यो देशको माटो निकै उर्वर बन्दै छ काला कर्महरूका फसल उमार्नका लागि । अफिस अफिसमा नर्सरीहरू छन् । देशैभर ठूलै बगैंचा बनेका छन् भ्रष्टाचारको फूलहरू फुलाउन, फलाउन । यसका माली छन् हाकिम, डिजी, निर्देशक, सचिव, मन्त्री, मुख्यमन्त्री । प्रधानमन्त्री त छँदैछन् । जिम्मेवार पदमा बसेका जिम्मेवार मानिशहरू । प्रहरीका हाकिम, विदेशबाट फर्किएका, प्रजातन्त्रका लागि लडेका, जेलमा सडेका, विचारले थलिएका, उमेरले गलेका, छ्यालिसका जुलुस वीर, गणतन्त्र ल्याउने आन्दोलनका अग्रमोर्चामा रहेका, कुनै बेला बिपी, पुष्पलाल, मनमोहनका चेला बनेका, जनताका प्रतिनिधि भनिएका, नेपाली आमाका सन्तान, राष्ट्रवादी कहलिएका । हेर्नुस् त कसरी उमारिरहेछन् घुस संस्कृति, कसरी गोडमेल गर्दै छन् विकृति, कसरी प्रशिक्षित गर्दै छन्, भ्रष्टाचार फलाउन फुलाउन, कसरी खाइरहेका छन् ग्वाम–ग्वाम ।
खान त राजा हुँदा नि खान्थे, राणा हुँदा नि जनताको पैसा तान्थे । देउतासँग डराउँथे, मान्छेलाई थर्काउँथे । तर, राजतन्त्र हटाएपछि खानलाई फुक्काफाल भएका छन् । अन्तिम भोज भनेजस्तो राष्ट्रिय भतेर कार्यक्रम निर्बाध चलिरहेको छ । खाने कुरामा सबै एकजुट छन् । यसमा दलको भेदभाव छैन । खाने कुरामा सहजभाव छ, मैत्रीभाव छ । यसमा कसले रोक्ने, कसले छेक्ने ? बरु जसले रोक्न खोज्छ, त्यसको डाढ सेक्ने ।
त्यसैले खुब उम्रिएका छन् भ्रष्टाचारका फूल देशैभरि । मेचीदेखि महाकालीसम्म । राजधानीदेखि प्रदेश, महानगर, नगर, गाविस र वडासम्म । लेखापालदेखि शिष्टाचार महापाल, खर्दारदेखि जमदारसम्म फैलिएको छ कालो धनको कल्पवृक्ष । अन्त:शुल्क, भन्सार, भ्याट, स्याट, आयकर । सबै क्षेत्रमा आआफ्नै भाग्यका टेन्डर खुल्छन् । माथिदेखि तलसम्म, दायाँदेखि बायाँसम्म रुपियाँ भाग लाग्छ । मानिस मानिसका लागि काम लागिराछन् । खाइरहेका छन् र त काम पनि भइराछ ।
देखाउनलाई ए कता हो, खानलाई त सधैं एकता हो । सडकमा सबै जुटेकै छन्, खाइरहेकै छन् । कोपरी कोपरीकन पञ्चवर्षीय योजना, विदेशबाट सापट लिएका रकमहरू, आयोजनाहरूका सुकेका पाइपहरूमाथि बसेर सिंगल मल्ट पिइरहेका छन् ।
कस्तो नियमित मिलन हुन्छ । बोतलहरू खोलिन्छन्, काजु, बदाम, प्राउन फ्राइ मगाइन्छन् । कसले भन्छ देशमा एकता छैन भनेर ? देखाउनलाई ए कता हो, खानलाई त सधैं एकता हो । सडकमा सबै जुटेकै छन्, खाइरहेकै छन् । कोपरी कोपरीकन पञ्चवर्षीय योजना, विदेशबाट सापट लिएका रकमहरू, आयोजनाहरूका सुकेका पाइपहरूमाथि बसेर सिंगल मल्ट पिइरहेका छन् । सँगै हाँसेर साथ दिइरहेका छन् चुस्कीमा ठेकेदार, इन्जिनियर, सचिव । मन्त्रीका भ्रमणका लन्च, डिनर, ब्रेकफास्टका मेनु तयारीमा खटिएका छन् विज्ञहरू । बजेट रकमान्तर गरेर, राजनीतिलाई विषयान्तर पारेर, जन्तरमन्तर सबै भ्याएर देशको भण्डारको अन्तरकुन्तर केही बाँकी राखेका छैनन् ।
