काठमाडौं । उच्च अदालत, पाटनले करदाताले आय विवरण मङ्सिर मसान्तमै बुझाउनुपर्ने बाध्यता तत्काललाई हटाएको भोलिपल्ट मंगलवार आन्तरिक राजस्व विभागले यस्तो विवरण बुझाउन सक्ने म्याद थप गरी पुस मसान्तसम्म पुर्याएको छ । यसअघि विभागले आय विवरण बुझाउने मिति थप नगर्ने गरी सूचना जारी गरेको थियो । उक्त निर्णयका विरुद्ध परेको रिटमा पाटन उच्च अदालतले सोमवार अन्तरकालीन अन्तरिम आदेश दिएको थियो ।
विभागले भने अदालतले फैसला गर्नुभन्दा अघिल्लो दिन (मङ्सिर २३ गते) को गरेको निर्णय भन्दै मंगलवार आय विवरण बुझाउने म्याद थप गरेको हो । ‘संयोग नै यस्तै पर्यो कि म्याद बढाउने निर्णय अघिल्लो दिन भयो, भोलिपल्ट अदालतको आदेश आयो,’ विभागका महानिर्देशक रामप्रसाद आचार्यले भने, ‘हामीले आफ्नो निर्णयका आधारमा अदालतमा बहस गरेनौं, नत्र आदेश अर्कै आउँथ्यो कि ।’
विभागले भने विभिन्न व्यावसायिक छाता संगठन र करदाताबाट समेत आय विवरण पेश गर्ने म्याद पुस मसान्तसम्म कायम गरिदिन भन्दै अनुरोध आएको भन्दै उक्त अवधिसम्म म्याद थप गरिएको बताएको छ । यद्यपि म्याद नथप्ने अघिल्लो निर्णयका कारण गत सालको तुलनामा ३० हजारभन्दा बढीले कर विवरण बुझाइसकेको आचार्यले जानकारी दिए ।
आयकर ऐन, २०५८ मा हरेक व्यक्तिले आय वर्ष सकिएको ३ महीनाभित्र उक्त वर्षको आय विवरण तोकेको स्थानमा दाखिला गर्नुपर्ने व्यवस्था छ । कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र म्याद थप गर्न निवेदन दिएमा एकपटक वा पटकपटक गरी बढीमा ३ महीनासम्म म्याद थप हुन सक्ने प्रावधानसमेत छ ।
यसअघि विभागले वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने सूचना निकालेको थियो ।
वार्षिक २० करोड रुपैयाँसम्म कारोबार भएका निकाय र अन्य करदाताको सम्बन्धमा मङ्सिर मसान्त र वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताको हकमा २० पुससम्मको म्याद दिएको थियो । यसलाई सच्याउँदै विभागले उक्त म्याद अब पुस मसान्तसम्म पुर्याएको हो । पाटन उच्च अदालतले सोमवार अन्तरिम आदेश दिँदै १५ दिनभित्र दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
थप सूचना हेर्नुहोस्: