काठमाडौं । गरीब तथा विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउने उपायको खोजीमा सरोकारवालाहरू जुटेका छन् । तल्लो वर्गका सर्वसाधारणलाई बीमा सुरक्षा आवश्यक भए पनि अधिकांश पहुँचबाहिर छन् । उनीहरूलाई बीमाको पहुँचमा समेट्ने उपायको खोजी गर्ने उद्देश्यले काठमाडौंमा मंगलवारदेखि समावेशी बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (आईसीआईआई २०२४) शुरू भएको हो । सम्मेलनमा ४४ देशका २५० र नेपालबाट २५० गरी ५०० जनाको सहभागिता रहेको छ ।
चारदिने सम्मेलनअन्तर्गत ३५ ओटा प्यानलमा जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोध हटाउनेसम्बन्धी रणनीतिलगायत विषयमा सहभागीहरूबीच छलफल हुनेछ । सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिष्कृत गर्नेलगायत विषयमा विस्तृत छलफल हुने आयोजकले बताएको छ ।
मंगलवार आयोजित पत्रकार सम्मेलनमा आयोजकमध्ये एक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा योजनालाई बाध्यकारी बनाएर लागू गर्न सुझाव दिएको बताए । ‘बीमा गर्न सक्नेलाई बाध्यकारी बनाएर र नसक्नेलाई अनुदान दिएर बीमा गर्नुपर्छ भनेर सरकारलाई सुझाव दिएका छौं,’ उनले भने, ‘बाध्यकारी बनाए पनि फाइदा पाउने भनेको बीमितले नै हो ।’ सवारीसाधनमा तेस्रो पक्ष बीमा, वैदेशिक रोजगारीमा जानेको बीमा बाध्यकारी बनाइँदा यसको लाभ बीमितले नै पाइरहेका उनले बताए ।
प्राधिकरणले बीमाको पहुँच तल्लो वर्गसम्म पुर्याउन लघुबीमा नीति जारी गरेको अध्यक्ष सिलवालले बताए । लघुबीमा कम्पनीहरूले राम्रो काम गरिरहेको र अन्य कम्पनीले पनि अनिवार्य लघुबीमा गर्नुपर्ने निर्देशन कार्यान्वयन नगरे कारबाही गर्ने उनले संकेत गरे । यसैगरी सरकारी संरचना निर्माणको क्रममा बीमा हुने भए पनि निर्माण सम्पन्नपछि बीमा नगर्दा क्षतिको परिपूर्ति सरकारले वैदेशिक ऋण तथा अनुदान लिएर गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा म्युनिख री फाउन्डेशनका उपाध्यक्ष डिर्क रेनहार्डले न्यून आय भएका जनतामा बीमाबारे सचेतना जगाउन आवश्यक भएको बताए । यसैगरी माइक्रो इन्स्योरेन्स नेटवर्कका अध्यक्ष लोरेन्जो ओ चानले तल्लो वर्गसम्म पुगेका लघुवित्त संस्था, रेमिट्यान्स कम्पनीलगायतको सहारा लिएर बीमाको पहुँच विस्तार गर्न सकिने बताए ।
नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले कृषिबीमाका कारण नेपालमा बीमाको पहुँच तल्लो वर्गसम्म पुग्न सफल भएको उदाहरण प्रस्तुत गरे । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौड्यालले बीमाको पहुँच बढाउन सम्मेलनले दिशानिर्देश गर्ने बताए ।
नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रो इन्स्योरेन्स एशोसिएशनले म्युनिख री फाउन्डेशन तथा माइक्रो इन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलन आयोजना गरेका हुन् । सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले आम जनताको पहुँचमा बीमालाई पुर्याउन सम्मेलनले वातावरण तय गर्ने विश्वास व्यक्त गरे । प्राकृतिक विपत्तिमा बीमाले विशेष महत्त्व दर्शाएको उल्लेख गर्दै उनले आर्थिक रूपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्यूनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।