कृषि प्रधान देश नेपालमा हरियो तरकारीको निर्यात हुनु स्वाभाविक मान्न सकिन्छ । तर, यसविपरीत निर्यातको तुलनामा निकै ठूलो परिमाण तथा मूल्यमा आयात विगत केही वर्षदेखि नै भइरहेको कुरा तथ्यांकले देखाएको छ । यस लेखमा विदेशबाट हुने गरेको हरियो तरकारीको आयात तथा निर्यातको विगत ५ वर्षको अवस्थालाई भन्सार विभागबाट प्रकाशित वैदेशिक व्यापार तथ्यांकका आधारमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
ताजा वा चिसो पारेको आलु, (जसमा बीउ र अन्य प्रकार दुवै समावेश छ), ताजा वा चिसो पारेको गोलभेडा, ताजा वा चिसो पारेको प्याज, शालौट, लसुन, छ्यापी वा यस्तै जातिका अन्य वनस्पतिहरू, ताजा वा चिसो पारेको बन्दाकोबी (क्याबेज), काउली, ग्याँठकोबी र खान हुने काउली जातिका अन्य सागपात, ताजा र चिसो लेट्युस (जिरीको साग) र चिकोरी, चिकोरी (कास्नी) ताजा वा चिसो पारेको गाजर, सलगम, सलादका लागि चुकन्दरको जरा, साल्सिफाई, सेलेरियाक (सेलगम जस्तो जरा भएको साग), मूला र यस्तै खान हुने जराहरू, ताजा वा चिसो पारेको काँक्राहरू, ताजा वा चिसो पारेको कोसे तरकारीहरू (छोडाएको वा नछोडाएको जसमा केराउ बोडी र सिमीसमेत पर्छ) तथा अन्य कोसे तरकारी, कुरिलो, भान्टा, ऐगारिकस जातिको च्याउ तथा अन्य च्याउहरू, खुर्सानी जातका फलफूलहरू, पालुङ्गो, (न्यूजील्यान्ड पालुङ्गो समेत), ग्लोब आर्टिचोकहरू जैतुनहरू, फर्सी, कुभिन्डो र लौकाहरू (क्युकरबिटा जातहरू), अन्य हरियो तरकारीहरूको आयात हुने गरेको छ ।
आयाततर्फ
आर्थिक वर्ष २०७६/७७ मा रू. १० अर्ब ७९ करोड मूल्यको हरियो तरकारी आयात भएको थियो । त्यसपछिका वर्षहरूमा अपवादमा आर्थिक वर्ष २०८०/८१ मा केही ह्रासबाहेक प्रत्येक वर्ष आयातमा क्रमश: वृद्धि हुँदै आएको र चालू आव २०८१।८२ को प्रथम ८ महीनामा मा रू. १५ अर्ब ९२ करोड मूल्यको आयात भएको छ जुन गत वर्षभरको आयातभन्दा अधिक हो ।
प्रमुख रूपमा आयात हुने हरियो तरकारीमा विगतदेखि नै करीब करीब उस्तै प्रकारको प्रवृत्ति रहेको देखिन्छ । यसमा ताजा वा चिसो पारेको आलु (बीउ र अन्य प्रकार दुवै), ताजा वा चिसो पारेको प्याज, शालौट, लसुन, छ्यापी वा यस्तै जातिका अन्य वनस्पतिहरू, ताजा वा चिसो पारेको गोलभेडा, ताजा वा चिसो पारेको कोसे तरकारीहरू (छोडाएको वा नछोडाएको) जसमा केराउ बोडी (सिमीसमेत) तथा अन्य कोसे तरकारी, खुर्सानी जातका फलफूलहरू, ताजा वा चिसो पारेको बन्दाकोबी (क्याबेज), काउली, ग्याँठकोबी किसिमको कोबी र खान हुने काउली जातिका अन्य सागपात आदि रहेका छन् । तर जेजति प्रकार रहे तापनि तीन वा चार प्रकारका नियमित आयात हुने तरकारीले नै आयातको अधिकांश अंश ओगटेका छन् ।
