विराटनगर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विराटनगर १९ मा रहेको राष्ट्रिय गौरवको आयोजना गिरिजाप्रसाद कोइराला अन्तराष्ट्रिय क्रिकेट रंगशालाको शनिवार निरीक्षण गरेका छन् । उनले उक्त आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।
पूर्वप्रधानमन्त्री दाहालले यसलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने निर्णय आफ्नो प्रधानमन्त्रित्वकालमा गरिएको स्मरण गर्दै भने, ‘यो रंगशालाको नाम पहिले झापा वैजनाथ खेलमैदान थियो, म प्रधानमन्त्री भएका बेला यसलाई गिरिजाप्रसाद कोइरालाको नाममा अघि बढाउने निर्णय गरियो ।’ रंगशालालाई राष्ट्रिय गौरवको आयोजना बनाउनु पूर्वी नेपालका लागि खेल क्षेत्र र समग्र विकासमा महत्त्वपूर्ण मानिएको उनले बताए ।
दाहालले भने, ‘यसको निर्माण छिटो सम्पन्न गर्न बजेट व्यवस्था र अन्य सहजीकरणमा सरकारको सक्रियता आवश्यक छ ।’ उनले राष्ट्रिय खेलकुद परिषद्बाट डीपीआर र ईआईए सम्पन्न भएको जानकारी प्राप्त गरेको पनि बताए ।
१५ बिगाहा जमीनमा २ अर्ब ७९ करोड ७४ लाख ११ हजार ३७४ रुपैयाँ लागतमा अत्याधुनिक क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान गर्ने अन्तिम तयारी भइरहेको छ । उक्त रंगशालामा क्रिकेट मैदानसँगै ५ हजार सिट क्षमताको एथ्लेटिक्स ट्र्याक, फुटबल र रग्बी रंगशाला, प्याभेलियन, बहुउपयोगी कभर्ड हल, गार्ड हाउस, टिकट काउन्टर, अभ्यास नेट, होस्टल ब्लक, रेस्टुरेन्ट, स्विमिङ पुल, जिम हल, खेलाडी ब्लक, पार्किङ क्षेत्र, बाटो, हरियाली क्षेत्र लगायत संरचना पनि हुनेछन् ।
राष्ट्रिय खेलकुद परिषद्ले यो अन्तरराष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि प्रक्रिया शुरू गरेको छ । परिषद्का प्रवक्ता खुसराज दाहालले टेन्डर प्रक्रियाका लागि राष्ट्रिय योजना आयोगमा पठाएको जानकारी दिए । योजना आयोगबाट स्वीकृत भएर आएपछि टेन्डर प्रक्रियामा जानेछ । रंगशालामा १३८ मिटर लम्बाइ र १३८ मिटर चौडाइको मैदानमा ५ ओटा पिच रहनेछन् । बाउन्ड्रीको दूरी ६९ मिटर हुनेछ । त्यस्तै, फुटबल र रग्बी मैदानको लम्बाइ १०५ मिटर र चौडाइ ६८ मिटर हुनेछ । एथ्लेटिक्स ट्र्याकको लम्बाइ ४०० मिटर हुनेछ ।
क्रिकेट रंगशालामा ९ हजार ४९० साधारण सिट, ३५० भीआईपी र ६० भीभीआईपी सिट हुनेछन् । साथै २५ मिटर लम्बाइ तथा २५ मिटर चौडाइको स्विमिङ पुल र १ हजार ५०० सिट क्षमताको कभर्ड हल पनि निर्माण हुनेछ । रंगशाला समुद्री सतहबाट ९२ मिटर उचाइमा बन्नेछ । यो आयोजनाले १ दशमलव ५ किलोमिटर पहुँच बाटोको स्तरोन्नति पनि गर्नेछ ।