बङ्गलादेशको व्यापारिक समुदायद्वारा हडतालको विरोध
असार २२, ढाका (बङ्गलादेश) । बङ्गलादेशका विपक्षी दलहरूको आह्वानमा गरिएको आमहडतालका कारण त्यहाँको जनजीवन र व्यवसाय प्रभावित भएको छ । प्रमुख शहरका स्कूल, व्यापार व्यवसाय र यातायात बुधवार ठप्प भएका छन् । सरकारले चुनावमा धाँधली गर्ने उद्देश्यले संवैधानिक प्रावधान सच्याउन लागेको भन्दै विपक्षी दलले बन्द आह्वान गरेका हुन् ।
राजधानी ढाकामा हजारौं सुरक्षाकर्मी तैनाथ गरिएको गृह मन्त्रालयले बताएको छ । देशका कतिपय भागमा प्रदर्शनकारी र प्रहरीबीच भीडन्तसमेत भएका छन् । बुधवारको हडतालबाट चिटागङस्थित देशको प्रमुख बन्दरगाहको कार्यसञ्चालनमा पनि व्यवधान पुगेको छ । बङ्गलादेशको सम्पूर्ण कार्गोमध्ये झण्डै ८० प्रतिशत उक्त बन्दरगाहमार्फत सञ्चालन हुन्छ । व्यापारिक समुदायले हडतालको आलोचना गर्दै मतभिन्नतालाई वार्तामार्फत सुल्झाउन आग्रह गरेका छन् ।'यो हडताल किन ? किन यो अस्थिरता ? यसरी देश चल्न सक्दैन,’ फेडरेशन अफ बङ्गलादेश च्यार्म्बस अफ कमर्श एण्ड इण्डष्ट्रीका प्रेजिडेण्ट एके आजादले भने । एपी/रासस
एयर एशियाद्वारा ३ सयओटा एयरबस जेटको अर्डर
असार २२, क्वालालम्पुर (मलेशिया) । एयर एशियाले एयरबससँग थप १ सयओटा ए३२० नयाँ जेट खरीद गर्ने भएको छ । यसअघि नै उसले २ सयओटा त्यस्ता जेटको अर्डर दिइसकेको थियो । यसप्रकार, एकैपटक ३ सयओटा जेट विमानको अर्डर दिएपछि उक्त मलेशियाली विमानसेवा विश्वकै सबैभन्दा ठूला विमानसेवामध्ये एक हुनेछ ।हालै सम्पन्न भएको पेरिस एयर शोका बेला नै एयर एशिया र एयरबसबीच १८ अर्ब २० करोड डलरमा २ सयओटा विमानका लागि सम्झौता भएको थियो । पछिल्लो अर्डरपछि उक्त सम्झौताको सूचीकृत मूल्य २७ अर्ब डलर पुगेको छ ।
ठूलो मात्राको यस्तो अर्डर पाउनाले एयरबसले आफ्नो प्रतिस्पर्धी बोइङलाई उछिनिरहेको पुष्टि हुन्छ । त्यसैगरी, तेलको बढ्दो मूल्यका कारण हवाई उद्योगले समस्या सामना गरिरहेको बेला एयरएशियाले आक्रामक वृद्धि योजना ल्याएको छ । विश्लेषकका अनुसार, एशिया प्रशान्त क्षेत्रमा छोटो दूरीको हवाईयात्रा बजारमा भारतको इण्डिगो, सिङ्गापुरको टाइगर एयरवेज र अष्ट्रेलियाको जेटस्टारसँग प्रतिस्पर्धा गर्न एयर एशियाले आक्रामक बजार नीति लिएको देखिन्छ । एजेन्सी
लागार्दद्वारा उच्च अनुशासनको प्रतिबद्धता
