काठमाडौं । आज (बिहीवार) पनि नेप्से घटेर बन्द भएको छ । गत बिहीवारदेखि घटेको बजार यो बिहीवार पनि घटेर बन्द भएको हो । पछिल्लो समय ५ कारोबार दिन बजार निरन्तर घटेको छ । आज भने ८ दशमलव ४१ अंकले घटेर नेप्से २ हजार ६११ दशमलव ८५ विन्दुमा बन्द भएको हो । यसबीच नेप्से परिसूचक २ हजार ६२८ दशमलव ६७ विन्दुसम्म पुगेको छ भने २ हजार ६०५ दशमलव ८९ विन्दुसम्म झरेको छ ।
लगानीकर्ताको मनोबल बढ्ने खालका गतिविधि नहुँदा बजार प्रभावित बनेको ब्रोकरहरू बताउँछन् । लामो समयदेखि गभर्नर नियुक्ति अन्योल बनिरहँदा लगानीकर्ता पनि अन्योलकै अवस्थामा रहेको ब्रोकरहरूले औल्याएका छन् । गर्भनर नियुक्तिको विषय टुङ्गो लागेमा लगानीकर्ताले बजारप्रति सकारात्मक सोच दर्शाउने भनाई ब्रोकरहरूको छ । यो दिन ८२ कम्पनीहरूको धितोपत्र मूल्य बढेको छ भने १६४ कम्पनीको धितोपत्र मूल्य घटेको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर मूल्य भने यो दिन स्थिर रहेको छ ।
घटेको बजारमा ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९ दशमलव ६२ प्रतिशत बढेको छ । प्रतिकित्ता ५७ रुपैयाँ ८० पैसाले बढेर ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य प्रतिकित्ता ६३६ रुपैयाँ २० पैसा कायम भएको हो भने प्रतिकित्ता ३११ रुपैयाँ २० पैसाले बढेर उपकार लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ३ हजार ५४६ रुपैयाँ ३८ पैसा कायम भएको हो ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने ८ दशमलव ६५ प्रतिशत घटेको छ । सर्वाधिक शेयरमूल्य घटेको कम्पनीको प्रतिकित्ता २ हजार १०० रुपैयाँ ४६ पैसा कायम भएको हो । पछिल्लो समय बजार घटेसँगै कारोबार रकम पनि घटिरहेको छ । बुधवार ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँभन्दा बढीको १ करोड ८४ लाख ९६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बिहीवार ७ अर्ब ८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको १ करोड ७४ लाख २३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा सोल्टी होटलको सर्वाधिक हिस्सा रहेको छ । आज सोल्टी होटलको ४६ करोड १९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सोल्टी होटलको शेयरमूल्य प्रतिकित्ता ४३ रुपैयाँ ७५ पैसाले बढेर अन्तिम मूल्य प्रतिकित्ता ५७३ रुपैयाँ कायम भएको छ ।
कुल बजार पूँजीकरण ४३ खर्ब ४४ अर्ब ७० करोड ५८ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । बुधवार कुल बजार पूँजीकरण ४३ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रहेको थियो । बजार घटेसँगै कुल बजार पूँजीकरणमा पनि कमी आएको हो । यो दिन होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४ दशमलव ९१ प्रतिशत बढेको छ भने योसँगै म्युचुअल फण्डको शून्य दशमलव २९ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव ७० प्रतिशत बढेको छ । यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव १२ प्रतिशत घटेको छ ।