काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले सोमवार साँझ ५ बजे बत्तीसपुतलीस्थित काजीको किचनमा एक कार्यक्रमको आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो ।
तोकिएको अवधिभित्र १३ लाख ६१ हजार १५४ जना आवेदकहरूले १ करोड ५३ लाख ४७ हजार ४७० कित्ता शेयर खरीद माग गर्दै आवेदन दिएका थिए । मागभन्दा ७ दशमलव ८५ गुणा बढी आवेदन परेको विक्री प्रबन्धकको भनाइ छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा भाग्यमानी १ लाख ९५ हजार ३२७ जना आवेदकहरूले शेयर प्राप्त गरेका छन् । यी आवेदकहरूमा पहिलो चरणमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरी बाँकी रहेको ९ कित्ता शेयर भने थप ९ जनालाई एक कित्ताका दरले बाँडफाँट गरिएको हो । यसरी हेर्दा कम्पनीको आईपीओ बढीमा ११ कित्तासम्म बाँडफाँट गरिएको छ ।
कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका कुल आवेदकहरूमध्ये १२ लाख ८३ हजार ५९६ जना आवेदकहरू मात्र योग्य रहेको विक्री प्रबन्धकको भनाइ छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ विक्री गर्न अनुमति पाएका कम्पनीले कुल कित्तामध्ये १ लाख ९८ हजार ८२४ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा र २ लाख ६ हजार ७६० कित्ता आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको हो । स्थानीयका लागि ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ छुट्याइएकोमा सम्पूर्ण कित्ता भने वितरण हुन सकेन । स्थानीयमा वितरण हुन नसकेको शेयरसमेत थप गरी सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणबाहेक कम्पनीका कर्मचारीहरूका लागि ३९ हजार ७६५ कित्ता र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरेको छ ।
कम्पनीले दैलेखमा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ छ ।
प्रतिमेगावाट अनुमानित लागत भने २३ करोड ६८ लाख ४ हजार रुपैयाँ छ । अधिकृत पूँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँ छ । सर्वसाधारणतर्फ सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँ कायम हुनेछ । आईपीओबाट संकलित पूँजी कम्पनीले बैंकको ऋण तिर्न र आयोजना निर्माणका लागि खर्चिने जानकारी कम्पनीले दिएको छ ।