असार २२, वाशिङटन (अमेरिका) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)की नवनियुक्त प्रमुख क्रिष्टिन लागार्दले आफ्ना पूर्ववर्तीहरूले भन्दा कडा नैतिक मान्यता पालना गर्ने वाचा गरेकी छन् । आईएमएफका पूर्व प्रमुख डोमिनिक स्ट्राउस काहनको विवाद र राजीनामापछि संस्थाको विश्वसनीयतामा प्रश्न उठिरहेको बेला लागार्दले त्यस्तो कडा आचारसंहिता बनाएकी हुन् । लागार्द कोषको मुख्य कार्यालय वाशिङटन आइपुग्दा उनले पालना गर्नुपर्ने नियम र शर्त सार्वजनिक गरिएको हो ।
कोषका प्रथम सहायक प्रबन्ध निर्देशक जन लिप्स्की, सदस्य देशको बोर्ड प्रमुख शाकोउर शालानलगायत दर्जनौं क्यामेरासमेतले लागार्दको स्वागत गरेका थिए । नयाँ सम्झौताले कोष प्रमुखको भूमिका र व्यवहारलाई झनै स्पष्ट गरेको कोषका प्रवक्ता विलियम मुरेले बताए । आईएमएफले मे महीनामा जारी गरेको नयाँ कर्मचारीले पालना गर्नुपर्ने नियमको आधारमा लागार्दको नियुक्तिपत्र बनाइएको छ । लागार्दले कोषको संस्थागत सुदृढीकरण, निष्पक्ष र न्यायपूर्ण निर्णयस्ता मान्यतालाई उच्च अनुशासनका साथ पालना गर्ने नियुक्ति सम्झौतापत्रमा भनिएको छ ।कोष प्रमुखका रूपमा आफ्नो पहिलो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लगार्दले आर्थिक सङ्कटबाट विश्वव्यापी अर्थतन्त्रले स्पष्ट रूपले पार पाइरहेको धारणा राखेकी छन् । तर, उदीयमान र विकसित देशहरूको वृद्धिदरमा रहेको ठूलो भिन्नताले पनि आर्थिक वृद्धिलाई असन्तुलित बनाएको लागार्दको भनाइ छ । एजेन्सी
फिलिपिन्सका राष्ट्रपतिले कार बेचे
असार २२, मनिला (फिलिपिन्स) । फिलिपिन्सका राष्ट्रपति बेनिग्नो अक्विनो तृतीयले सुरक्षाका कारण आफ्नो पोस कार विक्री गर्ने घोषणा गरेका छन् । गरीब देशको नेताले विलासी गाडी चढेको भनी उनको आलोचना हुँदै आएको थियो । यद्यपि आलोचनाका कारण नभई आफ्नै सुरक्षा जोखिमका कारण त्यस्तो निर्णयलिएको अक्विनोको भनाइ छ । ५० वर्षीय अविवाहित राष्ट्रपतिले करीब १ लाख २ हजार डलर पर्ने उक्त स्पोटस कार चढनु संवेदनहीनता भएको भन्ने आलोचना हुँदै आएको थियो । तर, आफू पनि उक्त कार किन्ने तेस्रो व्यक्ति भएको अर्थात् थर्डह्याण्डमा किनेको बताउँदै किनेकै मूल्यमा बेचेको उनले भनेका छन् । पोस कार चढ्दा आफूले गरेको समस्याको अनुभव अरूलाई पनि होस् भनेर बेचिदिएको अक्विनोले ठट्टा गर्दै बताए । एपी/रासस
अष्ट्रेलियाद्वारा गाईवस्तु निर्यात फुकुवा
असार २२, सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाले इण्डोनेशियातर्फको गाईवस्तु निर्यातलाई फेरि सुचारू गरेको छ । वार्षिक ३५ करोड डलरको त्यस्तो व्यापारलाई चर्को जनविरोधका कारण केही महीना प्रतिबन्ध लगाएको थियो । इण्डोनेशियाका वधशालामा गाईवस्तुलाई निर्ममतापूर्वक मारिएको दृश्य अष्ट्रेलियाली टेलिभिजनहरूले देखाएपछि सरकारले निर्यातमाथि प्रतिबन्ध लगाएको थियो ।
