चितवन। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकलाई जलवायुमैत्री कृषि अभ्याससम्बन्धी तालीम दिइएको छ । कृषि विश्वविद्यालयअन्तर्गत रहेको निरन्तर शिक्षा केन्द्र र विश्व विद्यालयमा सञ्चालित युएसएआइडी कृषि उच्च शिक्षा कार्यक्रमको सहयोगमा दुईदिने तालीम गरिएको हो ।
विश्वविद्यालयका कृषि, वन र भेटेरेनरी संकायका प्राध्यापकको क्षमता अभिवृद्धि गर्न तालीमको आयोजना गरिएको केन्द्रका निर्देशक डा. निराजन भट्टराईले बताए । नेपाल जलवायु परिवर्तन र यसको असरका हिसाबले उच्च जोखिमयुक्त देश भएकोले उच्च शिक्षा प्रणालीमा जलवायुमैत्री कृषिसम्बन्धी विषयवस्तु जोड्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भट्टराईले बताए ।
तालीममा सहजीकरण गर्दै अमेरिकाको कोटस्केगी विश्वविद्यालयका प्राध्यापक डा. उमा कार्कीले जलवायु परिवर्तन र कृषि क्षेत्रमा देखिएका विभिन्न असर र यसको न्यूनीकरणका उपाय, पशुपालन प्रणाली र यस क्षेत्रबाट उत्पादन हुने हरितगृह ग्यास उत्सर्जन र यसको असर न्यूनीकरण रणनीतिका आयाममा कार्यपत्र प्रस्तुत गरेका थिए । तालीममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मी, सेवा आयोग अध्यक्ष प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, रजिष्ट्रार प्रा.डा. शारदा थपलियाको उपस्थिति थियो ।