चितवन। चितवन प्रदर्शनी केन्द्रमा आज (बुधवार)देखि ‘काडा अटो शो २०८१’ हुँदै छ । चितवन उद्योग संघले आयोजना गर्न लागेको पर्व मेलाअन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसिएसनको सहकार्यमा ‘काडा अटो शो’ आयोजना गरिएको हो ।
दशैंलाई लक्षित गरी आयोजना गरिएको उक्त मेला असोज १९ गतेसम्म सञ्चालन हुनेछ । २० भन्दा बढी ब्राण्डका गाडी प्रदर्शनीमा राखिने चितवन अटोमोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष राजन पियाले जानकारी दिए । उनका अनुसार मेलामा गाडी तथा मोटरसाइकल पनि प्रदर्शनीमा राखिनेछ । यसमध्ये करीब ८० प्रतिशत विद्युतीय सवारीसाधन रहने पियाले बताए । प्रदर्शनी कक्षभित्र २१ ओटा स्टल रहनेछन् । यसभित्र कार, जीप, मोटरसाइकल र स्कुटरका स्टल रहनेछन् । जीप र माइक्रो बसका थप पाँचओटा स्टल प्रदर्शनी हल बाहिर चौरमा राखिने उनले बताए ।
मेलामा करीब सयओटा सवारीसाधनको बुकिङ र विक्रीबाट ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । ९ बजेदेखि शुरू हुने मेला ६ बजेसम्म सञ्चालन हुनेछ । मेला ४० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । गाडी किन्ने ग्राहकलाई आकर्षक छूटको व्यवस्था समेत गरिएको बताइएको छ ।