बैंकहरूले अत्यधिक मुनाफा कमाएको भनी केही व्यक्तिले आलोचना गरे पनि लगानीअनुरूप प्रतिफल कमै थियो । अर्थतन्त्र संकटमा पर्न थालेसँगै बैंकहरू समस्यामा पर्न थालेका छन् । बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूको नाफा गत आवको तुलनामा ४ दशलमव ६२ प्रतिशतले घटेको छ । बैंकिङ क्षेत्रमा गरेको लगानीले पर्याप्त प्रतिफल दिन नसकेपछि अहिले संस्थापक शेयरको विक्री निकै बढेको छ । अर्थतन्त्रमा आएको समस्याले बैंकिङ क्षेत्र प्रभावित भएको छ ।
चालू आर्थिक वर्षको पहिलो ६ महीनामा २० वाणिज्य बैंकहरूको खुद नाफा २७ अर्ब ४३ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २८ अर्ब ७६ करोड मुनाफा आर्जन गरेका थिए । यसरी बैंकहरूको मुनाफामा कमी आउनुमा ब्याज आयमा कमी आएको, खराब कर्जा बढ्दै गएको र खराब कर्जाबापतको नोक्सानी व्यवस्था बढेको आदि कारण रहेका छन् । बैंकिङ क्षेत्र भनेको सर्वसाधारणबाट निक्षेप जम्मा गरी त्यसलाई परिचालन गरेर मुनाफा आर्जन गर्ने संस्था हुन् ।
अर्थतन्त्रमा लगानी जुटाउने माध्यम बनेका बैंकहरूमा लगानी गर्नेहरू अहिले अत्तालिएको अवस्था छ । लगानी गरेपछि त्यसबाट प्रतिफल खोज्नु अन्यथा होइन, तर त्यो प्रतिफल घट्दा नेपालको शेयरबजारसमेत प्रभावित भएको छ । बैंकहरू यस्तो अवस्था पुग्नुमा बैंकको आफ्नै केही कमजोरी होलान् तर समग्र अर्थतन्त्रको समस्याको यो प्रतिबिम्ब हो । अहिले बैंकहरूको ठूलो समस्या कर्जा लगानी उठ्न नसक्नु नै हो । कर्जाको भाका नाघेपछि त्यस्तो कर्जाका लागि प्रोभिजनिङ गर्नुपर्ने हुन्छ । बैंकले कमाएको पैसा प्रोभिजनिङ गर्नुपर्दा तिनको मुनाफा घटेको हो । दोस्रो त्रैमाससम्ममा बैंकहरूले २४ अर्ब ६७ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनु परेको देखिन्छ ।
निष्क्रिय कर्जा बढेको मात्र होइन, बैंकहरूको लगानीमा पनि संकुचन आइरहेको छ । बजारमा कर्जाको माग नहुँदा ब्याजदर घटिरहेको छ । ब्याजदर घटाउँदा पनि कर्जा विस्तार हुन सकेको छैन । कर्जा विस्तार रोकिनुको अर्थ अर्थतन्त्र विस्तार हुन नसक्नु हो । अहिले बैंकहरूमा अधिक तरलताको समस्या छ । त्यसलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गरिरहेको छ । यी क्रियाकलापले अर्थतन्त्र विस्तार गर्न सक्दैन र बैंकहरूको मुनाफा प्रभावित हुन्छ । यद्यपि सरकारले सस्तो ब्याजदरमा आन्तरिक ऋण उठाउन पाएको छ ।
बैंकिङ क्षेत्रमा आएको समस्यालाई ढाकछोप गर्न नियामकले सहजीकरण गरेको आरोप लागेको छ । वास्तविक खराब कर्जा अहिले सार्वजनिक भएभन्दा निकै ठूलो परिमाणमा छ भन्ने केही बैंकरहरूको भनाइ सार्वजनिक भइरहेको छ । नियामकीय खुकुलोपनका कारण कमजोरी लुकाउँदा भोलि एकपछि अर्को गर्दै बैंक समस्यामा पर्न थाले भने राष्ट्र बैंकले पनि व्यवस्थापन सम्हाल्न नसक्ने अवस्था नआउला भन्न सकिन्न ।
कर्णाली डेभलपमेन्ट बैंकले आफ्नो वित्तीय विवरणमा देखाएको खराब कर्जाभन्दा कयौं गुणा बढी कर्जा जोखिममा रहेको देखिएपछि यस विकास बैंकको व्यवस्थापन राष्ट्र बैंकले जिम्मामा लिएको छ । अर्थतन्त्रमा समस्या आउनुअघि बैंकिङ क्षेत्रमा समस्या आउने भएकाले भोलिका दिनमा आर्थिक संकट अझै भयावह नहोला भन्न सकिँदैन । यद्यपि नेपालका बैंकहरूले धितोमा मात्रै कर्जा प्रवाह गर्ने गरेकाले बैंकहरू सुरक्षित नै मानिन्छन् । तैपनि कर्जा हरितीकरण गरेर बैंकको समस्या टालटुल गरिएकाले त्यो अहिले सतहमा आउन थालेको हो भन्ने देखिन्छ । बैंकले मुनाफा कमाउन नसक्दा बैंकिङ क्षेत्र चल्दैन । यस्तो अवस्था आयो भने अर्थतन्त्र संकटको भुमरीमा फस्न सक्छ ।
सुस्त अर्थतन्त्रलाई गति दिन सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक छ । त्यस्तै सरकारले विकास निर्माणका कामलाई तीव्रता दिए पनि त्यसले कर्जाको माग बढाउँछ र बैंकिङ समस्यालाई सम्बोधन गर्न सक्छ । त्यसतर्फ ध्यान लानु आवश्यक छ ।