मन्त्रीकी छोरीको विवाहमा लाइन लागेर पुगेका छन् प्रहरी जवानहरू । हाकिमहरू त पहिल्यै मेजमानीको हाजिरीमै छन् । नयाँ हाउजिङ कोलनीमा आआफ्ना प्लटहरू बुक गरिसकेका छन् । यसो कानूनका आँखा छड्के पारिदिएपछि विनापैसा बुक भइहाल्छ । गृहमन्त्री दाहिना भएका बेला दायाँबायाँ सोच्नु आवश्यक पनि छैन । देशमा शान्ति जो छिन्, उनी अमनचैनसँग सुतिराछिन् । खालीखुट्टा माइतीघरमा विभिन्न पीडितका नाममा प्रदर्शन गर्न आउनेहरू त काम नभएका भुइँफुट्टाहरू मात्र हुन् । उनीहरूको कुरा सुन्न जरुरी छैन ।
यसरी देशको विकास भइरहेकै छ यार ! मान्छे चन्द्रमामा पुगिसके । तपाईं हप्तामा एक दिन पनि पाँचतारे होटलमा पुग्नु सक्नुहुन्न भने दोष त तपाईंकै हो नि । हैन र ? तपाईं भन्नुहोला म भ्रष्टाचार गर्दिनँ, अनि कसरी हुन्छ भनेर ।
कहाँ छैन भ्रष्टाचारका फूल फूलेका ? कमल हिलोमा मात्र फुल्छ, भ्रष्टाचार त जहाँतहीँ फक्रन्छ । यसो कमिसन कम भयो भने फ्याट्ट राष्ट्रवादको कुरा जोड्नुुस्, अनि ध्यान अन्त मोड्नुस् र महल जोड्नुस् । जहाँजहाँ दलहरू सरकारहरू पुग्छन्, त्यहाँ त्यहाँ भ्रष्टाचार पुग्नैपर्छ । नत्र कसरी पुग्छ विकास ? त्यो दलदलमा जो पनि पस्छ, ऊ फस्छ फस्छ । बलिया उत्रन्छन्, कमजोर चाहिँ अख्तियारको फन्दामा फस्छन् ।
जहाँ जहाँ सूर्यको किरण पुग्छ, त्यहाँ त्यहाँ भ्रष्टाचारको वृक्षको छहारी पनि सँगै हुन्छ । खुब बाँड्नु छ यसको फैलिएको, झांगिएको भूगोल, पुरानो इतिहास, निरन्तर निजी लाभको अंकगणित, उज्ज्वल भविष्य । नेपाली नेताहरू, सचिवहरू, हाकिमहरू, कर्मचारीहरूका हातका भाग्यरेखाका समानान्तर भ्रष्टाचारका नयाँ रेखा बनिरहेको छ हिजोआज । अहिले त विद्यालय जाने एउटा बालकले पनि हिसाब गर्न थाले जस्तो छ कि भविष्यमा ठेकेदार बनुँ कि, इन्जिनियर बनुँ कि, सांसद बनुँ कि, केबनुँ ? कि विदेश जाऊँ ? कहाँ माल बढी फल्छ ?
मन्त्रिमण्डलमा विराजमान छन् भ्रष्टाचारका रक्षक, सबैका संरक्षक, सबैका शिरमा स्नेहका अदृश्य हात राख्ने । ‘चिन्ता नगर्नु कमरेड, म छु नि । जय नेपाल भाइ, मेरो नाम लिएर फलानो बैंक वा फलानो उद्योगमा गएर फलानोलाई भेट्नु । नभए फोन लगाउँ त, म कुरा गर्दिहाल्छु नि ।’ ‘हल्लो हजुर, अवश्य हजुर, हजुरको आज्ञाअनुसार गरिहाल्छु नि हजुर ।’
सारा देशभरि यस्तै स्वरलहरी गुन्जिरहन्छ सधैंभरि । तार जोडिएको छ आपसमा, यहाँबाट वहाँ । गल्ली गल्लीबाट मुसाहरू फैलिरहेका छन्, अघि बढिरहेका छन् । सपनाका गोदाममा देशका सारा आकांक्षाहरू यिनै मुसाहरूले टुक्राटुक्रा, क्षतविक्षत बनाइसकेका छन् । समिति, उपसमिति, आयोग, जाँच, बयानका मञ्चहरूमाा सत्यतथ्यहरू सडाएर थन्क्याइएका छन् । पत्रपत्रिकामा निरन्तर काला कामका खबरहरू त छापिन्छन् । तर अर्थशास्त्र र राजनीतिशास्त्रमा भ्रष्टाचारको विष पसिसकेको छ । मन्त्री, प्रधानमन्त्रीले नै सफाइ पेश गर्दिन्छन् । उनै नेता, उनै न्यायाधीश, उनै पत्रकार, उनै कलाकार । आफै बोक्सी, आफै झाँक्री । मिडियाले भ्रष्टाचारका कथा छापेर सबै कागज र मसी सिध्याए पनि अलिखित नै रहन्छ, देशको भ्रष्टाचारको महाकाव्य ।