पछिल्लो समय ढाका कपडाबाट बनाइएका विभिन्न पहिरन, जुत्ता, झोला, ब्याग आदिले नेपाली बजारमा प्रवेश पाएको छ । विभिन्न धार्मिक, सामाजिक कार्यक्रममा अहिले ढाका कपडाको पहिरनले निकै चर्चा पाएको छ । परम्परागत पहिरनका साथै आधुनिक पहिरन बनाउनमा पनि ढाका कपडा प्रयोग हुन थालेका छन् । नेपालमा उत्पादित ढाका कपडा बंगलादेशको ‘जमदानी ढाका’सँग मिल्ने गरेको इतिहास छ । यो कपडा अंग्रेज शासित पूर्वी बंगाल हुँदै नेपाल आइपुगेको अनुमान गरिएको छ । सन् १९५० को दशकको अन्त्यतिर पाल्पाका गणेशमान महर्जनले ढाका (त्यति बेलाको पूर्वी पाकिस्तान) यात्राको क्रममा मुस्लिमहरूले लगाएको जमदानी सारीबाट प्रभावित भएर उनैले पाल्पा भित्त्याएको र कपासको धागो प्रयोग गरी हाते तानमा ढाका कपडा बुन्न थालेको इतिहास पढ्न पाइन्छ । विसं २०१७ सालमा चारओटा हाते तानमा कपडा बुन्न थालेको कार्यले घरेलु उद्योगका रूपमा विकसित हुने मौका पायो । त्यति बेलादेखि पाल्पामा उद्योगमार्फत रोजगारको सृजना भइसकेको थियो ।
राणा प्रधानमन्त्री जंगबहादुरको हिनी डम्बर कुमारीले रिसाएको आफ्नो दाजुलाई खुशी पार्न बंगलादेशी ढाका कपडाबाट बनेको टोपी दिएपछि नेपालमा बिस्तारै ढाका कपडा बुन्न थालेको भन्ने भनाइ पनि रहेको छ । अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा उनको नातिनी राजकुमारी नानीकी नर्सको रूपमा नेपाल आएका जेसी ब्राउन (सन् १८८८ देखि १९८३) ले नेपालमा ढाका भित्त्याइएको प्रसंग पनि रहेको छ । बेलायतको म्यानचेस्टर विश्वविद्यालयका अध्येता एम्मा मार्टिनले आफ्नो ग्यालरी स्केच बुकमा यो कुरा उल्लेख गरेको र उक्त कुरा प्रकाशमा आउनुले पनि ढाका कपडाको इतिहास झल्किन्छ ।
विभिन्न भोज, धार्मिक पूजा, मेला, अवसरमा महिलाले चोली, ब्लाउजदेखि लेहेंगा, वानपिसजस्ता पहिरन प्रयोग गरिनाले पनि बजारमा यसको माग अत्यधिक बढ्न थालेको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगितामा समेत ढाका कपडाबाट बनाइएको आकर्षक पहिरन लगाउने चलनले व्यापकता पाएको छ । अहिले सामान्य नागरिकदेखि सेलिब्रेटीसम्मले ढाका कपडाको पहिरन लगाई आकर्षक देखिन थालेका छन् । हरेक फेशन डिजाइनरको रोजाइमा आकर्षक बुट्टा र चम्किलो रङको ढाका कपडा पर्ने गरेको छ । आधुनिक पहिरनको डिजाइन अब ढाका कपडाविना अपुरो जस्तै देखिएको छ ।
ढाका कपडाको राजधानी मानिएको तेह्रथुम र पाल्पामा परम्परागत र आधुनिक शैलीका ढाका कपडाको उत्पादन हुने गरेको छ । नेवार समुदायका व्यक्तिले पाल्पामा चम्किलो रङको कपडा र तेह्रथुममा लिम्बुनी महिलाले कपडा बुनी शुरू गरेको उद्योग र यसको बजार स्वदेश तथा विदेशमा फैलिन पुगेको छ । ललितपुरको लुभू, ठैव, बाडेगाउँ, टोखामा स्वचालित मेशिनबाट विभिन्न बुट्टा र रङका ढाका कपडा उत्पादन गर्ने गरेका