काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनी पहिलो त्रैमासमा रू. ४३ लाख ५३ हजार घाटामा छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीले रू. ५२ लाख ८३ हजार नाफा कमाएको थियो ।
चालू आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याइएकाले कम्पनी नोक्सानीमा गएको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २ करोड ३८ लाख छुट्याएकोमा चालू आवको पहिलो त्रैमासमा रू. ४ करोड ५ लाख छुट्याएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा १६ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी रू. २ करोड ६९ लाख रहेकोमा चालू आवको सोही अवधिमा रू. ३ करोड १३ लाख छ ।
कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी शून्य दशमलव ०६४ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ३ सय ८२ रुपैयाँ २२ पैसा छ । कम्पनीको चुक्ता पूँजी रू. ६ करोड ८५ लाख छ । कम्पनीले जगेडामा रू. २० करोडभन्दा बढी सञ्चिति गरेको छ ।