काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ ।
माघ ३० गते नेपाल धितोपत्र बोर्डबाट एफपीओ जारी गर्न अनुमति पाएको कम्पनीले बल्ल निष्कासन मिति तय गरेको हो । कम्पनीले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ हजार २९२ दशमलव ५ कित्ता एफपीओ निष्कासन गर्नेछ ।
यो एफपीओे निष्कासन मिति छिटोमा चैत २६ गतेसम्मका लागि तय गरिएको छ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि २०८२ वैशाख ४ गतेसम्म निष्कासन लम्बिनेछ । तर पछिल्लो समय आईपीओ तथा एफपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको तथ्याङ्क छ । यसलाई आधार मान्दा कम्पनीको एफपीओ पनि छिटो अवधि चैत २६ गतेसम्म मात्र निष्कासनमा रहने निश्चित छ ।
आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका माग गर्न सकिनेछ । यो एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन पाइनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
एफपीओ निष्कासन प्रयोजनका लागि गराइएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ । एफपीओ निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ कायम हुनेछ ।
यो कम्पनी धितोपत्र दोस्रो बजारमा २०७५ जेठ १७ गते सूचीकृत भएको थियो । गत आर्थिक वर्ष ०८०/८१ सम्म कम्पनी १ करोड ६१ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०७ रुपैयाँ र प्रतिशेयर आम्दानी १ रुपैयाँ ४५ पैसा छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी २ करोड ८६ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २३ पैसा छ ।