काठमाडौं । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र व्यवसाय निरन्तरता व्यवस्थापनमा निजीक्षेत्रको योगदानको सम्मानका लागि एक बृहत् कार्यक्रम आयोजना गर्ने भएको छ ।
सो कार्यक्रममा बिपद् जोखिम न्यूनीकरण तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा उल्लेखनीय र प्रशंसायोग्य योगदान गरेका ८ व्यवसायलाई सम्मान गर्ने कार्यक्रम रहेको एनबीआईले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । व्यवसायहरूलाई बहुराष्ट्रिय, ठूला, मध्यम र साना गरी चार वर्गमा विभाजन गरेर प्रत्येक वर्गबाट दुई–दुई व्यवसायलाई सम्मान गरिने बताइएको छ ।
सम्मान कार्यक्रम आगामी जेठ २३ गते काठमाडौंमा गर्ने तय भएको एनबीआईका अध्यक्ष कुशकुमार जोशीले पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रमको उद्देश्य व्यावसायिक क्षेत्रलाई बिपद्को पूर्वतयारी, दिगो रूपमा व्यवसाय सञ्चालन तथा जोखिम न्यूनीकरणमा प्रोत्साहन गर्नु रहेको उनले बताए ।
‘समुदायलाई उत्थानशील बनाउनमा निजीक्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ,’ अध्यक्ष जोशीले भने, ‘त्यसैले यस कार्यक्रमले निजीक्षेत्रको पहल र प्रयासलाई सम्मान गरी निजीक्षेत्रको हौसला अभिवृद्धि गर्ने र यस क्षेत्रलाई जागरुक एवं थप क्रियाशील बनाउन टेवा पुग्ने विश्वास लिएका छौं ।’ उक्त कार्यक्रम सहभागीलाई बिपद् व्यवस्थापनमा थप सजग बनाई मुलुकभित्र र विभिन्न मुलुकमा यस सम्बन्धमा भएका सफल प्रयास, चुनौती र सिकाइ आदानप्रदान गर्न साझा मञ्चको रूपमा स्थापित हुने अपेक्षा रहेको पनि उनले बताए ।
दुई सत्रमा सञ्चालन हुने कार्यक्रमको पहिलो सत्रमा दुईओटा समूहगत छलफल हुने र त्यसमा उत्थानशील अर्थतन्त्र निर्माणमा बिपद् व्यवस्थापनको महत्त्व र बिपद् व्यवस्थापन तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा निजीक्षेत्रको बढ्दो भूमिकाबारे अन्तरक्रिया गरिने बताइएको छ । कार्यक्रममा उद्योग मन्त्रालय एवं सम्बन्धित निकायको सहभागिता रहने एनबीआईले जानकारी दिएको छ । सो क्रममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहभागी र विज्ञले सुझाव तथा सफलताको अनुभव आदानप्रदान गर्नेछन् ।
दोस्रो सत्रमा सम्मान कार्यक्रम रहनेछ । सम्मान गर्ने व्यवसाय छनोटका लागि एनबीआईले विज्ञ सम्मिलित निर्णायक समिति गठन गरेको छ । निर्णायक समितिमा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)का प्राडा विनोदकृष्ण श्रेष्ठ, नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा र बिपद्विज्ञ कृष्ण कार्की छन् ।
सम्पूर्ण देशभरिका उद्योग व्यवसायलाई सम्मान कार्यक्रममा सहभागी गराउन एनबीआईले पहल गरिरहेको र यसका लागि चाँडै मनोनयन फारम उपलब्ध गराइने अध्यक्ष जोशीले जानकारी दिए । कार्यक्रममा बिपद् पूर्वतयारी तथा व्यवस्थापन उत्थानशीलता तथा व्यवसाय निरन्तरता व्यवस्थापनमा इच्छुक र कार्यरत सरकारी निकायका प्रतिनिधि, निजीक्षेत्रका संघसंस्था एवं उद्यमी व्यवसायी, गैरसरकारी निकाय तथा सञ्चार क्षेत्रका करीब ३०० जनाको सहभागिता रहने बताइएको छ ।
पत्रकार सम्मेलनमा निर्णायक समितिका सदस्य प्राडा श्रेष्ठले बिपद्लाई सफलतापूर्वक सामना गरेका व्यवसायीको अनुभव अरुका लागि पनि पाठ हुने र विश्वविद्यालयका विद्यार्थीलाई समेत सिकाउन सकिने हुँदा एनबीआईको प्रयास प्रशंसनीय रहेको बताए । सृजनशील व्यवसायीले चुनौती सामना गर्ने उपाय निकाल्ने पनि उनले बताए । उनी भन्छन्, ‘अरु व्यवसायीलाई यसरी गर्नुपर्ने रहेछ भन्ने थाहा दिलाउन र उत्प्रेरणा जगाउन यो महत्त्वपूर्ण हुन्छ भन्ने ठानेका छौं ।’
निर्णायक समितिका अर्का सदस्य पूर्वरथी बालानन्द शर्माले नेपाल जस्तो भूकम्प, मनसुन लगायतको जोखिममा रहेको मुलुकमा त्यसको सामना गरेका व्यवसायीको अनुभव अरुका लागि निकै उपयोगी हुने बताए ।