नेपाल वायुसेवा निगमले आन्तरिक उडानका निम्ति चिनियाँ जहाज ल्याउने निश्चित भएको छ । निगमका अनुसार चीनबाट दुईओटा जहाज अनुदानमा ल्याउने र चारओटा सहुलियत ऋणमा खरीद गर्ने विषयमा बिहीवार सम्झौता भएको छ । सम्झौतामा नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् निगम सञ्चालक समितिका सदस्य रञ्जनकृष्ण अर्याल र निगमका कामु महाप्रबन्धक राजुबहादुर केसी तथा चिनियाँ पक्षबाट एभिक इण्टरनेशनलका एशिया क्षेत्रका डाइरेक्टर याङ कुम बाङ र सो कम्पनीको नेपालस्थित जनरल रिप्रिजेन्टेटिभ एण्ड प्रोगाम मेनेजर सोङ सियाओ निङले हस्ताक्षर गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताअनुसार एभिकले निगमलाई वाई १२ र एमए ६० नामक एक/एक जहाज अनुदानमा उपलब्ध गराउनेछ । यस्तै अर्को एउटा एम ६० र तीनओटा वाई १२ नामक जहाज सहुलियत ऋणमा खरीद गर्ने पनि सम्झौतामा उल्लेख छ । विज्ञप्तिअनुसार जहाजको प्राविधिक विषयमा उपयुक्तता हेरी व्यापारिक सम्झौता अघि बढाउन नेपाल सरकारले गत आइतवार गरेको निर्णयका आधारमा सो सम्झौता गरिएको हो । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले पनि दुईओटा अनुदानमा लिने र चारओटा जहाज सहुलियत ऋणमा खरीद गर्ने निर्णय गरेको छ ।
वर्ष ८, अंक ७२, बिहीवार १४ मङ्सिर, २०६९