काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो-३ औपचारिकरूपमा सार्वजनिक गरेको छ ।
काठमाडौंको दरबारमार्गमा आयोजित कार्यक्रममा पूर्वबैंकर तथा पब्लिक स्पिकर अनिल केशरी शाह र प्रसिद्ध गायक वाङदेन फिन्सो शेर्पा तथा वरिष्ठ हास्य कलाकार एवम् बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य लगायतका व्यक्तित्वहरूको सहभागितामा उक्त कार सार्वजनिक भएको हो ।
सो अवसरमा २०२४ भर्सनको बीवाईडी एट्टो-३ को पहिलो ग्राहकलाई आचार्यले गाडी उपलब्ध गराएका थिए भने अन्य अतिथिहरूले समेत नयाँ बीवाईडी एट्टो-३ का ग्राहकलाई चाबी हस्तान्तरण गरेका थिए ।
ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एट्टो-३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएको कम्पनीले जनाएको छ । बीवाईडी एट्टो-३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ । यसका साथै यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ ।
यसको एक्सटेरियरमा पनि महत्त्वपूर्ण सुधार गरिएको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले जनाएको छ । कारको पछिल्लो भागमा ‘बिल्ड योर ड्रिम’ब्याज रहेकोमा नयाँ भर्सनमा स्लिक खालको ‘बीवाईडी’ मात्र लेखिएको छ । डी–पिलर पहिले ड्रागन स्केल जस्तै प्याटर्नसहित सिल्भर कलरमा रहेकोमा अब भने स्टाइलिस ब्ल्याक कलरमा छ । यसले गाडीलाई स्पोर्टी डिजाइन प्रदान गर्न थप सहयोग गरेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार बीवाईडी एट्टो-३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ । बीवाईडी एट्टो-३ को २०२४ भर्सनमा थप गरिएको सबैभन्दा महत्त्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो ।
अत्याधुनिक एप्लिकेसनले ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्ने कम्पनीले जनाएको छ । बीवाईडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएकोबारे सजिलै थाहा पाउन सकिन्छ । त्यसैगरी टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिन्छ ।
यसको डीआईलिंक सिस्टममा उपलब्ध गराइएको नयाँ फिचर ‘क्याम्पिङ मोड’ले गाडीलाई थप भर्सटाइल बनाउन भूमिका खेलेको छ र यसका कारण एड्भेन्चर तथा आउटडोरमा रमाउन चाहनेहरूका लागि रुचिकर बनेको कम्पनीले जनाएको छ ।
नयाँ भर्सन एडभान्स र सुपेरियर गरी दुई भेरियन्टमा उपलब्ध छ । एड्भान्समा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक छ । यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । दुवैमा १०० किलोवाटको मोटर छ ।
बीवाईडी एट्टो-३ देशमा सबैभन्दा बढी विक्री हुने स्पोर्टी इलेक्ट्रिक एसयूभी बन्ने क्रममा रहेको कम्पनीको भनाइ छ । नेपाल भित्रिएको दुई वर्षको अवधिमा ३ हजारभन्दा बढी युनिट बीवाईडी एट्टो-३ नेपाली सडकमा गुडिरहेका छन् ।