काठमाडौँ : युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रु १ अर्ब २२ करोड जोखिममा परेको छ । कर्जा लगानी गरेको रकम समयमा असुली नहुँदा कोषको रकम जोखिममा परेको महालेखापरीक्षकको कार्यालयले दिएको ६२औं प्रतिवेदनमा औंल्याइएको छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले उक्त रकम कर्जा लगानी गरेको थियो । नियमअनुसार यो कर्जावापतको रकम तोकिएको समयमा चुक्ता गर्नुपर्ने भए पनि १ हजार २३९ वटा सहकारी संस्थाले २०८१ असार मसान्तसम्म रु १ अर्ब ६ करोड ८५ लाख ९१ हजार सावाँ फिर्ता नगरेको महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।
यो रकमको ब्याज रु १२ करोड ८१ लाख १९ हजार र हर्जाना रु ३ करोड ८८ हजार रुपैयाँ छ । जम्मा १ अर्ब २२ करोड ६७ लाख ९८ हजार रुपैयाँ ब्याज र हर्जानासहित कर्जा असुल गर्न बाँकी छ ।
यस्तै, १५ बैंक र वित्तीय संस्थाले रु ३१ करोड ५३ लाख ३३ हजार सावाँ फिर्ता गरेका छैनन् । तर, यसको ब्याज र हर्जानाको हिसाब कोषले नराखेको महालेखाको प्रतिवेदनले औंल्याएको छ । कोषको नियमअनुसार कर्जाको भाखा नाघेमा थप २ प्रतिशत ब्याज कोषलाई तिर्नु पर्छ ।