विगतको अज्ञात समयदेखि हालसम्म कृषि नेपालको अर्थतन्त्रको मेरूदण्डका रूपमा उभिँदै आएको छ । तर, हालका केही दशकयता यो क्षेत्रले खासै महत्त्व पाइरहेको छैन । यसबाट युवा जनशक्ति पलायन भइरहेको छ । औद्योगिक क्षेत्रमा पनि नेपालले प्रगति गर्न सकेको छैन । उद्योग व्यवसायले गति लिन सकेको छैन । निजीक्षेत्रको अर्थतन्त्रमा संलग्नता केवल अनुत्पादक नाफायुक्त जोखिमरहित क्षेत्रमा प्रवाहित हुन पुगेको छ । घरजग्गा व्यवसाय र सवारीसाधनको आयात र विक्रीवितरणमा लगानी भइरहेको छ । अर्थात् निजीक्षेत्र उत्पादनमूलक क्षेत्रमा गहन रूपले प्रवेश गर्न सकेको छैन । सरकारी क्षेत्रले कमिशन एजेन्टको कार्य गरिरहेको छ । आज देखिएको भ्रष्टाचार र तस्करीको जालोले यसलाई सहजै पुष्टि गर्छ । आर्थिक र सामाजिकलगायत सबै क्षेत्र सरकारी क्षेत्रको लापारबाहीका कारण अस्तव्यस्त छन् भन्दा हुन्छ । अर्थतन्त्रको विकासको शुरुआतसम्म हुन सकेको छैन । नेपालमा उपलब्ध स्रोतसाधनहरूको विकास गरी उपयोगमा ल्याउन सकिएको छैन । यसको विकासमा खासै महत्त्व दिइएको छैन जसले नेपालका युवायुवतीका लागि रोजगारी सृजना गर्न सहयोग पुर्याउन सक्ने क्षमता राख्छन् । तर, ती आर्थिक क्षेत्रको विकास हुन नसक्दा नेपालका युवायुवती बेरोजगार बनेका छन् । मानिसहरूमा निराशा र हतोत्साहीपनले वास गरिरहेको छ । यसैको परिणाम हो : नेपालका युवायुवती विदेश पलायन । रोजगारका लागि उनीहरूको गन्तव्य विदेश हुन पुगेको छ । यो निराशाजनक अवस्थाका कारण मानिसहरूको विदेशिने प्रवृत्तिमा वर्षेनि वृद्धि भइरहेको छ । यसमा सरकारी क्षेत्रले पनि प्राथमिकताका साथ कार्य गरिरहेको छ किनभने विगतका २ दशकदेखि नेपालको अर्थतन्त्रलाई जीवित राख्ने कार्य विप्रेषणले गरिरहेको छ । लाग्छ, सरकार उद्योगधन्दा फस्टाओस् भन्दा पनि युवाहरू विदेशमा जाऊन् भन्ने चाहन्छ । त्यसैले उद्योग खोल्नभन्दा विदेश पठाउन सहजीकरण गरेको बढी भएको पाइन्छ ।
जीविकोपार्जनका लागि वर्षेनि ५ लाख युवायुवती विदेशिने गरेका छन् । तिनीहरूको रोजगारीको गन्तव्य विश्वका सबै मुलुक हुने गरेका छन् । रोजगारीका लागि विदेशिने युवायुवतीको लर्को वर्षेनि बढ्दै गएको छ । अर्थिक वर्ष २०२२–२३ मा ७ लाख ५० हजार मानिस रोजगारीका लागि विदेशिएका थिए । यी युवायुवतीको गन्तव्य मध्यपूर्वका देशहरू जस्तै कतार, सउदी अरेबिया, युएई, इजरायल आदि र पूर्वी एशियाका मुलुकहरू जस्तै मलेशिया, दक्षिण कोरिया, जापान आदि हुन् । त्यस्तैगरेर वर्षेनि करीब ५० हजार मानिस विकसित देशहरूमा स्थायी बसोवासका लागि विदेशिने गरेका छन् । विविध उद्देश्यका लागि सन् २०२३ मा जम्मा १६ लाख मानिस विदेश भ्रमणमा गएका थिए । यीमध्ये केही विदेशमा स्थायी बसोवासका लागि उडेका थिए । स्थायी बसोवासका लागि यिनीहरूको गन्तव्य विकसित देशहरू जस्तै संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत आदि रहेका छन् । अध्यागमन विभागका अनुसार सन् २०२२ मा ७१ हजार नेपाली विदेशमा स्थायी बसोवासका लागि उडेका थिए । यीमध्ये केही विश्वको धनी र शक्तिशाली देश संयुक्त राज्य अमेरिकामा स्थायी बसोवासका लागि गएका छन् ।
बीसौं शताब्दीको शुरूबाट नेपालीहरू संयुक्त राज्य अमेरिकामा आप्रवासनका लागि जाने प्रवृत्ति शुरू भएको हो । यस समयमा बसोवासका लागि संयुक्त राज्य अमेरिका जाने प्रवृत्ति नगन्य मात्रामा थियो । त्यसताका नेपाली अमेरिकीहरूको आफ्नै पहिचान थिएन । उनीहरूलाई अन्य एशियाली–अमेरिकीको समूहमा समावेश गरिएको थियो । पहिलोपटक सन् १९७४ मा नेपाली अमेरिकीहरूलाई जनजातिको समूहमा छुट्टै समूहमा विभाजित गरिएको थियो । त्यसताका जम्मा ५६ जना नेपाली अमेरिकी थिए । त्यसताकादेखि अमेरिकामा स्थायी बसोवासका लागि जाने नेपालीहरूको संख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको छ । सन् १९९६ सम्म स्थायी बसोवासका लागि जानेको संख्या १०० जनाभन्दा कम रहेको थियो । सन् १९९६ मा डाइभर्सिटी भिसा कार्यक्रमको शुरुआत भयो । यो कार्यक्रमको शुरुआतपश्चात् स्थायी बसोवासका लागि अमेरिका जाने नेपालीहरूको संख्या उल्लेखनीय रूपले वर्षेनि वृद्धि हुँदै गएको छ ।