छन् । यसबाहेक, मोरङ, ताप्लेजुङ, खोटाङ, पाँचथर, झापा, धनकुटा, सुनसरी, उदयपुर, भोजपुर, रामेछाप, सिन्धुली, बुटवल, नुवाकोट, धादिङ, पोखरा, सुर्खेत, गुल्मी, सोलुखुम्बु आदि ठाउँमा ढाका कपडा उत्पादन हुने गरेका छन् । कपडा उत्पादनको लागि धागो भने विदेशबाट आयात गरिँदै आएको छ । स्वदेशमा उत्पादित यस किसिमको कपडा नेपालका विभिन्न ठाउँका अतिरिक्त जापान, अमेरिका, क्यानाडा, स्वीजरल्यान्ड, नेदरल्यान्डलगायत देशमा समेत निर्यात हुने गरेको कुरा व्यवसायीहरू बताउँछन् । बेलायत, हङकङ, सिंगापुर, ब्रुनाई, भारतलगायतका देशमा तेह्रथुमे ढाका कपडा निर्यात हुने गरेको छ । विशेष गरी लिम्बु जातिको बसोवास हुने गरेको तेह्रथुममा लिम्बुनी महिलाहरूले शरीरलाई न्यानो बनाउन बुन्न थालिएको ढाका कपडाले विदेशमा समेत बजार लिन सफल भएको छ ।
ढाका कपडा देशको मौलिकतासँग जोडिएको हुँदा देशको पहिचान बनिसकेको छ । स्वदेशी श्रम, शीप र लगानीको प्रयोग गरी हुने ढाका कपडाको उत्पादनले नेपालमा टेक्सटाइल उद्योगको विकास भएको छ । परम्परागत प्रविधि, थोरै लगानी र स्थानीय जनशक्तिको प्रयोग गरी गाउँगाउँमा हाते तानमार्फत कपडा उत्पादन गर्न सकिन्छ । स्थानीय तहले यस्ता घरेलु उद्योगको विकासका लागि उद्यमीको पहिचान गरी आवश्यक अनुदान तथा बजार प्रवर्द्धनको व्यवस्था गर्न सकिन्छ । परम्परागत प्रविधिबाट हटेर ठूलो पूँजी लगानी गरी उद्योगका रूपमा सञ्चालन गर्ने हो भने स्वचालित तथा अर्ध स्वचालित मेशिन खरीद गरी प्रशस्त कपडा उत्पादन गर्न सकिन्छ ।
स्वदेशी उद्योगको विकासका लागि उद्योगलाई छूट तथा सहुलियतको व्यवस्था हुने गरी औद्योगिक व्यवसाय ऐन, २०७६ मा व्यवस्था गरेको छ । कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्ध प्रशोधित कच्चा पदार्थको प्रयोग वा प्रशोधन गरी मालवस्तु उत्पादन गर्ने उद्योगबाट आर्जित आयमा २० प्रतिशत र उत्पादनमूलक उद्योगको निर्यातमा प्राप्त आयमा २५ प्रतिशत छूट हुन्छ । उद्योगले आफ्ना श्रमिक वा कर्मचारीको हितमा गरेको खर्च, व्यवसायसँग सम्बद्ध बजार प्रवर्द्धन, सर्वेक्षण र विज्ञापनका लागि भएको खर्च आयकर प्रयोजनका लागि कट्टी गर्न पाउँछ । महिला उद्यमीका लागि उद्योग दर्ता दस्तूरमा ३५ प्रतिशत छूट हुन्छ । यस किसिमको छूट तथा सहुलियतले उद्योग फस्टाउने मौका पाउँछ ।
नेपाली उद्योगमा हुने कपडाको उत्पादनले नेपाली अर्थतन्त्रलाई सबल बनाउन मद्दत पुग्छ । तर, भारतबाट आयात हुने सुतीमा प्रिन्ट गरी बनाइएको ढाका कपडाले गर्दा नेपाली ढाकाको बजारलाई सीमित बनाउने देखिन्छ । त्यसैले नेपाल सरकारले नेपाली ढाका कपडाको बजारलाई सुरक्षित बनाउन आयातित प्रिन्ट सुती ढाकामा एन्टी डम्पिङ शुल्क लगाउने व्यवस्थाको शुरुआत हुनुपर्छ । यसले ढाका कपडाको नेपाली बजार खुम्चिन पाउँदैन । बजारलाई समेत असर पर्ने गरी आवश्यकताभन्दा बढी कपडा गोदामामा थुपारेर राख्ने कार्यमा पनि नियन्त्रण हुन्छ ।
लेखक अधिवक्ता हुन् ।