कहिलेकाहीँ मलाई भ्रम हुन्छ कि देश प्रगतिको दिशामा दौडिरहेको छ । फेरि नेता त्यसै भन्छन्, डेटा त्यस्तै बोल्छन् । तर म कुरा नबुझेर रनभुल्ल छु । यो मेरो भ्रम मात्रै होे कि, नेताहरूको श्रम हो कि, विकासको क्रम नै यस्तै हो ? त्यसैले कत्ति पल्ट यो भ्रम हुन्छ कि यो भ्रम हैन वास्तवमै देशले प्रगति गरिराछ भनेर । हुन त संसार नै भ्रम हो भन्नेहरूका लागि यो भ्रम नै सही होला । अनि स्वत: प्रश्न उठ्छ कि त्यसोभए देशले कुन कुन दिशामा, कहाँबाट चैं प्रगति गरिराछ त ?
तर फेरि अर्को थप प्रश्न आउँछ कि देशमा दिशा कतिओटा छन् ? जनताले दशै दशा मात्र देखेको देशमा विकासको दिशा पत्ता लगाउन सक्नु त चानचुने कुरा होइन । यहाँ दलहरूको वाद र दर्शन कुन कुन दिशातिर गैरहेको छ गनेर र भनेर साध्यै छैन । दल खोल्दा देखाएको एउटा वाद सरकारसम्म पुग्दा नपुग्दै अर्कै भइसक्छ । त्यसमा पनि वामपन्थी नामका दामपन्थी हामपन्थीहरूका वादको विषयमा बयान गर्ने कसको ल्याकत ? त्यसमा पनि ३ करोड जनतामध्ये झन्डै ५० लाख त दशै दिशाबाट हजारौं गन्तव्यतिर हानिइरहेका छन् । त्यसैले एक त यहाँ एउटा दिशा नै पत्ता लगाउन मुश्किल छ भने, त्यसमा पनि यति धेरै दिशातिर उन्मुख देशले कुन चैं दिशामा चैं बढी र कुनमा घटी प्रगति गरिरहेको छ कसरी थाहा पाउने ? त्यसकारण यो दिशाहरू पनि दशाहरू मात्र पो हुन् कि जस्तो लाग्छ ।
प्रदेशस्तरमा रुनेका लागि राजधानीको ढोका खुल्छ । राष्ट्रिय स्तरमा रुनेका लागि सिंहदरबारको ढोका खुल्छ । अन्तरराष्ट्रिय स्तरमा रुनेका लागि विदेशका ढोका खुल्छन् । रुनुस् ढोका खुल्छ ।
देशका प्रगति वा दुर्गतिका बारेमा मेरो चिन्तन चालू नै छ । त्यसो त देश चिन्तन गर्ने म मात्रै भने होइन, देशैभरि छन् । सामाजिक सञ्जालमा त झन् धेरै छन् । ट्वीटरेदेखि संसद्मा समेत प्रवचन दिनेहरूले देश चिन्तन नै गरिरछु भन्छन् । यसरी सडकदेखि संसद्सम्म सर्वत्र रुवाबासी छ, यो भएन, त्यो भएन । सचिव, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म आँसु चुहाइरहेका देखिन्छन् । भलै त्यो प्याज काटेको आँसु हो कि गोहीको हो कि मोहको थाहा भएन । तर जताततै रुवाबासी चैं देखिन्छ ।
देशमा यसरी रुनेहरू तीन प्रकारका छन् । केही अतीतका लागि रोइहरन्छन्, भन्छन् ४६ सालको बहुदल ठीक थियो, कोही त्योभन्दा पर राजतन्त्र ठीक, अझ कोही त राणातन्त्रमै पुग्छन् । मल्ल, लिच्छवी हुँदै कोही त जंगली युगै ठीक भन्ने पनि छन् । पुराना सबै कुरा ठीक, नयाँ जति खराब आदि आदि । पोहोरको खेती राम्रो भन्ने उखान त्यसै पुर्खाले कहाँ चलाका हुन् र ? यसरी केही वर्तमानमाथि रोइरहेका छन्, त कोही भविष्यमाथि । खैर, जसको जत्ति औकात हो रुने, ऊ त्यति नै वा त्यसरी नै रोइरहन्छ । रुनु राष्ट्रिय धर्म हो । तपाईंको जागरुकता र गम्भीरताका सूचक पनि ।
तर रुनु मुक्ति हैन, असफलता पनि हैन, बरु तपाईंको सरोकारका गहिरो लगावको सूचक हो । रोएपछि नै ढोका खुल्छ । जुन स्तरमा तपाईं रुनुहुन्छ, त्यही स्तरको ढोका तपाईंका लागि खुल्छ । कसैले रोएर भोग माग्दै सर्वोच्च पदसम्म पड्काए, कसैले धेरैलाई रुवाएर देशको लगाम समातिरहेका छन् । जे छ रुनु र रुवाउनुमा नै छ ।
