काठमाडौं । खनिजजन्य पदार्थ अवैध उत्खनन् र विक्री वितरण गरेको आरोपमा व्यवसायी पशुपति मुरारकासहित ५ जनाविरुद्ध पाल्पा जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, पाल्पाले दायर गरेको अभियोगमा सिद्धार्थ मिनरल्स प्रा. लि. का सञ्चालकहरू मुरारका सहित मनोज कुमार केडिया, राजेश कुमार अग्रवाल, जगदीश कुमार अग्रवाल र विनोद कुमार श्रेष्ठले वन ऐन २०७६ को दफा ४९ को दफा (ग) र (च) बमोजिमको कसूर गरेको उल्लेख छ । गत कात्तिक २९ मा दायर भएको उक्त अभियोगमा भोगाधिकार प्राप्त क्षेत्रभन्दा बाहिरको जग्गामा उत्खनन् गरेको आरोप छ ।
'सिद्धार्थ मिनरल्स प्रा. लि. समेतले उत्खननको लागि प्राप्त भएको ५.०० हेक्टरभन्दा बाहिर गई राष्ट्रिय वनको थप ७.१२ हेक्टर जमिन अतिक्रमण गरी उक्त जग्गामा भएका रूख तिरुवाहरू हानी नोक्सानी गरी सोही जग्गाबाट खानी तथा खनिजजन्य पदार्थ उत्खनन् र विक्री वितरण गरेको स-प्रमाण पुष्टि भएको हुँदा सिद्धार्थ मिनरल्स प्रा. लि., सो कम्पनीका सञ्चालकहरू पशुपति मुरारका, मनोज कुमार केडिया, राजेश कुमार अग्रवाल, जगदिश कुमार अग्रवाल र विनोद कुमार श्रेष्ठले वन ऐन २०७६ को दफा ४९ को दफा (ग) र (च) बमोजिमको कसूर गरेको देखिन्छ,' अभियोगपत्रमा भनिएको छ ।
हालसम्म फरार रहेका मनोज कुमार केडिया, राजेश कुमार अग्रवाल, जगदिश कुमार अग्रवाल र विनोद कुमार श्रेष्ठ समेतको नाममा कानून बमोजिम पक्राउ पूर्जी जारी माग गरिएको छ । कसूरमा अरु कसैको संलग्नता रहेको भन्ने खुल्न आएमा सोही बखत थप निर्णय गरी कारवाही प्रक्रिया अगाडि बढाउनका लागि माग गरिएको छ ।