काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिले ६ वर्षअघि तोकेकै बहालदरअनुसार उद्योगीहरूबाट बक्यौता उठाउने निर्णय गरेको छ ।
उच्च अदालत पाटनको पूर्ण पाठ आइसकेको भन्दै कम्पनी सञ्चालक समितिको शनिवार बसेको बैठकले २०७५ साउन १ गते कायम भएको बहालदरअनुसार बक्यौता उठाउने निर्णय गरेको हो । उच्च अदालत पाटनले उक्त मितिमा कायम भएकै बहालदर कार्यान्वयन गराउन आदेश दिएको थियो ।
उच्च अदालतको आदेश चित्त नबुझेपछि औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्दै आएका उद्योगीहरूले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका छन् । त्यसको २ दिनपछि बसेको सञ्चालक समिति बैठकले उच्च अदालतको आदेश कार्यान्वयन गर्ने निर्णय गरेको हो । सञ्चालक समिति बैठकको निर्णयअनुसार अब उद्योगीहरूले २०७५ साउन १ गतेदेखि लागू हुने गरी तोकिएको बहालदरअनुसार बक्यौता बुझाउनुपर्ने देखिएको छ । कम्पनीले ६९ करोड रुपैयाँ बक्यौता रहेको बताएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी कृष्णबहादुर पुनले शनिवारको निर्णयअनुसार २०७५ साउन १ गतेदेखि लागू भएको दरअनुसार उद्योगीले जग्गाको बहाल तिर्नुपर्ने बताए । उनका अनुसार २०७५ मा निर्धारण भएको दरअनुसार उद्योगीले तिर्नुपर्ने बक्यौता बहाल ६९ करोड रुपैयाँ हुन आउँछ । ‘उच्च अदालतबाट पूर्ण पाठ आइसकेकाले शनिवार बसेको सञ्चालक समिति बैठकले बक्यौता उठाउने निर्णय गरेको हो,’ पुनले भने, ‘त्यसअनुसार अब १० ओटै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा बक्यौता उठाउने निर्णय कार्यान्वयन गर्न चिठी पठाउँछौं ।’
बक्यौता तिराउने निर्णयमा चित्त नबुझेपछि उद्योगीहरूको महासंघ सर्वाेच्च अदालतमा
कम्पनीले सोमवार सबै कार्यालयलाई बक्यौता उठाउन सर्कुलर जारी गर्ने र ती कार्यालयले सम्बद्ध उद्योगीलाई बक्यौता तिर्न पत्राचार गर्ने पुनको भनाइ छ । पुनका अनुसार समयमै भुक्तानी गर्ने व्यवसायीलाई छूट सुविधासमेत छ । कम्पनीले बिल काटेको मितिदेखि ३० दिनभित्र उद्योगले रकम भुक्तानी गरे कुल बक्यौताको ३ प्रतिशत छूट पाइन्छ । ९० दिनभित्र बुझाएमा जति बिल हो त्यत्ति नै तिर्नुपर्छ, ९० दिनभन्दा बढी समयसम्म बक्यौता नतिर्ने उद्योगीले भने वार्षिक १२ प्रतिशतका दरले जरीवाना तिर्नुपर्छ ।
कम्पनी बक्यौता तिर्न दबाब दिने र उद्योगीहरू नतिर्ने पक्षमा रहँदै आएका छन् । यसले गर्दा औद्योगिक वातावरण बिग्रन सक्ने तर्क गरिएको छ । शनिवार बसेको सञ्चालक समिति बैठकमा सहभागी भएका नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहीरा पाठकले उच्च अदालत पाटनको आदेशअनुसार बक्यौता उठाउने निर्णयमा असहमति लेखेको बताए ।
‘निर्णयका लागि मात्रै निर्णय गरेर आफ्नो उत्तरदायित्वबाट पन्छिनुहुन्छ कि कार्यान्वयनका लागि निर्णय गर्नुहुन्छ भनेर प्रश्न गरेको छु,’ पाठकले भने, ‘२०७५, २०७९, र अहिले २०८१ मा पनि बक्यौता उठाउने निर्णय भएका छन् ।’ औद्योगिक क्षेत्रको निर्णय गैरकानूनी रहेको, उच्च अदालतको निर्णयबाट उद्योगीहरूमाथि अन्याय भएको र चित्त नबुझेको भन्दै व्यवसायीहरू बुधवार सर्वाेच्च अदालत गइसकेको पनि उनले जानकारी दिए ।
सर्वाेच्च अदालतको आदेश नआउँदासम्म सञ्चालक समितिले कसरी निर्णय गर्न मिल्छ भन्दै उनले थपे, ‘सञ्चालक समिति बैठकमा यो विषय सर्वाेच्च अदालत गइसकेको अवस्थामा बढेको दरमा बहाल उठाउने निर्णय कार्यान्वयनमा लैजान नपाउने भनिरहँदा समितिले कार्यान्वयन हुने निर्णय गर्यो, हामीले निरन्तर असहमति जनाइरहेका छौं ।’ उनले मुलुक व्यापारबाट चलेकाले अब सरकारले नै एकलौटी रूपमा उद्योग चलाउनुपर्ने र मुलुकमा भएका उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
‘समयसापेक्ष बढाएको भाडा हामी तिर्छाैं, औद्योगिक क्षेत्र व्यवस्थापनसम्बन्धी नियमावलीमा टेकेर बढाइएको भाडा तिर्छौं, जे जसरी पनि बढाउने भनिएको भाडा भने हामी तिर्दैनौं,’ उनले भने, ‘बहालदर कार्यान्वयन गर्ने निर्णय स्वीकार नगरेर हामी सर्वाेच्च अदालत पुगेका हौं ।’ २०७५ सालदेखि हालसम्म ४५ ओटा उद्योग औद्योगिक क्षेत्रबाट गइसकेको उनको भनाइ छ । त्यस्ता उद्योगबाट बक्यौता उठाउन सक्ने कि नसक्ने भन्दै उनले थपे, ‘औद्योगिक क्षेत्रमा बसेर जसले भाडा तिरिरहेको छ, उद्योग चलाएको छ, त्यसलाई मात्रै कारबाही गर्ने नीति हुनुभएन ।’
‘कम्पनीले आफ्नो ब्यालेन्स सीटमा उद्योगीबाट लिनुपर्ने रकम पनि देखाएको छैन र बिल पनि काटेको छैन, बक्यौता कसरी लिने हो ?’ पाठकले प्रश्न गरे । १० ओटा औद्योगिक क्षेत्र बालाजु, पाटन, भक्तपुर, हेटौंडा, धरान, नेपालगञ्ज, पोखरा, बुटवल, वीरेन्द्रनगर र राजविराजमा १० ओटै औद्योगिक संघ छन् । ती संघको पनि छाता संघ नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ हो । कम्पनीले तोकेको बहालदर खारेज गर्न माग गर्दै औद्योगिक क्षेत्रभित्रका उद्योगी व्यवसायीले २०८० असार ३१ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले २०८० फागुन ६ गते उक्त मुद्दा खारेज गरेर २०७५ साउन १ गते कायम भएको बहालदर कार्यान्वयन गर्ने आदेश दिएको थियो ।