पिउ रिसर्च सेन्टरका अनुसार सन् २०१९ सम्ममा नेपाली अमेरिकीहरूको कुल संख्या १ लाख ९८ हजार रहेको थियो । सन् २०२० मा यो संख्यामा ४ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार पुगेको थियो । अर्थात् सन २०२० सम्ममा नेपाली–अमेरिकीहरूको कुल संख्या २ लाख ६ हजार रहेको छ । यिनीहरूमध्ये ७८ हजार नेपाली अमेरिकीहरू अमेरिकाका १० महानगरमा स्थायी बसोवास गर्दै आएका छन् । डलासमा सबैभन्दा बढी १५ हजार नेपालीले स्थायी बसोवास गर्दै आएका छन् । दोस्रो र तेस्रो स्थानमा न्यूयोर्क र वाशिङटन छन् जहाँ १२ हजार र १० हजार नेपालीले स्थायी बसोवास गर्दै आएका छन् । सान फ्रान्सिको र बालटिमोर चौथो र पाचौं स्थानमा रहेका छन् जहाँ ७/७ हजार नेपालीले स्थायी बसोवास गर्दै आएका छन् । छैटौं स्थानमा बोस्टन रहेको छ जहाँ ६ हजार नेपालीले स्थायी बसोवास गरिरहेका छन् । त्यस्तैगरेर एटलान्टा, पिट्सबर्ग, आचरोन र सिकागो शहरहरू क्रमश: सातौं, आठांै, नवांै र दशौं स्थानमा रहेका छन् जहाँ ५/५ हजारका दरले नेपाली अमेरिकीहरू बसोवास गरिरहेका छन् । यसबाट के प्रमाणित हुन्छ भने नेपालीहरूको स्थायी बसोवास ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बाक्लो देखिन्छ ।
गरीब नेपालीहरू धनी बन्नुभन्दा पनि जीविकोपार्जनका लागि अमेरिका जाने गर्छन् । कतिपय विद्वत् क्षमताका आधारमा गएका छन् भने धेरै डिभीको माध्यमबाट अमेरिका जाने गरेका छन् । सबैको एकै चाहना र इच्छा जीविकोपार्जनका साथै धनी बन्ने रहेको छ । तर, अमेरिकामा पनि कतिपयको त्यो चाहना अधुरै रहन्छ । धनी र गरीब हुने प्रक्रिया एउटा प्राकृतिक नियम हो जुन कर्ममा भर परेको हुन्छ । मेहनती मानिसहरू धनी हुन्छन् र कम मेहनतीहरू गरीबको स्थान ओगट्न पुग्छन् । विश्वका मानिसहरूको जीवनचर्या यसरी नै बितिरहेको छ । अमेरिकामा नेपाली अमेरिकीहरूको वार्षिक औसत आम्दानी ५५ हजार डलर छ । नेपाली अमेरिकीहरूको यो औसत आम्दानी क्रमश: एशियाली–अमेरिकी र सबै अमेरिकीको औसत आम्दानी ८५ हजार ५ सय र ६८ हजारभन्दा धेरै तल रहेको छ । यसले के स्पष्ट पार्छ भने सबै अमेरिकी र एशियाली–अमेरिकीहरूको तुलनामा नेपाली अमेरिकीहरू गरीब छन् । अर्थात् अमेरिकी सबैको भन्दा नेपाली अमेरिकीहरूको वार्षिक औसत आम्दानी कम छ । यसले के स्पष्ट पार्छ भने नेपाली अमेरिकीहरूको कमाउने क्षमता अरूको तुलनामा कमजोर देखिन्छ । यसले देखाउँछ कि अमेरिकामा पनि नेपालीहरू गरीब छन् । कुल नेपाली–अमेरिकीमध्ये १७ प्रतिशत गरीब छन् । यो गरीबी सबै अमेरिकीको ११ प्रतिशत रहेको छ भने एशिया–अमेरिकीहरूको १० प्रतिशत मात्र रहेको छ । केवल ३३ प्रतिशत नेपाली–अमेरिकीहरू आफ्नै घरमा बसोवास गर्छन् भने बाँकी सबै भाडामा बस्छन् । अधिकांश नेपाली धेरै पढेलेखेका छैनन् । उनीहरू न्यून ज्यालामा काम गर्छन् । केवल २२ प्रतिशत नेपाली अमेरिकीहरू कलेज ग्य्राजुएट छन् । यो संख्या एशियाली–अमेरिकीहरूको भने ३० प्रतिशत छ । शैक्षिक योग्यताको कारणले पनि नेपाली अमेरिकीहरूको कमाइ न्यून रहेको कुरा अनुमान गर्न सकिन्छ । त्यसकारणले पनि नेपाली अमेरिकीहरू अमेरिकामा पनि गरीबीको कुचक्रमा रुमलिइरहेका छन् । त्यसैले भन्न सकिन्छ कि सबै नेपाली–अमेरिकीहरूले समृृद्धि प्राप्त गरिरहेका छैनन् । नेपालमा जस्तै अमेरिकामा पनि गरीब नै भएर जीवन गुजारिरहेका छन् ।
लेखक अर्थशास्त्री हुन् ।