काठमाडौं । सिमेन्ट उद्योगीहरूले कार्टेल गरी सिमेन्टको उच्च मूल्यवृद्धि गरेको आरोप लागिरहँदा एक सिमन्ेट उद्योगीले संसदीय समितिको बैठकमै मूल्य थप बढ्न सक्ने चेतावनी दिएका छन् ।
केही समययता सिमेन्ट र डन्डी उद्योगीले यी सामानको भाउ बढाएका छन् । निर्माण व्यवसायीले कार्टेल गरेर उत्पादन घटाई मूल्य बढाएको आरोप लगाएका छन् । तर, नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष ध्रुव थापाले हाल औद्योगिक क्षेत्रमा लोडशेडिङ हुने अवस्था रहेकाले भाउ अझै बढ्न सक्ने बताए ।
चैत ३ (मार्च १६) बाट भारतले दिउँसो मात्र नेपाललाई बिजुली बेच्न थालेकाले नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडशेडिङ गर्ने डर छ । गत साल पनि भारतले बिजुली नदिँदा औद्योगिक क्षेत्रमा दिनमा १२ घण्टासम्म लोडशेडिङ भएको थियो । वर्षयाममा नेपालमा आन्तरिक मागभन्दा बढी बिजुली उत्पादन हुने भए पनि हिउँदमा माग धान्न भारतबाट आयात गर्नुपर्छ ।
‘भाउ अझै बढ्न सक्छ । लोडशेडिङका कारण डिजेलबाट उद्योग चलाउनुपरे बोरामै ६० देखि ७० रुपैयाँ भाउ बढ्न सक्छ,’ थापाले भने । ‘अहिले कुनै पनि उद्योग चल्न सक्ने अवस्थामा छैनन् ।’ निर्माण व्यवसायीका अनुसार चालू आर्थिक वर्ष (आव) को शुरुआतमा रहेको सिमेन्टको मूल्य अहिले बढेर झन्डै दोब्बर भएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार गत साउन–भदौमा स्थानअनुसार प्रतिबोरा ४०० देखि ५०० रुपैयाँ रहेको ओपीसी सिमेन्टको कारखाना गेटको मूल्य अहिले ७६० रुपैयाँसम्म पुगेको छ ।
‘डन्डीको भाउ पनि विगत २–३ हप्तामा प्रतिकिलो भ्याटबाहेक ७६ रुपैयाँबाट बढेर ९५ पुगेको छ । केही दिनको फरकमा मूल्य लगातार बढाइएको छ,’ उनले भने । ‘उद्योगीहरूको मिलेमतोमा यो मूल्यवृद्धि गरिएको छ,’ उनले मंगलवार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भने । ‘उद्योगीहरूले जानाजान कम उत्पादन गरी बजारमा कृत्रिम संकट उत्पन्न गरेर मू्ल्य बढाउँदासमेत सरकार मूकदर्शक बनेको छ ।’ उनले सरकारले अविलम्ब कडा कदम चालेर मूल्यवृद्धि खारेज गराउनुपर्ने बताउँदै राज्यले कारबाही नगरेका कारण मूल्यवृद्धि गरिएको दाबी गरे ।
थापाले भने सिमन्ेट उद्योगीले अझै प्रतिबोरा सिमेन्ट १५० रुपैयाँ घाटामा बेचिरहेको र यस्तो स्थितिमा दीर्घकालीन व्यवसाय गर्न असमर्थ रहेको तर्क गरे । ‘अहिले बिजुली अभाव, डिजेलको मूल्यवृद्धि र निर्माणाधीन उद्योगमा चुनौती थपिएको छ । यसले पनि उत्पादन लागत बढ्ने भएकाले सिमेन्टको मूल्य अझै बढ्न सक्छ,’ उनले भने ।
उनले सिमेन्टको भाउ अझै बढ्ने अभिव्यक्ति दिएपछि अधिकांश सांसदले आपत्ति व्यक्त गरेका छन् । उनीहरूले घाटामा सिमेन्ट बेच्न आफूहरूले नभनेको र धम्की नदिन आग्रह गर्दै समस्या समाधानतिर जानुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले मूल्यवृद्धिको कारण पत्ता लगाउन वैज्ञानिक अध्ययन गर्नुपर्ने बताए । ‘मूल्य चढाउने होइन, कारण खोज्ने हो । उपभोक्ता संरक्षणमा सरकार संवेदनशील हुनुपर्छ,’ उनले भने । सांसद महेन्द्रबहादुर शाहीले ठूला निर्माण परियोजना प्रभावित हुने चिन्ता व्यक्त गर्दै उद्योग मन्त्रालय यस विषयमा सक्रिय हुनुपर्ने बताए । उनले उद्योग बन्द हुने र मूल्यवृद्धिको द्वन्द्वले अर्थतन्त्रलाई नराम्रो गर्ने भन्दै नीतिगत हस्तक्षेपकोमाग गरे ।
समिति सदस्य रमा कोइराला पौडेलले बैठक सभापतिले बोलाएको हो कि व्यवसायीले भनेर प्रश्न गरिन् । ‘सिमेन्ट उत्पादकका कुरा मान्य छैन । धम्की मान्य छैन,’ उनले भनिन् ।सांसद लालप्रसाद साँवा लिम्बूले कच्चा पदार्थ, करमा वृद्धि भएको छ/छैन भन्ने विषयमा अध्ययन गर्नुपर्ने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमतिविपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार रहेको बताए । उनका अनुसार निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबीच सिमेन्टमा प्रतिबोरा अधिकतम १ सय १५ रुपैयाँभन्दा धेरै मूल्य नबढ्ने सहमति मन्त्रालयमा भएको जानकारी दिए ।
उनका अनुसार सिमेन्ट उद्योगको लागत र मूल्यबारे अध्ययन गर्न मन्त्रालयले कार्यदल बनाएको छ, त्यसले छिट्टै प्रतिवेदन दिनेछ । ‘कार्यदलले अबको १ सातादेखि १० दिनभित्र सिमेन्ट उत्पादन लागतबारे यथार्थ सार्वजनिक गर्नेछ,’ उद्योगमन्त्री भण्डारीले भने । ‘सरकारको प्राथमिकता भनेको नीतिमा भएको जटिलता हटाउने हो, वस्तुको मूल्य त बजारले नै निर्धारण गर्छ ।’