नेपालले तल्लो तहबाट निर्यात बढाउने हो भने निर्यात अन्तरराष्ट्रिय सम्मेलन गरेर सोच, पूर्वाधार र जनशक्तिलाई निर्यातमुखी बनाउन आवश्यक देखिएको छ । निर्यात मात्र असीमित अर्थतन्त्रको आधार हो । त्यसैले जसरी हुन्छ निर्यात गर्ने व्यवसायीलाई अनेक सहयोग र हौसला दिएर तल्लो तहबाट नै निर्यात अर्थतन्त्रलाई उकास्ने प्रयास गरौं । अहिले देश आयातको आँकडाबाट आत्तिएको छ, यसलाई कुनै न कुनै तरीकाले सन्तुलनमा ल्याऔं ।
अर्थतन्त्र संकटमा छ । शेयरबजार घटेको छ, किनकि शेयरमा लगानी गर्ने पैसा छैन । अर्थतन्त्र सुध्रिनेमा जनताको आश साँघुरिएको छ । बैंकबाट ऋण लिएर लगानी गर्ने हो भने पनि बढ्ने सम्भावना अनिश्चित छ । बजार ३२०० बाट घटेर १८०० तिर आएको छ । जतिबेला देशमा अनेक काण्ड सुनिन्थे त्यतिबेला शेयरबजार बढेको थियो । दिनको २१ अर्बसम्म बजारमा लगानी भएको हो । अहिले काण्डहरू मत्थर भएका छन् र पनि बजारमा लगानी गर्नेको संख्या घटेको देखिन्छ । सम्पत्ति शुद्धीकरण गर्न बजारमा पैसा लगाइएका कारण कुनै बेला बजार ३२ सयमाथि पुगेको आशंका गर्न सकिन्छ ।
हाम्रो अर्थतन्त्र साँघुरो क्षेत्रतर्फ उन्मुख छ । यो आजबाट होइन, जंगबहादुर राणाका पालादेखिकै हो । हामी विदेशमा भर्ती हुन थालेपछि आजसम्म प्रत्येक युवा देश छोडेर विदेशमा जान चाहन्छ र देशमा भएको युवाले पनि जागीर पाएसम्म अरू केही गर्न चाहँदैन । त्यो मिति हाम्रो प्रवृत्तिगत पलायनको टर्निङ प्वाइन्ट थियो जुन अहिलेसम्म यथावत् छ ।
जागीर, विदेशमा जाने सोच, आयात व्यापार र भ्रष्टाचार अर्थतन्त्रको सीमित क्षेत्र हो, जसको अन्तिम विन्दु छिटो भेटिन्छ । यस्तो सीमित अर्थतन्त्रले केही छिनलाई, केही दिनलाई र केही व्यक्तिलाई राम्रो गर्छ तर समग्र अर्थतन्त्रलाई सुकेनास लागेको रोगी जस्तो दुब्लो, पातलो र साँघुरो बनाउँछ । त्यसैले अर्थतन्त्रको असीमित क्षेत्रतिर लाग्न सकेनौं भने कालान्तरमा हामी भोकै मर्ने हो । सीमित अर्थतन्त्रले व्यक्ति परिवारलाई रामै्र गरेको छ र गर्छ तर देशको समग्र स्वरूप परिवर्तन गर्न सक्दैन । अबको आर्थिक परिवर्तन सामान्य बाटो, पुल र टावरमा होइन मानव दिमागमा गरिनुपर्छ, जसका लागि निर्यात सम्मेलन आवश्यक छ ।
असीमित अर्थतन्त्रको बाटोमा युवाहरू लाग्नुपर्छ । त्यो भनेको निर्यात व्यापार हो, जससँग उत्पादन जोडिन्छ, सृजनशीलता जोडिन्छ । निर्यातका लागि उद्यमी स्टार्टअपमा जोडिनुपर्छ, भेञ्चरहरू स्थापना हुन थाल्छन् जसले गर्दा दिगो लगानीको आरम्भ हुन्छ । जब आफ्नो व्यवसाय हुन्छ, आफ्नो तरीकाले ख्याति बढ्छ तबमात्र असीमित अर्थतन्त्र विस्तारको क, ख, ग शुरू हुन्छ । निर्यात सबैभन्दा व्यापक अर्थतन्त्र हो, जसको सीमा छैन, किनकि विश्व व्यापार संगठनको अवधारणाले विश्वभरका ८ अर्ब जनतालाई हामी कुनै पनि वस्तु बेच्न सक्छौं ।
