काठमाडौं । गत असोज दोस्रो साता अविरल वर्षापछि आएको बाढीपहिरोले कृषिक्षेत्रमा पारेका क्षतिको कारण यो क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा असर पर्ने सरोकारवालाहरूले बताएका छन् ।
सरकारले कृषिक्षेत्रमा मात्र ६ अर्ब रूपैयाँ बराबर क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । अन्य क्षेत्रमा भएको क्षतिको तुलनामा कृषिमा भएको क्षति बढी हो । सरकारले जम्मा १७ अर्ब रूपैयाँ बराबरको क्षतिको अनुमान गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार संरचनागत क्षतिबाहेक सबैभन्दा ठूलो क्षति धानबालीमा भएको छ । फलस्वरूप यस वर्षको धान उत्पादन प्रभावित हुने सरकारी अधिकारीहरूले बताएका छन् । राम्रो वर्षाको कारण धानखेती बढेकाले यस वर्ष उत्पादन बढ्ने अपेक्षा गरिएको थियो । तर, असोज दोस्रो हप्ताको बाढीले आशाअनुसार उत्पादन नहुने निश्चित भएको सरकारी अधिकारीहरूले बताए । कृषिक्षेत्रको जीडीपीमा धानको योगदान सबैभन्दा बढी छ ।
मन्त्रालयका अनुसार अन्नभण्डार मानिएको तराईका सहित करीब १८ जिल्लाको ५८ हजार ४७६ हेक्टर क्षेत्रफलको धानबाली पूर्णरूपमा नष्ट हुँदा करीब ३ अर्ब ५० करोड रुपैयाँ बराबर क्षति भएको छ । यसले गर्दा धान उत्पादन सोचेअनुसार नहुने अनुमान गरिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईंले बताए । बाढीपहिरोका कारण धान उत्पादन धेरै हुने तराईका जिल्लाहरू सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, झापा र कैलालीलगायतमा धानबाली नष्ट भएका कारण उत्पादनमा असर पर्न सक्ने देखिएको उनले बताए ।
‘यस वर्ष धानबालीका लागि पानी, मल र बीउको उपलब्धता राम्रो भएकाले धानखेती हुने क्षेत्रफलको ९८ दशमलव ४ प्रतिशतमा रोपाइँ भएको थियो । रोपाइँ बढेकाले उत्पादन समेत बढ्ने अपेक्षा गरिएको थियो । तर, बाढीपहिरोका कारण उत्पादनमा असर पर्ने अनुमान गरिएको छ,’ उनले आर्थिक अभियानसँग भने ।
मन्त्रालयका अनुसार मुलुकभर १३ लाख ९८ हजार ९८५ दशमलव ७३ हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये १३ लाख ७७ हजार २१६ दशमलव ५ हेक्टरमा रोपाइँ भएको थियो । रोपाइँ भएको क्षेत्रफल गतवर्षको तुलनामा ६ प्रतिशत बिन्दुले बढी हो । अघिल्लो वर्ष ९२ दशमलव ४ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो ।
मन्त्रालयको तथ्यांकअनुसार बाढीपहिरोकै कारण १ हजार ३ सय हेक्टर अलैंची नष्ट भई ७० करोड रुपैयाँ बराबरको क्षति भएको छ । ३४ करोड रुपैयाँ बराबरको ८५ हेक्टर क्षेत्रफलमा लगाइएको उखुबालीमा क्षति पुगेको छ ।
धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साका ४५८ हेक्टर माछापोखरीमा १ अर्ब १३ करोड रुपैयाँ बराबर क्षति भएको छ । पाँचथर, धनकुटा, तेह्रथुममा २४ पशु गोठमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ । बाढीपहिरोमा परी २६ हजार २०५ पशुपन्छी मरेका छन् । कास्की, नवलपरासी पूर्व, कञ्चनपुरर र रौतहट जिल्लाको २२ हेक्टर फलफूल बगैंचामा क्षति भएको छ ।
खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिराहा, धनुषा, बारा, पर्साको ४ हजार ७४३ हेक्टर तरकारी बाली नष्ट भएको मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी पनि बाढीपहिरोले पुर्याएको क्षतिका कारण धान उत्पादनमा असर पर्ने अनुमान गरिएको बताउँछन् । ‘बाढीले गर्दा हजारौं हेक्टर जमीनमा लगाइएको धानबाली नष्ट भएकाले केही असर अवश्य पर्न सक्ने देखिन्छ । तर, के कति असर पर्छ भन्ने कुरा त उत्पादनको तथ्यांक आएपछि मात्रै थाहा होला,’ उनी भन्छन्, ‘त्यत्ति ठूलो असर परिहाल्छ भन्ने जस्तो पनि देखिँदैन । तर, जुन हिसाबले उत्पादन बढ्न सक्ने अपेक्षा गरिएको थियो, अब त्यो अपेक्षा भने छैन ।’
आर्थिक वर्ष २०८०/८१ मा धान उत्पादन ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई कुल उत्पादन ५७ लाख २४ हजार २३४ मेट्रिक टन पुगेको थियो । यो अघिल्लो ४ वर्षको औसत उत्पादनको तुलनामा ५ दशमलव शून्य ८ प्रतिशतले बढी हो । धानबालीको औसत उत्पादकत्व अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलव ९७ प्रतिशतले बढेर ३ दशमलव ९८ प्रतिशत पुगेको थियो । जुन गत ४ वर्षको औसत उत्पादकत्वभन्दा ६ दशमलव ९२ प्रतिशतले बढी हो । आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार नेपालको जीडीपीमा कृषिक्षेत्रको योगदान २४ प्रतिशत छ ।