चार्वाक दर्शनलाई एक प्राचीन पूर्वीय दार्शनिक विचारधारा मानिन्छ । यो दर्शनले धार्मिक एवं आध्यात्मिक अवधारणाहरूलाई मान्यता नदिएर भौतिकवादी दृष्टिकोण मात्र प्रस्तुत गर्छ । यो दर्शनले समाजलाई नै स्वार्थपरक दृष्टिकोणका साथ धन र सुख प्राप्तिका लागि मात्र अभिप्रेरित गर्छ ।
बैंकिङ पनि विशेष गरी द्रव्यसँग मात्र सम्बद्ध भएर केन्द्रविन्दुमा सधैं द्रव्यलाई नै राख्ने क्षेत्र भएकाले यो दर्शनले बैंकिङको मूलभूत तत्त्व तथा उद्देश्यसँग मसिनो किसिमले सम्बन्ध राखेको देखिन्छ । यस्तै मसिनो सम्बन्धको कसीमा यो सानो आलेखमा चार्वाक दर्शनका कतिपय विषयवस्तु कसरी आधुनिक बैंकिङसँग मेल खान्छन् भन्ने बारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । तर, त्यसका बारेमा चर्चा गर्नुअघि चार्वाक दर्शनका केही महत्त्वपूर्ण पक्षहरू माथि संक्षेपमा चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
यावज्जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिवेत्,
भस्मीभूतस्य देहस्य पुनरागमनं कुत: ।।
(जहिलेसम्म बाँचिन्छ, सुखसँग बाँच्नु पर्छ । ऋण गरेर भए पनि घ्यू खानु पर्छ । एकपटक मरेर खरानी भइसकेको शरीर फेरि कसरी फर्कन्छ र ?) त्यसैले जेजति मस्ती गर्नु छ, जिउँदो हुँदै गर्नुपर्छ भन्ने नै उक्त दर्शनको मूलभाव हो ।चार्वाक दर्शन भन्ने बित्तिकै सबैले सम्झने पहिलो श्लोक नै यही हो र यसैले समग्रमा यो दर्शनको अन्तरवस्तुको सच्चा प्रतिनिधित्व पनि गर्छ । यसले यस्ता रमाइला खालका कुरा गर्ने वा सुन्दर (प्रिय लाग्ने ) कुराहरूको पक्षपोषण गर्ने भएकाले यस दर्शनलाई चारू (रमाइलो), वाक् (कुरा) वा चार्वाक भनिएको हो । त्यस्तै ‘चर्व’ धातुबाट चार्वाक शब्द बनेको र चर्वको अर्थ चपाउनु अर्थात् खानु भएकाले खानपानमा धेरै जोड दिएका कारण पनि यसलाई चार्वाक भनिएको हो भन्ने भनाइ पनि पाइन्छ ।
पूर्वीय दर्शनमा दुई प्रकारका दर्शन प्रसिद्ध छन् – आस्तिक दर्शन र नास्तिक दर्शन । आस्तिक दर्शनले वेदलाई प्रमाण मान्छ भने नास्तिक दर्शनले वेदलाई प्रमाणको रूपमा मान्दैन । सांख्य, योग, न्याय, वैशेषिक, वेदान्त र मिमांसा (धर्ममिमांसा, कर्ममिमांसा, दैवीमिमांसा, ब्रह्ममिमांसा) गरी जम्मा ६ दर्शनलाई आस्तिक दर्शन मानिन्छ । यसै गरी चार्वाक, जैन (आर्हत), र बौद्ध परम्पराअन्तर्गतका मध्यमक, योगाचार, सौत्रान्तिक र वैभाषिक चार दर्शनसमेत गरी ६ ओटाचाहिँ नास्तिक दर्शन मानिन्छन् ।