झुपडीदेखि महलसम्म, हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्म सबै रोइ नै रहेका छन् । भगवान्का सामु रुने त हाम्रो धर्मसंस्कृतिमै छ भने विदेशीका सामु रुने हाम्रो परम्परा ।
प्रदेशस्तरमा रुनेका लागि राजधानीको ढोका खुल्छ । राष्ट्रिय स्तरमा रुनेका लागि सिंहदरबारको ढोका खुल्छ । अन्तरराष्ट्रिय स्तरमा रुनेका लागि विदेशका ढोका खुल्छन् । रुनुस् ढोका खुल्छ । भित्र जानुस्, त्यहाँ अरू रुनेहरू भेटिन्छन् । काम चलिरहेको छ, चिन्तन चलिरहेको छ । एजेन्डा बदलिन्छन्, पात्र बदलिन्छन् । तर रुनेहरूका काम कारबाही चलिरहन्छन् । उत्तर कोरियामा त क्राइङ रुम नै छ रे । किम इल सुङको सालिकनेर बेसरी रुनुस्, त्यहाँको पदक तपाईंलाई पक्का । अझ पुराणवाचकहरूले राम, सीता, कृष्ण, राधाका कथा सुनाएर पनि रुवाइरहेका छन् । किनकि जति रुवाउन सक्यो, त्यति नै रुवाउनेहरूको उचाइ बढ्छ रे । देख्नुभएकै छ नि अरूलाई रुवाउनेहरू कसरी माथि माथि पुगिरहेका छन् । रुनुको यो महत्त्व बुझेरै त होला, नेताहरू बेला बेलामा जनताका सामु र टिभीका पर्दाअगाडि बसेर रोइरहेका हुन्छन्, गिडगिडाइरहेका हुन्छन् ।
छोट्टा वा छुद्र व्यक्ति वर्तमानका लागि रुन्छन् । जो अलि गहिरो छन्, अतीतलाई लिएर रुन्छन् । ती महान् हुन्, जो भविष्यका लागि रुन्छन् । अर्थात् चिन्तन चालू नै छ । जसको वर्तमान सुध्रियो वा काम बनिसकेको, ऊ भविष्यको चिन्तामा डुब्न थाल्यो । जसको हातमा पत्रपत्रिका छ, किताब छ, ऊ रोइरहेकै छ । जसको हातमा मोबाइल छ, ऊ पनि रोइराकै छ । जसको हातमा माइक छ, ऊ त झन् ठूल्ठूलो स्वरमा रोइराछ । कोही तनका लागि रोइराछ, कोही धनका लागि, कोही मनले नै रोइरहेछन् । कोही सुर्तीका लागि रोइराछ, कोही फुर्तिका अघि त कोही कुर्सीका लागि रोइराछ । सबै राष्ट्रप्रेममा रोइराका छन् । यसो भनौं रुनु नै राष्ट्रप्रेम भएको छ । आँसु गहिराइको एउटा सूचक पनि हो ।
अचम्म त यो छ कि मान्छे कुर्सीका लागि पनि रोइराछ । यता कुर्सीमा बसिरहेको पनि रोइरा कै छ, अझ कत्ति त सोफामा बसेर पनि रोइराछन् । प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सांसद, सचिव, कर्मचारी, व्यापारी सबै सबै रोइराछन् । कोही विदेश जान नपाएर रोइराछन्, कोही विदेश पुगेर पनि रोइराछन् । कोही पढ्न नपाएर त कोही पढ्न परेर रोइराछन् । कोही व्यवसाय गरिनँ भनेर रोइराछन् । कोही किन व्यवसायमा हात हालेँ भनी पुर्पुरो ठोकेर रोइराछन् । कोही किन जागीर खाएँ भनेर रोइराछन्, कोही किन जागीर पाइनँ भनेर रोइराछन् । झुपडीदेखि महलसम्म, हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्म सबै रोइ नै रहेका छन् । भगवान्का सामु रुने त हाम्रो धर्मसंस्कृतिमै छ भने विदेशीका सामु रुने हाम्रो परम्परा ।
यसरी देशमा चिन्तन चालू छ, जो बढी रुन्छ उही ठालू हुन्छ । जो जति ठूलो, उसको उति नै रुवाइको डाँको ठूलो । कसैलाई पुगेको छैन । सबैलाई अभावै अभाव छ । त्यै अभावले रुवाइरहन्छ । तपाईंका पनि जीवनमा पक्कै थुप्रै अभावहरू छन् होला । त्यसैले आउनोस् रुने कार्यक्रम शुरू गरौं । राष्ट्रधर्ममा तपाईं चैं किन पछि पर्नुहुन्छ र ?