कृषिमन्त्री जो लुडविगले प्रतिबन्ध फुकुवाको घोषणा गर्दै इण्डोनेशियाली वधशालाहरूले अष्ट्रेलियाली पशुअधिकार मापदण्ड पूरा गर्ने अपेक्षा गरे । एक दिनअघि मात्रै एक पशुपालक कृषकले निर्यात हुन नपाएका आफ्ना सबै गाई गोली ठोकेर मार्ने चेतावनी दिएका थिए । नयाँ प्रणालीअनुसार वधशालाहरूले जनावरलाई सकेसम्म कम पीडा दिनुपर्ने तर्फसोच्नुपर्नेछ । एएफपी/रासस
जापानमा मौद्रिक नीति खुकुलो
असार २२, टोकिया (जापान) । जापानको केन्द्रीय बैङ्क 'बैङ्क अफ जापान'ले मौद्रिक नीति केही खुकुलो पार्न लागेको छ । गत मार्च महीनामा गएको भूकम्प र सुनामीको चपेटामा परेको जापानको अर्थतन्त्रलाई गति दिन यस्तो व्यवस्था गर्न लागेको हो । अर्को हप्ता बस्ने बैङ्कको बोर्ड बैठकबाट मुलुकको अर्थतन्त्रबारेको मूल्याङ्कनको पुनरवलोकन गरिने पनि उसले बताएको छ ।
भूकम्प र सुनामीपछि ठप्प भएको अर्थव्यवस्थामा गत महीनादेखि उत्पादन र निर्यात क्षेत्रमा आएको सुधारले आशा जगाएका छन् । तर, केन्द्रीय बैङ्कले विश्व अर्थतन्त्रमा आएको शिथिलताले जापानको निर्यात व्यापारमाथि समस्या खडा गर्नसक्ने चेतावनी पनि दिएको छ । साथै जापानको मुद्रा येन डलरको तुलानामा कमजोर भइदिँदा अर्थतन्त्रको पुनरुत्थानमा बाधा पर्ने पनि उसको अनुमान छ । भूकम्पपछि केन्द्रीय बैङ्कले ब्याजदर शून्यदेखि शून्य दशमलव एक प्रतिशतको हाराहारीमा राखेको थियो । एजेन्सी
मुद्रास्फीतिले दक्षिण कोरियाका अर्थमन्त्री चिन्तित
असार २२, सिओल (दक्षिण कोरिया) । दक्षिण कोरियाका नवनियुक्त अर्थमन्त्रीले बढ्दो मुद्रास्फीति, आन्तरिक ऋण र बैङ्किङ क्षेत्रमा देखिएका समस्याले आर्थिक मन्दीबाट माथि उठ्ने आफ्नो देशको प्रयासलाई अप्ठयारोमा पार्ने बताएका छन् । दक्षिण कोरियाका अर्थमन्त्री बाख जे-वानले बुधवार विदेशी सञ्चारकर्मीसँगको भेटमा उक्त कुरा बताएका हुन् ।उनले यो समय आफ्नो देशका लागि अप्ठयारो रहेको र मूल्यवृद्धि बढिरहँदा कम आम्दानी भएकाहरूको जीवन कष्टकर भएको उल्लेख गरेका छन् । साथै बढ्दो आन्तरिक ऋण र बैङ्किङ क्षेत्रको स्वास्थ्य पनि राम्रो नहुँदा अर्थतन्त्रमा थप भार पर्ने पनि उनको कथन थियो ।
