काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले विक्री नभएको भन्दै थन्क्याएर राख्दा डेढ अर्ब रुपैयाँभन्दा बढी मूल्यको धूलो दूध र नौनी म्याद गुज्रिने अवस्थामा पुगेको संस्थानका एक उच्च अधिकारीले बताएका छन् ।
म्याद सकिने डरले यी दुग्ध पदार्थ सस्तोमा विक्री गर्न संस्थानले हालै दुईपटक प्रस्ताव आह्वान गरिसकेको छ । उसले उक्त दुग्ध पदार्थ होलसेलमा विक्री गर्न प्रस्ताव आह्वान गरेको हो ।
ठूलो परिमाणमा दुग्ध पदार्थ विक्री नभएको भन्दै संस्थान र निजीक्षेत्रका डेरीहरूले किसानको करीब ४ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गरेका छैनन् । डीडीसीले मात्र करीब २ अर्ब रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।
संस्थानको ९८३ मेट्रिक टन धुलो दूध र ७७७ मेट्रिक टन नौनी म्याद सकिने अवस्थामा पुगेको स्रोतको भनाइ छ । हाल संस्थानले तोकेको भाउअनुसार मौज्दात दुग्ध पदार्थको मूल्य १ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ हुन्छ ।
- विक्री नभएको बहानामा थन्क्याएर राख्दा किसानको बक्यौता तिर्न चाहिने ठूलो रकम जुटाउन डीडीसीलाई चुनौती
- ९८३ मेट्रिक टन धूलो दूध र ७७७ मेट्रिक टन नौनीको उपभोग्य म्याद ५ देखि ६ महीनामात्रै बाँकी
- मौज्दात दुग्ध पदार्थ होलसेलमा विक्री गर्न दुईपल्ट सूचना प्रकाशन गर्दा पनि प्रस्ताव परेन
‘धूलो दूध र नौनीको उपभोग्य म्याद उत्पादन भएको मितिबाट १८ महीना हुन्छ,’ संस्थानका ती उच्च अधिकारीले आर्थिक अभियानलाई बताए, ‘तर, डीडीसीमा मौज्दात रहेको धूलो दूध र नौनीको म्याद अब ५ देखि ६ महीनामात्रै बाँकी छ ।’ म्याद सकिन लागेको दुग्ध पदार्थ खेर जान नदिन संस्थानले विक्री गर्नैपर्ने हुन्छ । तोकिएको उच्चतम खुद्रा मूल्य घटाएर १/१ महीनाको म्याद राखेर दुईपल्ट सार्वजनिक सूचना जारी गर्दा समेत दुग्ध पदार्थ विक्री हुन नसकेको संस्थानका अधिकारीले बताए ।
पछिल्लो समय जेठ २८ गते १५ किलो ब्लकको खुला मखन २०० टन र २५ किलो ब्यागको धूलो दूध ३०० टन बेच्न संस्थानले प्रस्ताव आह्वान गरेको थियो ।
‘प्रतिकिलो ७०० रुपैयाँ पर्ने धूलो दूधको मूल्य अहिले हामीले ६०० रुपैयाँ राखेका छौं । हजार रुपैयाँ पर्ने नौनी ८ सय रुपैयाँमा बेच्ने गरी प्रस्ताव आह्वान गरेका छौं,’ उनले भने, ‘घटाएको मूल्य पनि महँगो भयो भनेर कसैले किन्न चाहेन ।’
‘धूलो दूध डेरी वा बिस्कुट उद्योगले मात्रै प्रयोग गर्छन् । भारतसँगको खुला नाकाको कारण उताबाट सस्तो मूल्यमा आउँछ । त्यसैले व्यापारीको ध्यान त्यतैतिर छ । कसैले नकिने मौज्दात खेर जाने अवस्था छ,’ डीडीसीका ती उच्च अधिकारीले भने ।
ठूलो परिमाणमा धूलो दूध तथा नौनी बाँकी रहे पनि समय छँदै मूल्य केही घटाएर विक्री गर्ने प्रयास नगर्दा ती वस्तु एकैचोटि विक्री गर्न संस्थानलाई गाह्रो भएको छ । निजी डेरीहरू भने यो मामलामा केही चलाख भएको पाइएको छ ।
