चितवन। भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेज (सिएमसी)बीच भरतपुरवासीको स्वास्थ्य उपचारमा छूट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडल र कलेजका निर्देशक प्रताप देवकोटाले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । भरतपुर महानगरवासीले अस्पतालमा उपचार गर्दा होल बडी चेकअपमा ५० प्रतिशत, औषधि खरीदमा ७ प्रतिशत र अन्य उपचारमा ३० प्रतिशत छूटको व्यवस्था गरिएको सम्झौतापत्रमा उल्लेख छ ।
सम्झौता हरेक वर्ष नवीकरण गर्न सकिने उल्लेख छ । यस्तै नगर प्रमुखको सिफारिसमा सिएमसी क्यान्सर इन्ष्टिच्युटमा विद्यार्थीलाई १० प्रतिशत छूटको व्यवस्था गरिएको छ । सम्झौतापछि नगर प्रमुख रेनु दाहालले नगरवासीलाई विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमा छूटसहितको सम्झौता गरिएको बताइन् । प्रमुख दाहालले यसअघि अस्पतालमा हुने उपचारमा छूटका लागि धेरै सिफारिस आउने गरेको भन्दै सम्झौतासँगै सिधै छूट उपलब्ध भएसँगै बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गरिन् ।