काठमाडौं । बाराही हाइड्रोपावर लिमिटेड (Barahi Hydropower Limited)ले शतप्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । वैशाख २१ गते दिउँसो ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने निर्णय समेत भएको छ । कम्पनीले गत मंसिर २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी पुस ३ गते बाँडफाँट गरेको थियो ।
कम्पनीले बाग्लुङमा १ दशमलव ५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ असार २४ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
हकप्रद विक्रीबाट संकलित रकम कम्पनीको ५१ प्रतिशत शेयर रहेको सिकोस खोला जलविद्युत आयोजना र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला क्यास्केड जलविद्युत आयोजना निर्माणका लागि प्रयोग गरिने जानकारी कम्पनीले दिएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी (Paidup Capital) रू. २५ करोड छ । हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्ता पूँजी रू. ५० करोड पुग्नेछ । प्रस्तावित हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगको पूर्वस्वीकृतिपछि नेपाल धितोपत्र बोर्ड (Sebon)बाट पनि अनुमति लिनुपर्नेछ ।