काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतवार विहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो ।
विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि १२ लाख ५८ हजार ४२१ जनाले १ करोड ४३ लाख ५१ हजार ८३० कित्ताको लागि आवेदन दिएका थिए । कुल आवेदकहरूमध्ये ६५ हजार ९२७ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।
मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट वितरण गरिएको हो । रितपूर्वक आवेदन दिएका ११ लाख ९२ हजार ४९४ जनालाई बाँडफाँटमा सहभागी गराई भाग्यमानी ५१ हजार ५२२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्काशन गरेको थियो । कम्पनीले पहिलो चरणमा स्थानीयमा वितरण हुन नसकेको १ लाख ४ हजार कित्तासमेत जोडेर कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा वितरण गरेको हो । सर्वसाधारणमा वितरण गरिएको कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । यीबाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयर भने सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।
यस कम्पनीले बाग्लुङ जिल्लामा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७४ असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ५ करोड ८९ लाखभन्दा बढी सञ्चित नोक्सानीमा छ ।
सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ९३ र प्रतिशेयर नेटवर्थ रू. ६४ दशमलव ९७ छ । गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. ४ करोड ७७ लाखभन्दा बढी सञ्चित नोक्सानीमा छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १९ र प्रतिशेयर नेटवर्थ रू. ७३ दशमलव ४५ छ ।