काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले माघ १५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम रहेका शेयरधनीहरूका लागि १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । योग्य शेयरधनीहरूका लागि कम्पनीले चैत १९ गतेदेखि वैशाख १४ गतेसम्म हकप्रद शेयर निष्कासन गरी वैशाख ३१ गते बाँडफाँट गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा ८५ लाख ९५ हजार ९२८ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ ।
यस आधारमा १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद शेयर भने यो समयमा वितरण हुन नसकेको देखिन्छ । यस अवधिमा विक्री हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्नेछ । कम्पनीले आफ्नो कायम हकभन्दा बढी शेयर माग गरी आवेदन दिएका सदस्यहरुको बाँडफाँटमा नपरेको हकप्रद वापत्को रकम जेठ ४ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी दिएको छ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा सोहीबराबरको हकप्रद शेयर निष्कासन गरेको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ कायम हुनेछ ।