आयात सीमित हुन्छ, निर्यात असीमित हुन्छ । त्यही कारणले गर्दा सन् २००४ मा नोकियाले २ लाख मोबाइल बेच्ने लक्ष्य राखेकामा ४ करोड मोबाइल विक्री भएको थियो । प्रविधिमा सही निर्णय गर्न नसक्दा पछि अन्य कम्पनी अगाडि आए । केएफसी, टोयोटा, कोकाकोला, किया, बीएम डब्ल्यू, रोल्सरोय जस्ता कम्पनीले आज पनि विश्वभरमा व्यापार गर्न सकेका छन् । निर्यात व्यापारका धेरै फाइदा छन् । तीमध्ये पहिलो यो लगभग सीमाहीन छ । दोस्रो यसमा लगानी गरेको रकम डुब्ने र फस्ने डर हुँदैन, किनकी दुई देश बीचको व्यापारमा कसैले रकम नतिर्ने भन्ने हुँदैन । विश्व नै बजार हुने हुँदा ग्राहकको कमी हुँदैन ।
यी सामान्य फाइदा हुन् । मुख्य कुरा के हुन्छ भने यस्तो व्यापारले काम गर्ने मानिसको सोचलाई व्यापक रूपमा विस्तार गर्छ । यसमा सम्भावना, आशा र चुनौती सबै विश्वस्तरको हुने भएकाले दिमागलाई फराकिलो बनाउँछ । हाम्रो प्रतिस्पर्धी कहाँ के गरिरहेको छ भन्ने जानकारी नै नहुने भएकाले उद्यमीको दिमाग सबैभन्दा राम्रो र गुणस्तरीय सोचमा लाग्न थाल्छ । नेपालीका तिनै टाउकोहरूले बेञ्चमार्कको खोजी गर्न थाल्नेछन्, जसले आज पलायनको दाउ हेरिरहेका छन् । सोच प्रवाह परिवर्तन गर्नका लागि केही गरौं ।
असीमित अर्थतन्त्र सबैका लागि सम्भव हुँदैन भन्ने हाम्रो मान्यता छ, किनकि सबैसँग पूँजी र प्रविधि हुँदैन । त्यसैले हामी छोटो र जीवन निर्वाहमुखी बाटो रोज्न बाध्य भएको सत्य हो । विश्वका सबै मानिसले निर्यात गर्न सम्भव छैन । थोरैले अर्थात् १ प्रतिशतले मात्र निर्यात गर्ने हो भने देशको मुहार फेरिन्छ । त्यसैले बानी निर्यातमुखी बनाऊँ । अन्यथा हामी र हाम्रो अर्थतन्त्र टिक्न नै नसक्ने अवस्था सृजना हुन सक्छ । सबैले सकारात्मक सोच राखेर अगाडि बढ्दा कुल जनताको १ प्रतिशतले मात्र निर्यात व्यापार गर्ने हो भने देशको प्रगति फरक हुन्छ ।
अबका दिनमा सरकारले पनि असीमित आर्थिक गतिविधितिर आफ्नो ध्यान बढाउन निर्यातमूलक उत्पादनमा ध्यान दिनुपर्छ । तेल, दाल, कपडा, तयारी पोशाक, शुद्ध पानी, हिमालको बरफ, यार्सागुम्बा, रुद्राक्षलगायत नेपालले सजिलै उत्पादन गर्न सक्ने चीजको निर्यातमा जोड दिने हो भने मात्र दिगो आर्थिक विकास हुन्छ र निरन्तर रूपमा शेयरबजार पनि बढ्दै जान्छ । तत्कालै हामी प्रविधिमा विश्वबजारमा आउन नसकौंला तर खनिजयुक्त हिमालको पानीमा हाम्रो प्रतिस्पर्धा कसैसँग हुँदैन ।
निर्यातमूलक तरीकाले सोच्न सकिएन भने शेयरबजार पनि कहिले बढ्ने र कहिले ह्वातै घट्ने अवस्थामा आउनेछ र देशको राजस्व पनि केबल आयातको भन्सार र भ्याटबाट परनिर्भर नै रहने छ । यस्तो अवस्थामा देशले एउटा निर्यात सम्मेलन गरेर देशविदेशबाट केही महत्त्वपूर्ण संस्था, दाता र लगानीकर्ता बोलाएर यस सम्बन्धमा बहस गर्नुपर्छ । हामी परिवर्तनका लागि एउटा गम्भीर बिन्दुमा जोडिऊँ । आम युवायुवतीको पलायनमुखी ‘माइन्डसेट’ परिवर्तन गर्न कठिन होला तर असम्भव पक्कै हुनेछैन ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।