सीताराम गोकुल मिल्क्सका सञ्चालक सुमित केडियाले पुराना दुग्ध पदार्थ कटाउँदै जाने नीति अख्तियार गरेकोले आफ्नो उद्योगको दुग्ध पदार्थ म्याद गुज्रने अवस्थामा नपुगेका बताए । ‘एक महीनाअघिसम्म हाम्रो उद्योगमा ४ करोड रुपैयाँ बराबरको दुग्ध पदार्थ मौज्दात थियो । पछिल्लो एक महीनामा १ करोड रुपैयाँ बराबरको विक्री भइसकेको छ,’ उनले भने । निजीक्षेत्रका अधिकांश डेरीले धुलो दूध र नौनी विक्री नभएको भन्दै किसानलाई बक्यौता भुक्तानी गर्न आनाकानी गर्दै आएका छन् ।
संस्थानले भने सस्तोमै भए पनि म्याद गुज्रन लागेको दुग्ध पदार्थ विक्री बढाउँदै जाने नीति समयमै नलिँदा ठूलो मात्रामा मौज्दात रहेको हो । फलस्वरूप संस्थानलाई किसानलाई बक्यौता भुक्तानी गर्न लामो समयदेखि असफल रहँदै आएको छ । संस्थानलगायत अन्य डेरी उद्योगहरूले असार २७ गतेसम्म २०८० चैतसम्मको सबै बक्यौता भुक्तानी गर्ने प्रतिबद्धतासहित किसान संगठनहरूसँग सहमतिपत्रमा हस्ताक्षरका थिए । तर कसैले पनि अहिलेसम्म भुक्तानी नदिएको किसानले बताएका छन् । सबैभन्दा धेरै बक्यौता रहेको सरकारी स्वामित्वको डीडीसीले नै भुक्तानी नगरेपछि निजीक्षेत्रका डेरीलाई भुक्तानी नगर्ने बहाना मिलेको किसान संगठनहरूको भनाइ छ ।
आफ्नो आम्दानीबाट बक्यौता तिर्न नसक्दा हालै डीडीसीले सरकारसँग ६० करोड रुपैयाँ ऋण मागेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त ऋण स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको महीना दिनभन्दा धेरै भइसक्दा पनि अझै ऋण दिने प्रस्ताव स्वीकृत हुन नसकेको डीडीसीका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले बताए । ‘त्यसैले भुक्तानीमा समस्या भइरहेको छ,’ उनले भने ।
भण्डारण क्षमता सकियो
दुग्ध पदार्थको मौज्दात बढ्दै जाँदा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)मा भण्डार गर्ने ठाउँकै अभाव हुन थालेको छ । संस्थानका निमित्त उपमहाप्रबन्धक अधिकारीका अनुसार यतिबेला दुग्धजन्य पदार्थ विशेष गरी धूलो दूध र नौनीको मौज्दात बढ्दै जाँदा भण्डारण गर्न समस्या भइरहेको छ ।
डीडीसीले बालाजु, खरिपाटी, हेटौंडा, लुम्बिनी, नेपालगञ्ज, धनगढी, जनकपुर र विराटनगर दुग्ध वितरण आयोजनामा दुग्ध पदार्थ भण्डारण गर्दै आएको छ । तर, ती सबै आयोजनाका गोदाम भरिँदा भण्डारण गर्ने ठाउँ नभएर अन्य डेरी उद्योगको गोदाम भाडामा लिनुपरेको छ ।
डीडीसीको हेटौंडा आयोजना प्रमुख राजिव खनाल अनुसार त्यहाँ नौनी र धूलो दूध भण्डारणका लागि ५ ओटा गोदाम छन्, जसमा ४ लाख ५० हजार मेट्रिक टनसम्म भण्डारण गर्न सकिन्छ । तर, अहिले अहिले गोदाम भरिँदा थप उत्पादन भण्डारण गर्ने ठाउँको कमी छ । यसले गर्दा नयाँ गोदाम भाडामा लिनुपर्ने अवस्था आएको उनले बताए ।