सरकारले गत जुन महीनामा मूल्यवृद्धि ४ दशमलव ४ प्रतिशतले बढेको बताएको थियो । साथै देशको आन्तरिक ऋण ७ सय ५४ अर्ब अमेरिकी डलर पुगेको र वार्षिक औसत १३ प्रतिशतले बढिरहेको जानकारी दिएको थियो । राष्ट्रपति लि-म्युङ-बाकले गत अप्रिलको संसदीय र स्थानीय चुनावमा आफ्नो दल पराजित भएपछि मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।एशियाको चौथौ ठूलो अर्थतन्त्र दक्षिण कोरियाको कुल गार्हस्थ्य उत्पादन भने सन् २००८ पछि केही सुधार भएको छ । सरकारले सन् २०११ मा आर्थिक वृद्धि ४ दशमलव ५ प्रतिशत रहने पूर्वानुमान गरेको थियो । एपी/रासस
धारावी मुम्बईको सबैभन्दा ठूलो सुकुम्बासी बस्ती रहेन
असार २२ । 'स्लमडग मिलियनेर’जस्तो चर्चित सिनेमाको छायाङ्कन गरिएको मुम्बईको सुकुम्बासी बस्ती धारावी शहरकै सबैभन्दा ठूलो सुकुम्बासी बस्तीको रूपमा पनि चर्चित थियो । त्यसका साथै, एशियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्तीमध्ये एकमा धारावी पनि आउँछ । तर, बढ्दो शहरीकरणले गर्दा सबैभन्दा ठूलो सुकुम्बासी बस्तीको पहिचान भने धारावीले गुमाएको अनुसन्धानकर्ताहरूले बताएका छन् । आर्किटेक्ट पीके दासका अनुसार, धारावीभन्दा पनि निकै ठूला सुकुम्बासी बस्ती देखा परिसकेका छन् ।
संयुक्त राष्ट्रसङ्घबाट समर्थित मुम्बई मानव विकास सूचकाङ्क २००९ का अनुसार, कराचीस्थित ओराङ्गी बजार एशियाको सबैभन्दा ठूलो सुकुम्बासी बस्ती हो । मुम्बईमै पनि धारावीजस्ता धेरैओटा सुकुम्बासी बस्ती बनिसकेका उक्त प्रतिवेदनले भनेको छ । त्यति हुँदाहुँदै पनि धारावीले मुम्बईको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको दासले स्वीकार गरे । धारावी मुम्बईको लागि उत्पादनको कारखाना नै रहेको दासको विचार छ । मुम्बई शहरको कुल १ करोड ४३ लाख जनसङ्ख्यामध्ये ६३ प्रतिशत अर्थात् ९० लाख मानिस धारावीमै बसोबास गरेका केही तथ्याङ्कले देखाएका छन् । एएफपी/रासस
चोटका कारण उड्सले ब्रिटिश ओपन नखेल्ने
असार २२, फ्लोरिडा (अमेरिका) । टाइगर उड्सले आफ्नो बायाँ खुट्टामा लागेको चोटका कारण अर्को हप्ताबाट शुरू हुने ब्रिटिश ओपन गोल्फ प्रतियोगितामा भाग नलिने बताएका छन् । आफ्नो वेबसाइटमा मङ्गलबार एक विज्ञप्ति प्रकाशित गर्दै उड्सले यस्तो बताएका हुन् ।उनले चोट ठीक नहुन्जेल नखेल्न चिकित्सकले सल्लाह दिएको बताएका छन् । आफूलाई थप चोटपटक लाग्न नदिन शतप्रतिशत ठीक भएपछि मात्रै मैदानमा आउने पनि उनले उल्लेख गरेका छन् । साथै चोटले गर्दा आफू निराश भएको बताउँदै उनले बेलायती प्रशंसकहरूसमक्ष दु:ख प्रकट गरेका छन् ।चोटकै कारण उनले एटी एण्ड टी प्रतियोगिता पनि खेलेका थिएनन् । यसभन्दा अघि सन् २००८ मा पनि बायाँ खुट्टाकै चोटले गर्दा ब्रिटिश ओपन पीजीए च्याम्पियनशिपमा उड्स सहभागी थिएनन् । एपी/रासस