यी नास्तिक दर्शनमध्ये पनि चार्वाक दर्शनलाई चाहिँ ‘नास्तिक शिरोमणि दर्शन’ पनि भनिन्छ । यसलाई पूर्वीय भौतिकवादी दर्शनभन्दा पनि फरक पर्दैन । यस दर्शनका प्रणेता बृहस्पतिलाई मानिन्छ । यो दर्शनले जीवनका हरेक पक्षलाई सहजताका साथ आत्मसात् गर्न र दृष्टिगोचर गर्न प्रेरित गर्छ । यो दर्शनको सार लोकलाई मन पर्ने भएकाले यसलाई ‘लोकायत’ दर्शन पनि भनिन्छ ।
आधुनिक बैंकिङ नियामकीय निर्देशनको परिधिभित्र सञ्चालित भई आफ्नो गतिविधि, लगानी र कार्यक्षेत्रले सामाजिक, राजनीतिक एवं र वातावरणमाथि पार्ने प्रभावलाई पनि विश्लेषण गरेर समग्रमा उत्तरदायित्वपूर्ण आर्थिक समृद्धिका लागि क्रियाशील देखिन्छ जुन आधारभूत रूपमा नै चार्वाक दर्शनभन्दा पृथक् छ ।
अहिलेको विश्वमा भौतिकवाद फस्टाउँदै समाज पनि एकांकी र स्वार्थी बन्दै गएको र द्रव्यको वरिपरि सबै प्रकारका गतिविधि घुमिरहेको सन्दर्भमा चार्वाक दर्शन र द्रव्यकै कारोबारमा केन्द्रित बैंकिङका बीच समरूप देखिनु स्वाभाविक नै हो र खास गरी निम्न बुँदामा चार्वाक दर्शन र आधुनिक बैंकिङबीच रहेको समरूपलाई व्याख्या गर्न सकिन्छ ।
भौतिकवादी दृष्टिकोण : संसारको उत्पत्ति चारओटा महाभूतको संयोगले भएको हो, ईश्वरले बनाएको होइन भन्नु चार्वाक दर्शनको मुख्य सिद्धान्त हो । यो दर्शनअनुसार प्रकृति आपैंm यति शक्तिशाली छ कि उसले आफ्नो नियमअनुसार सबै कार्यको व्याख्या गरिदिन्छ । यसको आधारमा यो दर्शनले राजाको अस्तित्वलाई स्वीकार गर्छ तर ईश्वरको अस्तित्वलाई भने स्वीकार गर्दैन ।
खासमा चार्वाक दर्शनावलम्बीहरूलाई उनीहरूको मतको आधारमा दुई वर्गमा विभाजन गरिएको छ– धूर्त चार्वाक र सुशिक्षित चार्वाक ।
धूर्त चार्वाकले चेतन शरीरलाई नै आत्मा मान्छन् र यिनीहरूले शरीरको अस्तित्वसँग नै चेतनाको अस्तित्व छ र शरीरको मरणसँगै चेतना पनि समाप्त भएर जान्छ भन्छन् । सुशिक्षित चार्वाकहरूचाहिँ शरीरभन्दा छुट्टै आत्माको अस्तित्वलाई स्वीकार त गर्छन् तर त्यो पनि शरीरसँगै नाश भएर जान्छ भन्छन् । यसरी यो दर्शनमा धेरैथरी मत देखापरे तापनि मरेपछि कुनै आत्मा रहँदैन भन्ने विषयमा भने सबै चार्वाक मतावलम्बीहरू एकमत छन् ।
चार्वाक मतावलम्बीहरूको विभाजन गरेजस्तै मूलभूत रूपमा द्रव्यसँग सम्बद्ध क्रियाकलापमा संलग्न हुने भए पनि बैंकिङ क्षेत्रलाई पनि चार्वाक दर्शनलाई नै अनुसरण गरेझैं गरी विश्वव्यापी रूपमा नै विभिन्न वर्गमा विभाजन गरिएको पाइन्छ । फेरि जसरी चार्वाक दर्शनले शरीरसँगै आत्मा पनि मारेर जान्छ भन्ने मान्यता राख्छ त्यसैगरी बैंकको अस्तित्व उसको सम्पत्ति र आत्माका रूपमा रहने द्रव्यको अस्तित्वमा मात्र रहन सक्छ, न कि उसको इज्जत, नाम, ब्रान्ड आदिले उसलाई जोगाउन सक्छन् ।
