काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार (आज) नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशत घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ७५० दशमलव ८७ विन्दुमा कायम भएको हो ।
आज 'इन्ट्रा-डे'मा नेप्से २७४७ विन्दुदेखि २७९५ विन्दुसम्मको बीचमा घुमेको थियो । पछिल्लो केही दिनयता बजार यही विन्दुमै छ ।
आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन रू. ८ अर्ब ५२ करोड बराबरको कारोबार भएकोमा आज रू. ९ अर्ब १३ करोड बराबरको कारोबार भएको हो ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ३१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३७ प्रतिशत घटेको छ ।
आज ३२० धितोपत्रको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर ९६ हजार ६७७ पटक कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये खानीखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३८९ दशमलव ९० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. ४५१ दशमलव ७० कायम भएको छ ।
बुधवार दुई धितोपत्रको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । सपोर्ट लघुवित्त वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले घटेसँगै नेगेटिभ सर्किट लागेको हो । सपोर्ट लघुवित्तको शेयर मूल्य रू. ३ हजार ११० दशमलव ४० र लाइफ इन्स्योरेन्स कर्पोरेशनको रू. १ हजार ४४० मा झरेको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा जोशी हाइड्रोपावरले ओगटेको छ । यस कम्पनीको रू. ३० करोड ३० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४५१ दशमलव ७० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट छ । कम्पनीको रू. २९ कारेड ५६ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
आन कारोबारमा आएका १३ समूहगत सूचकमध्ये तीन समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये जलविद्युत् समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ५९ प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको सूचक सबैभन्दा बढी ८ दशमलव ७२ प्रतिशत घटेको छ ।
व्यापार समूहमा रहेको विशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलव १७ प्रतिशत घटेपछि समूहगत सूचकमा असर परेको हो । यस कम्पनीको शेयर मूल्यमा केही दिनयता पोजेटिभ सर्किट लाग्दै आएको थियो ।