मङ्सिर २४, काठमाडौं (अस) । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ केही कमजोर भएको छ । नेपाल राष्ट्र बैङ्कले सोमवारका लागि डलरको विक्रीदर ८७ रुपैयाँ ३९ पैसा तोकेको छ । यो अघिल्लो दिनको तुलनामा ४४ पैसाले बढी हो । राष्ट्र बैङ्कले आइतवारका लागि डलरको सटहीदर ८६ रुपैयाँ ९५ पैसा तोकेको थियो । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँ पनि कमजोर भएको हो । भारतीय केन्द्रीय बैङ्कले आइतवारका लागि १ अमेरिकी डलरबराबर ५४ दशमलव २० भारू विनिमयदर तोकेको थियो ।
आइतवार नेपाली बजारमा ८७ रुपैयाँ ३५ पैसादेखि ८७ रुपैयाँ ४० पैसासम्ममा डलरको कारोबार भएको बुझिएको छ । सो दिन हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैङ्कले ८७ रुपैयाँ ३५ पैसामा डलर विक्री गरेको जानकारी दिएका छन् । त्यस्तै, नबिल, एभरेष्ट र बैङ्क अफ काठमाण्डूले ८७ रुपैयाँ ४० पैसाका दरले डलरको कारोबार गरेको जानकारी प्राप्त भएको छ ।
आइतवार प्रतितोला सुनको मूल्य रू. १ सयले बढेको छ । शुक्रवार रू. ५९ हजार ६ सय ५० मा कारोबार भएको प्रतितोला सुन आइतवार रू. ५९ हजार ७ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जानकारी दिएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य स्थिर रहे पनि आइतवार अमेरिकी डलरको विनिमय दर करीब ४५ पैसाले बढेकाले यसको असर नेपाली बजारमा परेको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए । आइतवार प्रतितोला चाँदीको मूल्यमा रू. ५ ले वृद्धि भएर रू. १ हजार १ सय ८० मा कारोबार भएको सङ्घले जानकारी दिएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.