काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ‘मेक इन नेपाल स्वदेशी’ अभियानमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल सरकार, निजी क्षेत्रलगायतलाई झकझकाइरहेको बताएका छन् ।
मेक इन नेपाल स्वदेशी सम्मेलनमा स्वागत मन्तव्यका क्रममा उनले उक्त कुरा बताएका हुन् । उद्योग परिसंघले सन् २०२१ को अन्त्यतिर ‘मेक इन नेपाल स्वदेशी’ अभियान शुरु गरेको हो ।
‘यो महाअभियानले लिएको लक्ष्य हासिल गर्न सरकार एवं निजी क्षेत्रबीचको आपसी समन्वय एवं सहकार्यबाट मात्रै सम्भव छ । र, यो अभियान सोही दिशामा अगाडि बढिरहेको छ,’ उनले भने ।
स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पुर्याउने अभियानको मुख्य लक्ष्य छ । यही लक्ष्यका साथ अघि बढेको उक्त अभियानमा अहिलेसम्म १३५ स्वदेशी उद्योग आबद्ध भइसकेको अध्यक्ष अग्रवालले जानकारी दिए ।