काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्सेमा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । अघिल्लो कारोबार दिनभन्दा यो दिन कारोबार रकम बढेको हो । अघिल्लो कारोबार दिन नेप्सेमा ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको थियो ।
कुल कारोबारमा सर्वाधिक हिस्सा भने यो दिन राधी विद्युत कम्पनीले ओगटेको छ । राधीको बिहीवार ३५ करोड ९४ लाख ७१ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता १९ रुपैयाँ ४० पैसाले बढेर अन्तिम मूल्य ४७० रुपैयाँ १० पैसा कायम भएको छ ।
बिहीवार नेप्से परिसूचक भने ५ दशमलव ५७ अंक तल झरेको छ । यो दिन २ हजार ६८७ दशमलव ९२ विन्दुमा पुगेको नेप्से २ हजार ६६७ विन्दुसम्म झरेको थियो । अन्तिममा २ हजार ६७० दशमलव ७० विन्दुमा नेप्से बन्द भएको हो ।
आज नेप्सेमा ‘डोजी’ आकारको मैनबत्ती आकृति बनेको छ । यसले घट्दो बजारको दिशा परिवर्तनको संकेत गरेको जानकार बताउँछन् । त्यसो त बुधवार पनि नेप्सेमा यस्तै आकारको मैनबत्ती आकृति बनेको थियो । अर्थात् पछिल्ला दुई दिनमा बजारमा यही प्रवृत्ति देखिएको छ ।
यो प्रवृत्ति निरन्तर देखिँदा आगामी दिनमा बजार बढ्ने सम्भावना बलियो बनेको जानकार बताउँछन् ।
यस दिन ११४ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १३१ कम्पनीको घटेको छ । एक कम्पनी आशा लघुवित्तको शेयरमूल्य भने यो दिन स्थिर रहेको जानकारी नेप्सेले दिएको छ ।
घटेको बजारमा दुई लघुबीमा कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो इन्स्योरेन्सको शेयर मूल्य यो दिन समान ९ दशमलव ९८ प्रतिशत बढेको हो । नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य यो दिन प्रतिकित्ता ३६ रुपैयाँ ५० पैसाले बढेर अन्तिम मूल्य ४०२ रुपैयाँ २० पैसा कायम भएको हो ।
त्यस्तै पहिलो कारोबार दिन क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ २० पैसाले बढेर अन्तिम मूल्य ३३२ रुपैयाँ ७० पैसा कायम भएको हो । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०२ रुपैयाँ ५० पैसामा भएको थियो ।
बजार घट्दा नेप्सेको सूचीकृत कम्पनीहरूको धितोपत्र मूल्यमा समेत कमी आएको छ । अघिल्लो कारोबार दिन ४४ खर्ब ४६ अर्ब ५१ करोड १९ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण बिहीवार ६ अर्ब ७७ करोड २१ लाख रुपैयाँभन्दा बढीले घटेर ४४ खर्ब ३९ अर्ब ७३ करोड ९७ लाख रुपैयाँ कायम भएको हो ।
बिहीवारको बजारलाई पनि ब्रोकरहरूले चैत मसान्तको दबाबका रूपमा लिएका छन् । सुनको मूल्यमा आएको उतारचढाबका कारण पनि लगानीकर्ताको अन्योलता बजारप्रति बढेको ब्रोकरहरुको विश्लेषण छ ।
सुनको मूल्य घट्ने हल्लाले बजारका लगानीकर्ता सुन बेचेर बजारमा लगानी गर्ने तयारीमा रहेको अवस्थामा एकाएक सुनको मूल्यमा आएको उच्च वृद्धिले लगानीकर्ताको मनोबल कमजोर भएको बुझाई ब्रोकरहरूको छ । साथै निकै समयदेखि घट्दो क्रममा रहेको वित्तीय प्रणालीको ब्याजदर आगामी दिनमा के होला भन्ने अन्योलता पनि लगानीकर्तामा देखिएको भनाई ब्रोकरहरूको छ ।
बिहीवारको कारोबारमा विकास बैंकको परिसूचक शून्य दशमलव शून्य ३ प्रतिशत, जलविद्युतको शून्य दशमलव शून्य ९ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १५ प्रतिशत बढ्दा बाँकी समूहको घटेको छ । यो दिन बैंकिङको शून्य दशमलव शून्य ९ प्रतिशत, वित्तको शून्य दशमलव ४९ प्रतिशत, होटल तथा पर्यंटनको शून्य दशमलव ४१ प्रतिशत, लगानीको शून्य दशमलव २९ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ३२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८७ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २० प्रतिशत, अन्यको शून्य दशमलव ९० प्रतिशत र व्यापारिकको शून्य दशमलव ११ प्रतिशत परिसूचक घटेको छ ।