नोकियाको जापानी बजार छाड्ने योजना
असार २२, वाशिङटन (अमेरिका) । नोकिया कर्पोरेशनले उसको स्माटफोनको लोकप्रियतामा कमी आएपछि जापानी बजार छाड्ने योजना बनाएको छ । फिनल्याण्डको कम्पनी नोकियाले जापानको गिञ्जास्थित आफ्नो उच्चप्रविधियुक्त भर्तु मोबाइलको अन्तिम विक्रीकेन्द्रलाई जुलाईको अन्त्यसम्ममा बन्द गर्ने भएको हो । यसअघि जापानमा चारओटा त्यस्ता विक्री केन्द्र रहेका थिए ।भर्तुले बुधवार एक विज्ञप्ति जारी गर्दै प्राथमिकताको क्षेत्रमा केन्द्रित हुने भन्दै जापानी बजार छाड्न लागेको बताएको छ । यसैवर्षको अन्त्यसम्ममा टोकियोस्थित कार्यालयसमेत छाडिसक्ने भर्तुको विज्ञप्तिमा भनिएको छ । नोकिया फोन जापानमा खासै लोकप्रिय भने थिएनन् । जापानमा खासगरी एप्पलको आइफोन र जापानी कम्पनी शार्पकै फोन बढी लोकप्रिय छन् । एपी/रासस
यूरोपको ऋणसङ्कटका कारण विश्वका शेयरबजारहरू शिथिल
असार २२, हङकङ (चीन) । यूरोपको बढ्दो ऋणसङ्कटका कारण लगानीकर्ताहरू चिन्तित देखिएपछि बुधवार विश्वका सबै प्रमुख शेयरबजारमा सुस्ती छाएको छ । खासगरी ऋणसङ्कटले ग्रसित ग्रीसको उद्धार योजना कार्यान्वयनमा ढिलाइ भइरहँदा शेयरबजारहरूमा अनिश्चितता देखिएको हो ।बुधवार बिहानको कारोबारमा बेलायतको एफटीएसइ-१०० इण्डेक्स शून्य दशमलव ५ प्रतिशतले घटेर ५ हजार ९ सय ९७ दशमलव २२ अङ्कमा झरेको थियो । त्यसैगरी जर्मनीको डीएएक्स इण्डेक्स शून्य दशमलव ३ प्रतिशतले घटेर ७ हजार ४ सय १६ दशमलव शून्य ८ भएको थियो । फ्रान्सको सीएसी-४० शून्य दशमलव ३ प्रतिशतले घटेर ३ हजार ९ सय ५९ दशमलव ४० कायम भएको थियो । अमेरिकाका प्रमुख शेयर सूचकाङ्क डाउ जोन्स र एस एण्ड पी-५०० शून्य दशमलव ३ प्रतिशतले घटेर क्रमश: १२ हजार ४ सय ९८ र १ हजार ३ सय ३२ दशमलव ४ शून्य कायम भएका थिए ।
तर, एशियाका शेयरबजारमा भने मिश्रति प्रतिक्रिया देखिएको छ । जापानको निक्केइ १ दशमलव १ प्रतिशतले बढेर १० हजार ८२ दशमलव ४८ मा कारोबार भएको थियो । दक्षिण कोरियाको कोस्पी शून्य दशमलव ४ प्रतिशतले बढेर २ हजार १ सय ७१ दशमलव १९ पुगेको थियो । हङकङको ह्याङ सेङ १ प्रतिशतले झरेर २२ हजार ५ सय १७ दशमलव ५५ अङ्क पुगेको थियो । कच्चा तेलको भाउमा पनि कमी देखिएको छ । येन र यूरोको तुलनामा डलर कमजोर भएपछि कच्चा तेल प्रतिब्यारेल ९७ अमेरिकी डलरमा कारोबार भएको थियो । एपी/रासस
Admin