जसरी चार्वाक दर्शनले आत्मा एवं देवताको अस्तित्व तथा पुनर्जन्मजस्ता विषयमा विश्वास गर्दैन ठीक त्यसै गरी आधुनिक बैंकिङले पनि मौद्रिक एकाइमा व्यक्त गर्न नसकिने र अमूर्त रूपमा रहने नैतिक एवं मानवीय मूल्य, भावना, संवेदना आदिलाई केन्द्रमा राखेर वित्तीय निर्णय नलिने भएकाले चार्वाक दर्शनसँग यसको सामीप्य देख्न सकिन्छ ।
अमूर्त विषयमाथि अविश्वास : यो दर्शनले पृथ्वी, जल, तेज र वायुलाई मात्र सृष्टिको मूल कारण मान्छ । वेदान्त दर्शनले मानी आएको आकाश तत्त्वलाई चार्वाकले अस्वीकार गर्छ । इन्द्रियद्वारा अनुभव गर्न नसकिने तत्त्वको अस्तित्वलाई यो दर्शनले स्वीकार गर्दैन । अर्को शब्दमा रूप, रस, गन्ध र स्पर्शलाई इन्द्रियद्वारा अनुभव गर्न सकिने भएकाले मात्र यिनको सत्तालाई स्वीकार गरिएको हो, अन्यथा इन्द्रियद्वारा अनुभूत नहुने आकाश तत्त्व कसरी तत्त्व भयो भन्ने यिनको तर्क छ । चार्वाक मतअनुसार यिनै चार महाभूतका अतिरिक्त आत्मा भन्ने कुनै पदार्थ छैन । यो शरीर नै आत्मा हो किनभने शरीर नै चैतन्यको कारण हो ।
जसरी चार्वाक दर्शनले आत्मा एवं देवताको अस्तित्व तथा पुनर्जन्मजस्ता विषयलाई विश्वास गर्दैन ठीक त्यसै गरी आधुनिक बैंकिङले पनि मौद्रिक एकाइमा व्यक्त गर्न नसकिने र अमूर्त रूपमा रहने नैतिक एवं मानवीय मूल्य, भावना, संवेदना आदिलाई केन्द्रमा राखेर वित्तीय निर्णय नलिने भएकाले चार्वाक दर्शनसँग यसको सामीप्य देख्न सकिन्छ ।चार्वाकले पनि प्रत्यक्ष रूपमा देखिने प्रमाणलाई मात्र मान्यता दिएर धार्मिक एवं दैविक शक्तिहरूको अस्तित्वलाई अस्वीकार गरेजस्तै आधुनिक बैंकिङले पनि व्यापक मात्रामा उपलब्ध तथ्यांक, तिनको विश्लेषण, बजारको प्रवृत्ति, आर्थिक सिद्धान्तजस्ता मूर्त विषय वस्तुहरूको आधारमा मात्र वित्तीय निर्णयहरू लिने गर्छ ।
सम्पत्तिको अधिकीकरण : चार्वाक दर्शनले जसरी सम्पत्तिको संग्रहलाई महत्त्व दिएर भौतिक सुखसुविधाको पक्षमा वकालत गर्छ, आधुनिक बैंकिङले पनि आफ्ना शेयर होल्डरहरूले प्राप्त गर्ने प्रतिफलको मात्रालाई बढाएर उनीहरूको आर्थिक र भौतिक समृद्धिलाई केन्द्रविन्दुमा राखेर विभिन्न प्रकारका वित्तीय उपकरण, लगानी तथा रणनीतिहरूको अख्तियारी गरेको हुन्छ ।
यसै गरी चार्वाक दर्शनले भौतिक सुखसुविधालाई केन्द्रविन्दुमा राखेझैं आधुनिक बैंकिङले पनि अधिक नाफा कमाउने, सम्पत्ति आर्जन गर्ने र आर्थिक वृद्धि गर्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरेको हुन्छ ।
जोखिम ग्रहण : चार्वाक दर्शनले जोखिम मोलेर भए पनि सुखशयल गर्नुपर्छ, ऋण लिएर पनि घ्यू खानुपर्छ र मस्तीको जीवन यापन गर्नुपर्छ भन्ने मत राखेजस्तै आधुनिक बैंकिङले पनि जहाँ जोखिम छ त्यहाँ फाइदा पनि छ भन्ने मान्यताका साथ जोखिमलाई व्यवस्थापन गरेर जोखिमयुक्त क्षेत्रमा अगाडि बढे मात्र उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्छ ।