चालू आव २०८१/८२ को प्रथम ८ महीनामा भएको हरियो तरकारीको कुल आयात रू. १५ अर्ब ९२ करोड मध्ये प्रमुख रूपमा आयात भएका तरकारीहरूमा लसुन (६ अर्ब ३३ करोडको), आलु–बीउबाहेकको (६ अर्ब ३३ करोडको), प्याज र छ्यापी (५ अर्ब ७३ करोडको), ताजा र चिसो पारेको गोलभेडा (२ अर्ब ६३ करोडको), खुर्सानी जातको फल (४८ करोडको), ताजा वा चिसो पारेका काँक्राहरू (४३ करोडको) रहेका छन् । यी तरकारीले मात्र कुल हरियो तरकारी आयातको करीब ९९ प्रतिशत अंश ओगटेका छन् । देशगत रूपमा आयात हेर्दा चालू आवको प्रथम ८ महीनामा हरियो तरकारी आयातको करीब ६० प्रतिशत अंश भारतबाट भएको छ भने करीब ४० प्रतिशत अंश चीनबाट भएको छ । हरियो तरकारीको आयातमध्ये चीनबाट भएको आयातको करीब सम्पूर्ण अंश लसुनको रहेको छ भने अन्य हरियो तरकारी सबैजसो भारतबाट आयात भएको देखिन्छ । तेस्रो देशबाट हुने आयात नगण्य देखिन्छ ।
निर्याततर्फ
आव २०७६/७७ मा रू. ९ करोड मूल्यको हरियो तरकारी निर्यात भएको थियो । आव २०७९/८० सम्म वृद्धि हुँदै गई करीब रू. २० करोडको निर्यात भएको देखिन्छ । गत आव २०८०/८१ आवमा केही कम तर करीब रू. २० करोड मूल्यको निर्यात भयो । यस वर्षको प्रथम ८ महीनामा भने साढे १३ करोडभन्दा बढी मूल्यको हरियो तरकारी निर्यात भएको छ । चालू आव २०८१/८२ को प्रथम ८ महीनामा प्रमुख रूपमा निर्यात भएका हरियो तरकारीमा ताजा वा चिसो पारेको सेतो तथा रातो बन्दा, कोहलराबी, काली (करीब ११ करोडको), कुरिलो (करीब ५१ लाखको), एगारिकस जातिको च्याउ (करीब ३८ लाखको), ताजा वा चिसो पारेको गोलभेडा (करीब ३४ लाखको), फर्सी कुभिन्डो र लौकाहरू (करीब १२ लाखको) आदि रहेका छन् ।
देशगत रूपमा निर्यात हेर्दा चालू आवको प्रथम ८ महीनामा भएको हरियो तरकारी निर्यातमध्ये सेतो र रातो बन्दा, कोहलराबी, काली (ताजा वा चिसो पारिएको), ताजा र चिसो पारेको गोलभेडाका साथै फर्सी, कुभिन्डो र लौकाको निर्यात भारतमा भएको छ । कुरिलोको निर्यात कतार, संयुक्त अरब इमिरेट्स र संयुक्त अधिराज्यतर्फ भएको छ । ऐगारिकस जातिको च्याउ (मसरूम) भियतनाम, चीन र हङकङमा निर्यात भएको छ । फर्सी, कुभिन्डो र लौकाहरू संयुक्त अधिराज्यतर्फ निर्यात भएको छ । हरियो तरकारीको कुल निर्यातमध्ये करीब ८९ प्रतिशत अंश भारततर्फ भएको छ । बाँकी अंशको करीब सबैजसो भाग माथि उल्लिखित देशहरूमा निर्यात भएको छ ।
लेखक तथ्यांक शास्त्री एवं भन्सार विभागका पूर्वकर्मचारी हुन् ।