कात्तिक १८, काठमाडौं । नेपालको तीनदिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीको दोस्रो दिन पनि अत्यन्त व्यस्ततामा बितेको छ । बिहीवार मुखर्जीले पशुपतिनाथको दर्शन गरे । साथै काठमाडौं विश्वविद्यालयबाट प्रदान गरिएको मानार्थ महाविद्यावारिधि ग्रहण गर्नुका साथै काठमाडौं महानगरपालिकाबाट गरिएको नागरिक अभिनन्दन पनि ग्रहण गरे । भारतीय राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहबीच प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गरेका थिए ।
काठमाडौं विश्वविद्यालयद्वारा आर्मी अफिसर्स क्लबमा आयोजित सो विशेष दीक्षान्त समारोहमा शिक्षामन्त्री एवम् विश्वविद्यालयका सहकुलपति धनीराम पौडेल, विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजु श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो । समारोहमा मन्त्रिगण, नेपालका लागि भारतका राजदूत रणजित राय, राष्ट्रपति मुखर्जीका भ्रमणमा रहेका सदस्यसमेत विशेष कार्यक्रममा सहभागी थिए ।
दीक्षान्त ग्रहण भाषण गर्दै राष्ट्रपति मुखर्जीले विश्वविद्यालयका विद्यार्थीलाई भविष्यका आशा र नेताका रूपमा सम्बोधन गरे । उनले विद्यार्थीलाई नवीन खोज र शिक्षा आर्जनबाट सार्वजनिक जीवनमा सार्थक योगदान दिन आह्वान पनि गरे । उनले सम्मानबाट आफूलाई मानवसेवामा थप समर्पित हुन प्रेरणा मिलेको बताए । मुखर्जीले भने, ‘नवीन खोजबाट नै विश्वमा औद्योगिक विकासको युग प्रारम्भ भएको हो ।
मैले काठमाडौं विश्वविद्यालयका विद्यार्थीबाट पनि त्यो काम हुने विश्वास लिएको छु । मलाई सम्मान दिएर ममाथि गरिएको मानव सेवाको अपेक्षा पनि पूरा गर्ने सङ्कल्प गर्छु ।’
विशेष दीक्षान्तलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एशियाकै एक उच्च नेताका रूपमा चित्रण गरे । उनले भारतलाई विकासको पथमा अग्रसर गराउन मुखर्जीले निर्वाह गरेको भूमिकाको सराहना पनि गरे । प्रम दाहालले उच्च राजनीतिक छवि बोकेका मुखर्जीको राजनीतिक व्यक्तित्व र विचार अर्थपूर्ण जीवनका लागि प्रेरक हुने बताए । प्रमले भने, ‘नेपाल–भारतबीचको सम्बन्धमा सांस्कृतिक, धार्मिक र सामाजिक समानता पाइनुका साथै मौलिकतायुक्त पनि छ । राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा थप व्यापकता आएको छ ।’ पत्रकार, बैङ्कर, अर्थशास्त्री, कुशल राजनीतिज्ञ हुँदै उच्चतम ओहोदामा पुगेका मुखर्जीलाई बधाई दिँदै प्रम दाहालले मुखर्जीको राष्ट्रपतीय कालमा भारतले ‘सफल स्टेटम्यानसिप’ पाइरहने विश्वास व्यक्त गरे ।
भारतीय राष्ट्रपति मुखर्जीले यसअघि सन् २०१३ मा बङ्गलादेशको ढाका विश्वविद्यालय, सन् २०१४ मा भारतको कोलकाता विश्वविद्यालय, सन् २०१५ मा रसियन डिप्लोम्याटिक एकेडेमी, सन् २०१५ मा ब्रसेल्स स्टेट युनिभर्सिटी, सन् २०१५ मा जोर्डन विश्वविद्यालय र सोही वर्ष इजरायलको हेब्रु विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि प्राप्त गरिसकेका छन् । विसं २०४८ मा निजीक्षेत्रको पहिलो विश्वविद्यालयका रूपमा काठमाडौं विश्वविद्यालयको स्थापना भएको हो ।
भारतीय राष्ट्रपतिलाई काठमाडौं महानगरपालिकाद्वारा बिहीवार नै राष्ट्रिय सभागृहमा आयोजित एक विशेष कार्यक्रमबीच नागरिक अभिनन्दन गरियो ।
महानगरपालिका प्रमुख रुद्रसिंह तामाङले महानगरको साँचो राष्ट्रपति मुखर्जीलाई हस्तान्तरण गरे । मुखर्जीलाई अभिनन्दन पत्र, काठको कलात्मक झ्याल र मञ्जुश्रीको मूर्ति प्रदान गरिएको थियो ।
भारतका राष्ट्रपतिले पशुपति क्षेत्रका घाटको पुनर्निर्माणमा सहयोग गर्ने चाहना व्यक्त गरेका छन् ।
पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेक र सवा लाख दीप प्रज्वलनसहितको विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषको आगन्तुक पुस्तिकामा उनले लेखेका छन्, ‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका जनताका लागि समान श्रद्धाको केन्द्र हो ।’ मुखर्जी बिहीवार बिहान पशुपतिनाथको दर्शनार्थ पुगेका थिए ।
‘पशुपतिनाथ मन्दिर सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्वको स्थान हो,’ आगन्तुक पुस्तिकामा उनले लेखेका छन् । ‘नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला परियोजनाको स्थापनामा सहयोग गर्न पाउँदा भारत सरकारलाई खुशी लागेको छ, यो योजनाको अहिले कार्यान्वयन भइरहेको छ,’ उनको मन्तव्यमा लेखेका छन् । ७ वर्षअघि आएका बेलामा भन्दा अहिले बागमती नदी सफा भएकोमा राष्ट्रपति मुखर्जीले खुशी व्यक्त गरे । कोषका तर्फबाट राष्ट्रपति मुखर्जीलाई काठले बनेको नृत्यनाथ, नटराज एवम् अन्य देवीदेवताका तीन फिट अग्लो मन्दिर उपहारस्वरूप प्रदान गरिएको थियो ।