी निर्देशन दिएको भए तापनि अझै कतिपय ठेक्कामा यस्तो व्यवस्था कायमै छ भने कन्टिन्जेन्सीबाट योजना असम्बद्ध मालसामान खरीद गर्ने कार्य परम्परा पनि यथावतै छ । त्यस्तै, अस्पतालतिर पनि स्वास्थ्य उपकरण खरीद सम्बन्धमा पनि विकृति विसंगति रहेका प्रतिवेदनहरू सार्वजनिक भएकै छन् । कुनै अस्पतालमा आवश्यक मेशिन उपकरण नभएर सेवा प्रवाह हुन सकेको छैन भने कुनै अस्पतालमा उपलब्ध मेशिन उपकरणहरू प्रयोग नभएको, कुनै अस्पतालमा रकम नभएर मेशिन उपकरण खरीद गर्न नपाएको अवस्था छ भने कतै रकम निकासा भएर पनि खरीद प्रक्रिया अघि नबढेको अवस्था छ । परराष्ट्रको हवाई टिकट खरीद, निर्वाचनको निर्वाचन सामग्री तथा प्रचारप्रसारसम्बन्धी कागजात खरीद, सुरक्षा निकायको पोशाक तथा बन्दोबस्तीका सामान तथा हातहतियार खरीद, कृषिमा मल बीउ खरीद, पर्यटनमा विमान खरीद, सूचना सञ्चारमा सञ्चार उपकरण खरीद, शिक्षामा उत्तरपुस्तिका तथा मसलन्द खरीदलगायत प्राय: सबै सरकारी कार्यालय सञ्चालनका लागि दैनिक प्रयोग हुने आवश्यक मालसामान मसलन्द तथा स्टेशनरीको मापदण्ड नहुँदा वार्षिक विनियोजित बजेटको आधारमा खरीद कार्य हुने गरेको छ । यसबाट मालसामान तथा स्टेशनरी उपयोगमा नियन्त्रण कायम हुन नसकी खरीद व्यवस्थापन नै उपलब्धिमूलक हुन सकेको छैन । यी सबै अवस्था सार्वजनिक खरीद व्यवस्थापन प्रभावकारी हुन नसकेका कारण सृजित समस्या हुन् ।
समाधानका उपाय
निर्माण कार्यमा देखिएका समस्या समाधानका लागि ऐन नियमको व्यवस्था र त्यसको पालनामा ध्यान दिनुपर्ने देखिएको छ । यो नै एकलव्य दृष्टिकोण हो । यसका अतिरिक्त महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लिखित सुझाव कार्यान्वयन, सार्वजनिक लेखा समिति तथा उपसमितिको बैठकको निर्णय र समितिको वार्षिक प्रतिवेदनमा उल्लिखित निर्णय निर्देशन तथा सुझाव कार्यान्वयन, सार्वजनिक लेखा समितिले गठन गरेको सार्वजनिक खरीदसम्बन्धी अध्ययन प्रतिवेदनको कार्यान्वयन, सार्वजनिक खरीद तथा अनुगमन कार्यालयले निर्माण कार्यसँग सम्बद्ध ३८१, मालसामान खरीदसम्बन्धी ३५०, परामर्श सेवासम्बन्धी ११६ र अन्य खरीदसम्बन्धी ४५६ रायसुझाव प्रदान गरेको बेहोरा उक्त कार्यालयको रायपरामर्शसम्बन्धी संग्रहित पुस्तिकामा उल्लेख छ, उक्त रायसुझावको कार्यान्वयनका माध्यमबाट सार्वजनिक खरीद कार्य व्यबस्थापनलाई प्रभावकारी बनाउनुपर्छ ।
सार्वजनिक खरीद कार्यको पूर्वतयारी चरणमा नै खरीदको आवश्यकता निर्धारण, सम्भाव्यता अध्ययन, लागत लाभ विश्लेषण, प्रतिफलको सुनिश्चितता गरिनुपर्छ । खरीद गर्ने मालसामान, निर्माण कार्य र सेवाको विवरण तयार गर्नुपर्ने, जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्नुपर्ने देखिन्छ । लागत अनुमान तयार गर्दा निर्माण कार्यको प्रकृतिअनुसार सम्पन्न गर्न लाग्ने समय अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने र ठेक्का सम्झौता गर्दा सम्पन्न गर्ने समय निर्धारणमा एकरूपता हुने व्यवस्था मिलाउनुपर्छ । बोलपत्र मूल्यांकन र खरीद सम्झौता गर्दा बोलपत्र दाताबाट दर विश्लेषण स्पेशिफिकेशन, डिजाइनअनुसार गुणस्तरीय काम सम्पन्न गर्ने आधार उल्लेख भएको प्रतिवेदन लिई खरीद सम्झौता गर्नुपर्ने देखिन्छ । बोलपत्रमा मिलेमतो हुने अवस्था र न्यूनतम मूल्यांकित सारभूत प्रभावग्राही प्रस्तावको परिभाषा हुनुपर्छ । खरीद नियमावलीमा निर्माण स्थल उपलब्ध नगराई ठेक्का बन्दोबस्त गर्न नहुने व्यवस्था छ ।
निर्माण स्थल उपलब्ध नभएको अवस्थामा ठेक्का सम्झौता गर्ने पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्ने देखिन्छ । खरीद कार्यको जोखिम व्यवस्थाका लागि बीमा गर्नुपर्ने तथा निर्माण व्यवसायीले घटी कबुलको काम छाड्ने र भविष्यमा पुन: अर्को ठेक्का लगाई सोही क्षेत्रको काम गराउने कार्य निरुत्साहित गर्नुपर्छ । गुणस्तर परीक्षणअन्तर्गत निश्चित रकमभन्दा बढीका खरीद कार्यमा प्राविधिक परीक्षण अनिवार्य गर्ने, तेस्रो पक्षबाट मूल्यांकन गर्ने व्यवस्था हुनुपर्छ । गुणस्तर नियन्त्रण पक्ष अत्यन्तै कमजोर रहेको र निर्माण व्यवसायी जति पनि रकम घट्न पाउने व्यवस्थाले निर्माण कार्यमा दिगोपना नभएकाले घट्न सक्ने सीमा तोकी गुणस्तर नियन्त्रणमा कडाइ गर्ने व्यवस्था थप गर्नुपर्ने देखिन्छ । निर्माण व्यवसायी र ठेक्काहरूको कालोसूची र रुग्ण ठेक्कासमेतको विवरण सार्वजनिक खरीद अनुगमन कार्यालयको वेबसाइटमा राख्नुपर्ने देखिन्छ । लागत अनुमान स्वीकृत गरेको, नापी गरेको, कार्य स्वीकार गरेको, कार्य सम्पन्न प्रतिवेदन तयार गरेको, निर्माण कार्य तथा वस्तु आपूर्तिको जाँचपास गरेको मिति अनिवार्य रूपमा उल्लेख गर्ने व्यवस्था मिलाउनुपर्छ । सार्वजनिक खरीद कार्यको अभिलेख व्यवस्थापनमा सम्बद्ध निकायले ध्यान दिनुपर्ने देखिएको छ ।
लेखक पूर्वउपमहालेखापरीक्षक हुन् ।