धार्मिक एवं जातीय विभेदको निन्दा : चार्वाकले धार्मिक र आध्यात्मिक शक्तिको अस्तित्वलाई नकारेर व्यक्तिको चाहना तथा स्वतन्त्रतालाई उच्च प्राथमिकता दिएको हुन्छ । सबै मनुष्यभित्र एकै प्रकारको रातो रगत बग्छ, मासु र हाड पनि सबैको उस्तै हुन्छ भने बाह्मण र अन्य जातिबीच किन ठूलो र सानोको भेद भयो त ? भन्ने भनाइ यस दर्शनभित्र पाइन्छ ।
आधुनिक बैंकिङले पनि धार्मिक, जातीय एवं वर्गीय निरपेक्षताका साथ आफ्ना गतिविधि सञ्चालन गरिरहेको हुन्छ ।
आधुनिक बैंकिङले पनि नगद जम्मा गरेको आधारमा कुनै व्यक्तिको ओहदा, पद वा जातजातिका आधारमा ब्याजदरमा भिन्नता गर्दैन । तर, आफ्नो व्यवसायलाई सकारात्मक योगदान दिने, उच्च प्रतिफल दिन सघाउने तथा ठूलाठूला करोबार गर्नेहरूप्रति भने अन्य आम साधारण ग्राहकलाई भन्दा केही विशिष्ट सहुलियत र सुविधा प्रदान गर्ने कुरा भने भिन्दै हुन् ।
निन्दामा समानता :
त्रयो वेदस्य कर्तारो भाण्डधूर्तनिशाचरा: ।
जर्भरीतुर्फरीत्यादि पण्डितानां वच: स्मृतम् ।
चार्वाकको मतअनुसार वेद झूटा कुराहरूले भरिएको छ र यसलाई धूर्त, भाँड र राक्षशहरूले बनाएका हुन् । यिनीहरूको काम नै अज्ञानी र सोझासीधा मानिसलाई फसाएर आफ्नो जीविका चलाउनु हो । यसमा जर्भरी, तुर्फरीजस्ता विना अर्थका शब्दहरू भरिएका छन् । यसैले चार्वाक दर्शनअनुसार वेद पुराण धर्मशास्त्र आदि कुनै पनि प्रामाणिक छैनन् ।
यसरी चार्वाक दर्शनले वेदको निन्दा गरेजस्तै गरी अहिले एकथरी मानिस बैंकहरू ठग हुन्, यिनीहरू पनि मीटरब्याजी हुन् र समाजलाई शोषण गर्ने तत्त्व हुन् भनेर आरोप लगाई चार्वाक दर्शनकै अनुसरण गरिरहेका छन् ।
भौतिकवादी दृष्टिकोण र भोग विलासको सन्दर्भमा चार्वाक दर्शन र आधुनिक बैंकिङका बीच केही समानता देखिए पनि यी दुईका बीच तात्त्िवक भिन्नता रहेको देखिन्छ । खास गरी सामाजिक तथा वातावरणीय प्रभावका बारेमा आधुनिक बैंकिङ जति उत्तरदायीपूर्ण ढंगले अगाडि बढेको छ, चार्वाक दर्शनले त्यस्तो उत्तरदायित्वपूर्ण व्यवहारको कल्पना गरेको छैन ।
आधुनिक बैंकिङ नियामकीय निर्देशनको परिधिभित्र सञ्चालित भई आफ्ना गतिविधि, लगानी र कार्यक्षेत्रले सामाजिक, राजनीतिक एवं र वातावरणमाथि पार्ने प्रभावहरूलाई पनि विश्लेषण गरेर समग्रमा उत्तरदायित्वपूर्ण आर्थिक समृद्धिका लागि क्रियाशील देखिन्छ जुन आधारभूत रूपमा नै चार्वाक दर्शनभन्दा पृथक् छ ।
लेखक सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।